Ad imageAd image

कपिलवस्तुका न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

खबर खुराक
खबर खुराक २० मंसिर २०७९, मंगलवार
3 Min Read
Aa

२० मंसिर, काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ ।

पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो ।

पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन् । दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिदै पत्र पठाएका थिए । मानव अधिकार आयोगले त न्यायपरिषदलाई समेत उजुरी र पत्रको बोधार्थ पठाएको थियो ।

‘शारीरिक बन्धक बनाएर न्यायाधीशले यौन शोषण गरिरहेको उजुरी हामीकहाँ एक हप्ता अगाडि आइपुगेको थियो । हामीले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानविन गर्न निर्देशन दिएका छौं’, मानव अधिकार आयोग स्रोतले भन्यो, ‘न्यायाधीशको विषय भएकाले न्यायापरिषदलाई पनि पत्र पठाएर यस विषयमा अनुसन्धान गर्न आग्रह गरेका छौं ।’

- Advertisement -
Ad image

मानव अधिकार आयोगका अनुसार, उजुरीमा न्यायधीश गिरीमाथि पीडित महिलालाई करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको आरोप छ । महिला आयोगका अनुसार, पीडित महिला ०७५ देखि नै न्यायाधीशसंग थिइन् ।

आयोग स्रोत भन्छ, ‘हामीले न्यायाधीशलाई पनि सम्र्पक गरेर यस विषयमा बुझेका थियौं ।’ महिला आयोगका एक पदाधिकारीका अनुसार, पीडितलाई मनोवैज्ञानिक परामर्श दिने काम समेत भइरहेको छ । उनले बलात्कारको विषय भएकाले प्रहरीलाई उजुरी फरवार्ड गरिएको बताइन् ।

राष्ट्रिय मानव अधिकार आयोग, न्यायपरिषद सचिवालय र राष्ट्रिय महिला आयोगले समेत सोधपुछ र अनुसन्धान थालेपछि न्यायाधीश गिरी १५ दिने बिदा बसेका छन् । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रमुख एसपी प्रेमबहादुर बस्नेतले मानव अधिकार आयोगको पत्राचारका आधारमा छानबिन भइरहेको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘मानव अधिकार आयोगबाट प्राप्त पत्रलाई प्रक्रियामा लगेका छौं ।’ स्रोतका अनुसार, प्रहरीले न्यायपरिषदसँगको समन्वयमा छानबिन अघि बढाएको छ । पक्राउ गर्नैपर्ने भए न्यायपरिषदको अनुमति पाएपछि मात्रै प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।

उजुरी परेपछि न्यायपरिषदले समेत छानबिनका लागि एकजना सदस्यलाई जिम्मेवारी दिइसकेको स्रोतले बतायो । स्रोतका अनुसार, ती सदस्यले मंगलबारदेखि नै सोधपुछ लगायतका काम थालेका छन् । न्यायपरिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले भने उजुरीका वारेमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

आफूमाथि छानबिन सुरु भएपछि न्यायाधीश गिरीले उच्च अदालत तुलसीपुरको बुटबल इजलासबाट १५ दिन विदा लिएका छन् । उच्च अदालत तथा जिल्ला अरु न्यायाधीशहरुले उजुरी परेपछि गिरीले विदा लिएको बताए । एक न्यायाधीशले भने, ‘हामीले पनि उहाँमाथि छानबिन प्रक्रिया अघि बढेको सुन्यौं, १५ दिन विदा लिएर बस्नुभएको हो ।’

प्रतिक्रिया दिनुहोस्