निगमले यी जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेको छ । ती जहाज जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा मूल्यांकन गर्न निगमले मंगलबार टेन्डर निकालेको हो । निगमसँग कुल ६ वटा जहाज थिए । जसमध्ये एउटा जहाज भने तीन वर्ष अगाडि नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो । अन्य ५ वटा जहाज (दुई वटा एमए ६० र ३ वटा वाई १२ ई) जहाजको मूल्य तोक्ने तयारी निगमले गरेको हो ।
निगमले यी जहाज आफुले चलाउन नसक्ने भन्दै व्यवस्थापन गर्न सरकारलाई जिम्मा दिएको थियो । तर, सरकारले समेत वेवास्ता गरेपछि निगमले जहाज भाडामा दिने तयारी गरी टेन्डर निकालेको थियो । त्यसमा पनि कुनै पनि पार्टी इच्छुक भएनन् ।
त्यसपछि भने निगमले मंगलबार यी जहाजको पूर्ण मूल्यांकनका लागि टेण्डर निकालेको हो । यी जहाजको इन्टरनेशन सोसाइटी अफ ट्रान्सपोर्ट एयरक्राफ्ट ट्रेडिङको मापदण्डभित्र रहेर पूर्ण मूल्यांकन गर्न इच्छुक फर्म र कम्पनीबाट निगमले प्रस्ताव मागेको हो । निमगले १५ दिनको समय राखेर यस्तो प्रस्ताव आहृवान गरेको हो ।
जहाजको पूर्ण मूल्यांकनपछि भने निगमलाई यी जहाजको मूल्य तोक्न सहज हुने छ । त्यसपछि निगमले जहाज बिक्रीका लागि बाटो खुल्छ । चीनबाट २०७१ सालपछि भित्र्याउन शुरु भएको यी जहाजबाट नेपाल एयरलाइन्स र सरकारले घाटा मात्र बेहोरेका छन् । आन्तरिक उडानको प्रयोजनका लागि भित्राइएका यी जहाज नहुँदा निगम झण्डै जहाजविहीन अवस्थामा छ ।
साना जहाज ल्याएर पहाडी र हिमाली दुर्गम भेगका जनतालाई सेवा दिने उद्देश्यले भित्र्याइएका चिनियाँ जहाजका कारण मात्र मुलुकलाई ८ अर्ब रुपैयाँ बढी भन्दा घाटा पुगिसकेको छ । साढे ४ अर्ब रुपैयाँ लागतमा खरदि गरिएका ४ जहाज र दुई अनुदानमा आएका गरी ६ वटा जहाज संचालनबाट निगमले २०७१ सालयता वाषिर्क औसतः ३८ करोड रुपैयाँ घाटा बेहोरेकोसँगै सो वर्षबाट निगमले नउडाउने निर्णय लिएको थियो ।
यी जहाज नाफामा उडाउन कुनै पनि हालतमा नसकिने र थप घाटा बेहोर्दा आत्मघाति निर्णय हुने निष्कर्ष निकाल्दै निगमले यी जहाजको जिम्मा लिन सरकारलाई सिफारिस गरेको थियो । तर, सरकारले यी जहाजको व्यवस्थापन गर्न कुनै चासो दिएन ।
जहाज |
कलसाइन |
प्राप्त मिति |
एमए६० अनुदान |
९एन-एकेक्यू |
१४ वैशाख २०७१ |
वाई १२ ई अनुदान |
९एन-एकेएस |
१८ कात्तिक २०७१ |
एमए६० ऋण |
९एन-एकेआर |
४ माघ २०७३ |
वाई१२ ई ऋण |
९एन-एकेटी |
१९ माघ २०७३ |
वाई १२ ई ऋण |
९एन-एकेयू |
१ फागुन २०७४ |
वाई १२ ई ऋण |
९एन-एकेभी |
१ फागुन २०७४ |
यस्ता कारण देखाउँदै निगमले लिएको थियो यी जहाज नउडाउने निर्णय
· चिनियाँ जहाजको बीमा रकम अन्य जहाजको तुलनामा ३५ प्रतिशत बढी रहेको ।
· चिनियाँ जहाज चलाउने पाइलट नहुने हुनाले आफैले उत्पादन गर्नु परेको, जुन एयर अन्तराष्ट्रिय उडानमा रहेको ए३२० जहाजका पाइलट उत्पादनभन्दा महंगो पर्ने ।
· यी जहाजको स्पेयर्स पार्ट्ससमेत समान क्षमताका अन्य जहाजको तुलनामा ७५ प्रतिशत मंहगो पर्ने ।
· कतिपय अवस्थामा स्पेयर्स पाट्स अर्डर गरेको २ महिनासम्म पनि सामान नआएर जहाज ग्राउन्डेड भएको ।
· दुबै मोडलका जहाजमा प्रशिक्षक पाइलटको अभाव रहेको, चिनियाँ जहाजमा प्रशिक्षक पाइलट उत्पादन गर्न सोही क्षमताका अन्य जहाजको तुलनामा ४ गुणा मंहगो पर्ने ।
· एमए ६० जहाजको सिमुलेटर तालीम खर्च अन्य जहाजको तुलनामा ७८ प्रतिशत महंगो र टाइप रेटिङ तालिम ३० प्रतिशत महंगो परेको ।
· एमए६० को इन्धन खर्च सोही क्षमताको अन्य जहाजको तुलनामा दोब्बर र वाई१२ को इन्धन खर्च ५० प्रतिशतभन्दा बढी रहेको ।
· तोकिएको रुटमा यी जहाज चलाउँदा २५ देखि ६७ प्रतिशतसम्म पेलोड प्रतिवन्ध पर्दा कुनै बेला तोकिएको क्षमताभन्दा निकै कम यात्रु मात्र बोकेर उडाउनु पर्ने बाध्यता रहेको ।
प्रतिक्रिया दिनुहोस्