१३ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । सो क्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण भएको थियो । झडपमा नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते भएका थिए ।
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार आज बिहान सुकुम्बासी बस्तीका ३ सय भन्दा धेरै व्यक्तिहरु महानगर घेर्न गएका हुन् । थापाथलीबाट नारा जुलुस गर्दै गएका उनीहरुले महानगर विरुद्ध केहीबेर नारा लगाएर फेरि थापाथलीमै फर्किएका छन् । उनीहरुले थापाथलीको सुकुम्बासी बस्ती छिर्ने मुख्य बाटाहरुमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
तर, बस्ती हटाउन महानगर पछाडि नहट्ने भएको छ । आफूहरू ‘एक्सन’मा उत्रिइसकेकाले हटाउनुपर्ने बस्ती हटाएरै छाड्ने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । “सुकुम्बासीहरूले आफ्नो हिसाबले के गर्छन्, त्यो हाम्रो विषय होइन । तर, हटाउनैपर्ने बस्ती हटाएरै छाड्छौँ । छलफल भइरहेको छ,” उनले भने ।
सोमबार थापाथलीस्थित प्रसूतिगृह पछाडिको सुकुम्बासी बस्तीमा झडप हुँदा महानगरका ३६ नगर प्रहरी घाइते भएका थिए । घाइतेहरूको उपचार जारी छ ।
उनीहरू घरेलु हातहतियारसहित महानगरका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध उत्रँदा दिनभर बस्ती तनावग्रस्त बनेको थियो । गैरसुकुम्बासीले पनि अवैध रूपमा घरटहरा बनाएर बस्दै आएको महानगरको जिकिर छ ।
अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिले महानगरलाई सो बस्ती हटाउन आग्रह गरेपछि डोजरसहित नगर प्रहरीको टोली उक्त बस्तीमा पुगेको थियो ।
एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोही अनुसार बस्ती खाली गर्न महानगर टोली हिजो पुगेसँगै थापाथली क्षेत्र अशान्त छ ।
प्रतिक्रिया दिनुहोस्