चोलेन्द्रको निलम्बन फुकुवाविरुद्धको रिट सुनुवाइ गर्न संवैधानिक इजलास गठन

खबर खुराक
खबर खुराक २३ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

२३ मंसिर, काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको निलम्बन फुकुवा विरुद्ध परेको रिटमा सुनवाइ  गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ ।

कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित इजलासमा बरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् ।

यो संवैधानिक इजलासले संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई निलम्बन फुकुवाको पत्र दिएको विरुद्धमा परेको रिट निवेदनको सुनुवाइ गर्नेछ ।

सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । तर संघीय संसदका महासचिव गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र दिएका थिए ।

त्यसविरुद्ध सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले सोही दिन रिट दर्ता गराएका थिए । यसको पेशी तोकिएको छ र केहीबेरमा सुनुवाइ सुरु हुने छ ।

महाअभियोग निलम्बन फुकुवाको पत्र पाएकै दिन जबरा सर्वोच्च अदालत गएर हाजिर हुने तयारीमा थिए । तर कानुन व्यवसायीहरुको विरोध र धर्नाका कारण सो दिन उनी सर्वोच्च जान सकेनन् ।

नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनको अगुवाइमा आज पनि कानुन व्यवसायीहरु धर्नामा बस्ने तयारीमा छन् । कुनै अप्रिय घटना नहोस् भनेर सर्वोच्‍च परिसरको सुरक्षा व्यवस्थाकडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्