१९ मंसिर, कुश्मा। वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क-बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ ।
पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय २०४० सालमा स्थापना भएको हो । विगतमा विद्यार्थीको सङ्ख्या बाक्लै भए पनि यस वर्ष शिशु कक्षामा पढ्न एक्ला विद्यार्थी नीरज लम्साल मात्र आउने गरेका छन् ।
विद्यालयमा विद्यार्थी लम्साल र शिक्षिका ठाकुकुमारी केसी मात्रै छिन्। विद्यालयमा विद्यार्थी आए वा नआए पनि हरेक दिन विद्यालय पुग्नु केसीको दिनचर्या हो । त्यहाँका एक शिक्षिका र कार्यालय सहयोगी गत वर्ष काजमा खटिएपछि शिक्षिका केसी एक्लै भएकी हुन् ।
‘गत वर्षसम्म १०-१५ विद्यार्थी नियमित पढ्न आउँथे’, उनले भनिन्, ‘गाउँबाट बसाइँसराइ गर्ने बढेका छन्, विद्यालय आउन खोला तर्नुपर्छ तर बर्खामा तर्न सकिँदैन । पुल नहुँदा विद्यार्थी नजिक छाडेर टाढाको विद्यालय जानुपर्ने अवस्था छ ।’
प्रतिक्रिया दिनुहोस्