मौद्रिक नीतिको समीक्षाले पर्यटन व्यवसायी हतोत्साहित

खबर खुराक
खबर खुराक १४ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

आर्थिक वर्ष २०७९-०८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पर्यटन व्यवसायीलाई थप हतोत्साहित बनाएको बताइएको छ। मौद्रिक नीतिको समीक्षामा पर्यटन व्यवसायीका माग सम्बोधन नभएको होटल संघ नेपालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

संघले नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सम्बन्धित सरोकारवालासँग मौद्रिक तथा अन्य नीतिमार्फत होटल उद्योगको पुनरुत्थानका लागि नीतिगत व्यवस्थाको माग राख्दै आएका थिए।

कोरोनाका कारण बैंकलाई तिर्नुुपर्ने साँवा र ब्याज समयसीमाभित्र बुझाउन नसकेकाले समयावधि बढाइ सहजीकरण गरिदिने, ब्याजदर घटाई पुनर्तालिकीकरण तथा पुनर्कर्जा व्यवस्था गर्न आग्रह गरेका थिए।

यस समीक्षाले कुनै पनि किसिमको सम्बोधन नगरेबाट व्यवसायमा प्रत्यक्ष नकारात्मक प्रभाव परेको संघको भनाइ छ। मुलुकमा निजी क्षेत्रको सत्प्रयास, ठुलो लगानी र जोखिम मोल्न सक्ने विशिष्ट क्षमताबाट विकास भई आजको अवस्थामा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रूपमा विकसित नेपालका होटल उद्योग व्यवसायहरूको नै संरक्षण गर्न सक्दैनौं भने भोलिका दिनमा लगानी विस्तारसमेत हुन सक्दैन।

मुलुकको आर्थिक वृद्धिमा होटल तथा पर्यटन उद्योगको योगदानलाई गणितीय तथ्यांकका रूपमा मात्रै विश्लेषण गरी यस उद्योगमार्फत भएको रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जनको मुख्य स्रोत, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र बहुआयामिक विकासका पक्षलाई नजरअन्दाज गरेको बताइएको छ।

होटल व्यवसाय संरक्षणका लागि मौद्रिक तथा वित्तीय नीतिमा लचकता अपनाउँदै अब आउने सरकारी नेतृत्वले संघको उचित माग सम्बोधन गरिदिन माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्