सामाजिक सुरक्षामा समेट्न तीन महिना

खबर खुराक
खबर खुराक १२ मंसिर २०७९, सोमबार
3 Min Read
Aa

विदेशमा बस्ने श्रमिक तथा स्वरोजगारमा संलग्नहरू योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आउन पाउने

काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिक, अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई तीन महिनापछि मात्रै सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ। सामाजिक सुरक्षा कोष सञ्चालन बोर्डले कार्यविधि बनाएर श्रममन्त्रीलाई पेस गरे पनि पारित हुन सकेको छैन। पाँचौं सामाजिक सुरक्षा दिवसका अवसरमा श्रममन्त्री शेरबहादुर कुँवरले कार्यविधि अध्ययन गरेर एक हप्ताभित्रै स्वीकृत गरिने बताए। वैदेशिक रोजगार, अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा समेट्न कार्यविधि स्वीकृतिको अन्तिम तयारीमा रहेको मन्त्री कुँवरले बताए।

कोषले पहिलो चरणमा औपचारिक क्षेत्रका श्रमिकलाई मात्रै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा समेटेको थियो। अब यसै वर्षदेखि सबै श्रमिकलाई समेट्न गृहकार्य अघि बढाएको हो। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नयाँ श्रम स्वीकृति र नवीकरण गर्दा अनिवार्य कोषमा आबद्ध गराउने तयारी कोषले गरेको छ। कोषका प्रमुख कार्यकारी अधिकृत कपिलमणि ज्ञवालीले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुई हजार रकम योगदान गराएर स्किममा अनिवार्य ल्याइने बताए। अनौपचारिक र स्वरोजगारका श्रमिकलाई पनि छिट्टै योजनामा समेट्न सुरु गर्ने उनको भनाइ छ।

विदेशमा बस्ने श्रमिक तथा स्वरोजगारमा संलग्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आउन पाउनेछन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा विदेश जाने नेपालीलाई यस कार्यक्रममा समेट्न लागिएको हो। संघका कार्यकारी अध्यक्ष रविना थापाले ८५ देशमा रहेका राष्ट्रिय समन्वय समितिमार्फत श्रमिक तथा स्वरोजगारकर्तालाई आबद्ध गराउन पहल गरिने बताए। एनआरएनएले लामो समयदेखि अभियान सञ्चालन गरी श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न अभियान सञ्चालन गर्दै आएको थियो। श्रमसचिव टेकनारायण अर्यालले चार वर्षको अवधिमा योगदानकर्ता श्रमिक र रोजगारदातालाई अपेक्षाकृत रूपमा समेट्न नसकिएको बताए। ‘बैंकिङ तथा औद्योगिक प्रतिष्ठानमा केही कन्फ्युजन थियो’, अर्याल भन्छन्, ‘विस्तारै भ्रम चिरिँदै गएकाले यसप्रति सबैको आकर्षण बढ्दै गएको छ।’

कोषका अध्यक्षसमेत रहेका सचिव अर्यालका अनुसार कार्यविधि तयार गरे पनि मन्त्रीस्तरबाट निर्णय गर्न बाँकी रहेकाले तत्काल घोषणा गर्न नसकिएको बताए। निजामती कर्मचारीभन्दा आकर्षक सुविधा दिने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याइएको सचिव अर्यालले बताए। ‘कोषले सबै श्रमिकलाई पेन्सन दिन्छभन्दा हाँसोमा उडाइयो, धेरै श्रमिक यसबाट लाभान्वित भइसकेका छन्’ सचिव अर्याल भन्छन्, ‘सबैलाई सामाजिक सुरक्षा दिन यो कोष बलियो रूपमा स्थापित हुनेछ।’

चिया पसल र त्यसमा काम गर्ने श्रमिकलाई समेट्ने गरी कोषका कार्यक्रम ल्याउन लागिएको अर्याल बताउँछन्। कोषमार्फत गरिबी निवारण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, निर्यात प्रवद्र्धनका कार्यक्रममा टेवा पुग्ने जनाइएको छ।

कोषले ७५ लाखसम्म घर बनाउन, ३५ लाखसम्म शिक्षा क्षेत्रका लागि सापटी दिन्छ। कोषका अध्यक्ष अर्यालले साना उद्योग खोल्न, व्यापार व्यवसाय गर्नका लागि सस्तोमा ऋण दिने बताए।

प्रतिक्रिया दिनुहोस्