मंसिर ४ मा भएको संसदीय निर्वाचनमा मधेश प्रदेशमा नेकपा (एमाले) सबैभन्दा ठूलो पार्टी बनेको छ।
मधेस प्रदेशका ३२ प्रतिनिधि सभा सदस्य र ६४ प्रदेश सभा सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा एमालेले दुबैतर्फ सबैभन्दा धेरै सिट जितेको हो।
प्रतिनिधि सभामा ३२ मध्ये एमालेले ९ सिटमा जित हात पारेको छ। २०७४ को चुनावमा प्रतिनिधि सभामा एमालेले मधेसबाट दुई सिट मात्र जितेको थियो।
यो प्रदेशमा कांग्रेसले प्रतिनिधि सभा तर्फ ७ सिटमा जित हात पारेको छ। जनता समाजवादी पार्टीले ६ सिटमा जित निकालेको छ भने लोकतान्त्रिक समाजवादीले ३ सिट जितेको छ। मधेसमा ३ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने एक ठाउँमा जनमत पार्टीले जित हात पारेको छ।
प्रदेश सभामा पनि एमालेले प्रत्यक्षतर्फका ६४ मध्ये १५ सिटमा जित हात पारेको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले १३ सिट जितेको छ।
समानुपातिकतर्फ भने अहिलेसम्मको मतगणनामा मधेस प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ।
मधेसका दुई मुख्य दल जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई विस्थापित गर्दै मधेस प्रदेशमा एमाले र कांग्रेसले ‘कमब्याक’ गरेका छन्। पाँच वर्षअघि मधेसबाट प्रतिनिधि सभा र प्रदेश सभामा आफ्नो बर्चश्व देखाएका दुई प्रमुख मधेशवादी दल यसपालि नराम्रोसँग खुम्चिएका छन्।
मधेसमा यसपालि सबैभन्दा ठूलो कमब्याक नेकपा (एमाले) ले गरेको छ।
अहिलेसम्म मधेसमा प्रतिनिधि सभाका ३२ सिटमध्ये ३१ क्षेत्रको मतगणना भइसकेको छ। तीमध्ये ८ स्थानमा एमालेले जितेको छ। मतगणना भइरहेको एउटा स्थानमा एमाले कांग्रेस पछि दोस्रो सथानमा छ।
त्यस्तै मधेस प्रदेश सभामा पनि अहिलेसम्म आएका परिणाममा एमाले सबैभन्दा अघि छ। मधेस प्रदेशका ६४ क्षेत्रमध्ये एमालेले १३ स्थानमा जितेको छ भने २ स्थानमा अग्रता लिएको छ।
नेपाली कांग्रेसले अहिलेसम्म मधेसबाट ७ प्रतिनिधि सभा क्षेत्र जितेको छ। अहिले मतगणना भइरहेको एउटा क्षेत्र धनुषा-४ मा सो दलका उममेदवारले अग्रता लिएका छन्।
मधेस प्रदेश सभामा नेपाली कांग्रेसले पनि १३ सिट नै जितेको छ। एमालेले अहिले अग्रता लिएका थप दुई सिटमा जितेको खण्डमा मधेस प्रदेश सभामा प्रत्यक्षतर्फ जित्नेमा एमाले सबैभन्दा ठूलो दल हुनेछ।
प्रतिक्रिया दिनुहोस्