विमानस्थल बनाउँदा देखिएको छरितो चीन र ढिलो नेपाल

खबर खुराक
खबर खुराक २३ मंसिर २०७९, शुक्रबार
10 Min Read
Aa

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले नेपाल र चीनको काम गर्ने तरिका देखाउँछ। चीनले विकास निर्माणका काम कसरी छिटो छरितो गर्छ भनेर विमानस्थलमार्फत प्रमाणित गरेको छ। नेपालले भने ढिलासुस्ती, अन्तर सरकारी निकायवीच असहयोग र समन्वय अभाव झल्काउँछ।

विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ सरकारी स्वामित्वको कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले २०१७ नोभेम्बर १ देखि काम थालेको थियो। ठेक्का सम्झौता अनुसार कम्पनीले २०२१ जुलाई १० मा विमानस्थल बनाइसक्नुपर्थ्यो। चीनकै २२ अर्ब रुपैयाँ ऋणमा बन्न लागेको उक्त विमानस्थल सम्झौतामा तोकिएभन्दा ६ महिनाअघि बनाइसक्न निर्माण कम्पनी लागिपरेको थियो।

कोभिड–१९ महामारीले विमानस्थललाई आवश्यक सामाग्री एवं उपकरण आयात गर्न समस्या पर्‍यो। लकडाउनले चिनियाँ कामदार रोकिँदा विमानस्थल समयमा सकिएन। नेपाल सरकारले १ बर्ष म्याद थप्यो। निर्माण कम्पनीले थपिएको म्याद नसकिँदै विमानस्थल बनाएर नेपाल सरकारलाई हस्तान्तरण गर्‍यो।

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आएको बेला गत चैत १२ गते नै प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलको चाबी हस्तान्तरण गरे। चिनियाँ कम्पनीले विमानस्थल निर्माण सकेर नेपाललाई हस्तान्तरण गरेको पनि ९ महिना वितिसकेको छ।

आगामी जनवरी १ देखि उडान थाल्ने गरी नेपाल नागरिक उड्ययन प्राधिकरणले तयारी तिब्र पारेको छ। बुद्ध एयरले पोखराबाट भारतका विभिन्न शहरमा उडान भर्ने घोषणा गरिसकेको छ।

प्राधिकरणले गत बर्षदेखि नै विमानस्थल संचालनको तयारी थालेको थियो। विमानस्थल संचालनमा ल्याउन तिनै तहका सरकार मातहतका समस्या समाधान गर्न प्राधिकरणले विगत ४ बर्षदेखि अनुरोध गर्दै आएको छ। उक्त समस्याहरू यथावत रहेमा विमानस्थल संचालनमा कठिनाई पर्ने प्राधिकरणले बताउँदै आएको छ।

प्राधिकरणले उठाएका समस्या समाधान गर्न तीनै तहका सरकार उदासिन रहे। समयमा काम नगर्ने मात्र होइन, समय घर्किसक्दासमेत आफुले गर्नुपर्ने कामलाई गति दिन सरकारले चासो दिएको छैन।

प्राधिकरणले विमानस्थल हटाउन पोखरा महानगरलाई ल्याण्डफिल साइट परिवर्तन गर्न सुझाएको थियो। विमानस्थलको रनवेबाट पश्चिमतर्फ रहेको ल्याण्डफिल साइट चराका अखडा भएका छन्। जसले विमानस्थललाई असुरक्षित पारेको छ।

ल्याण्डफिल साइट नजिकै भएकाले त्यहाँ फालिएका सिनो खान आउने गिद्धको बास अहिले पनि विमानस्थलभित्र छ। विमानस्थलका रनवेभरी अहिले पनि गिद्ध देख्न सकिन्छ। विमानस्थलका विभिन्न टावरमा राखिएका बत्तीमा गिद्धले गुँड लगाउँछ। विमानस्थलका अग्ला अग्ला टावरमा गिद्धले गुड बनाउँदा पटक पटक क्रेनमार्फत चढेर हटाउन परेको विमानस्थलका एक अधिकारीले बताए।

‘बत्ती राखेको अग्ला पोलमा गिद्धले गुड बनाएर हैरान पार्‍यो,’ विमानस्थलका ति अधिकारीले भने, ‘एक पटक त गिद्धका बच्चा सहितको गुँड हटाउनुपर्‍यो।’

विदेशी ऋणमा बनेको राष्ट्रिय गौरवको आयोजना संचालन गर्न ल्याण्डफिल साइट अन्यत्र सार्ने जिम्मा पोखरा महानगरको हो। महानगरका जनप्रतिनिधिलाई विगत ५ बर्षदेखि पटक पटक लिखित, मौखिक र विमानस्थल भ्रमण गराएर ल्याण्डफिल साइट सार्न सुझाएको विमानस्थलका प्रमुख विनेश मुनकर्मी बताउँछन्।

तर अहिलेसम्म ल्याण्डफिल साइट हटेको छैन । विमानस्थलको आकाशमा गिद्ध घुम्न पनि छाडेका छैनन्।

महानगरले पछिल्लो पटक पत्राचार गरेर मंसिर १८ देखि ल्याण्डफिल साइट परिवर्तन गर्ने प्राधिकरणलाई जनाएको थियो। अझै पुरानै ल्याण्डफिल साइटमा अहिले पनि फोहोर फालिँदैछ। ५ बर्ष अघिदेखि ल्याण्डफिल साइट सार्न प्राधिकरणले गरेको आग्रह महानगरले अझै पनि मानेको छैन।

पोखरा महानगरका मेयर धनराज आचार्यले विमानस्थल संचालनमा आउने दिनसम्म ल्याण्डफिल साइट परिवर्तन हुने बताए। अहिलेको ल्याण्डफिल साइट पुर्न थालेको भन्दै जनवरी १ सम्म ल्याण्डफिल साइट परिवर्तन हुने बताए। तर महानगरले नयाँ ल्याण्डफिल साइट कहाँ व्यवस्थापन गर्छ भन्ने जवाफ उनले दिएनन्।

विमानस्थललाई सुरक्षित बनाउन प्राधिकरणले गण्डकी सरकारलाई गरेको अर्को आग्रह झनै अलपत्र छ। नेपालमा सबैभन्दा धेरै पानी पर्ने शहर पोखरामा बर्खायामका बेला नदी जसरी विमानस्थलमा पानी बग्छ। पोखराका काहुँखोलादेखि फुलबारी लगायतका ठाउँमा परेको पानी पनि भल बनेर विमानस्थल प्रवेश गर्छ।

पोखरा उपत्यकामा सिंचाईं गर्न काहुँखाला, विजयपुर खोला र सेती नदीबाट सिंचाईंको व्यवस्था मिलाइएको छ। बजारका अधिकांश खेतियोग्य जमिनमा घर बनिसकेकाले अहिले नहरका पानी सिंचाइमा कम प्रयोग हुन्छ। नहर र बर्खाका पानी बग्ने खोल्साहरू अतिक्रमणमा परेका छन्। यसले पनि उब्रिएको पानी विमानस्थलमै पुग्छ।

पृथ्वी राजमार्गका ४ किलोमिटर दुरी विमानस्थलमा पर्छ। राजमार्गका नाली कहीं अवरुद्ध छन्। साँघुरो नालीमा बग्न नसकेको पानी विमानस्थलमै पुग्छ। जसले बर्खायाममा विमानस्थल नै अवरुद्ध पार्न सक्ने आयोजनाले गरेको अध्यन प्रतिवेदनले औंल्याँएको छ।

विमानस्थलका पश्चिमतर्फका भुभाग कमजोर छ। निरन्तर पानीको खोला बग्दा भासिदै जान सक्नेसमेत अध्यन प्रतिवेदनमा भनिएको छ। जमिनको सतहभन्दा होंचो ठाउँमा भएको विमानस्थल जोगाउन बर्खाको पानी व्यवस्थापन गर्न आयोजनाले ५ बर्षदेखि बारम्बार प्रदेश सरकारलाई भनिरहेको छ।

विमानस्थल संचालनमा आउँदासम्म गण्डकी सरकारले बर्खाको पानी तर्काउने काम सुरुवात नै गरेको छैन। गण्डकीका अघिल्ला मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र हालका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई विमानस्थलमै अध्यन प्रतिवेदन बुझाएर पटक पटक आग्रह गर्दा पनि चासो नदिएको प्राधिकरणका अधिकारीहरू बताउँछन्।

‘ल्याण्डफिल साइटको काम स्थानीय सरकार र सिचाइको काम प्रदेश सरकार मातहत भएकाले दुबै सरकारलाई आग्रह गर्‍यौं,’ आयोजना प्रमुख मुनकर्मीले भने, ‘विमानस्थलका समस्या समाधान गर्न उहाँले तत्परता देखाउनुभएन।’

जिल्ला सिंचाईं कार्यालय कास्कीका प्रमुख किरण आचार्यले विमानस्थलमा बर्खाका भलबाढी र नहरका पानी जान नदिन कार्ययोजना बनाएर सरकारलाई बुझाएको बताउँछन्। प्रदेश सरकारलाई गत बर्ष नै ३८ करोड रुपैयाँ बराबरको कार्ययोजना बुझाएको आचार्यले बताए।

‘हामीले पानी तर्काउन बल गरेको हो, सरकारले बजेट नदिएपछि कसरी बनाउने ?,’ उनले भने, ‘आयोजना आँफैले गरे पनि त हुन्थ्यो ।’

विमानस्थलले सिंचाईंमा समस्या परेको भन्दै स्थानीय किसानले जिल्ला अदालतमा मुद्धासमेत दायर गरेको थिए। विमानस्थल संचालनमा समस्या पर्ने गरी देखिएका भलबाढीका समस्या समाधान गर्न अदालतले सरकारका नाममा आदेशसमेत दिएको छ। किसानका समस्या समाधान गर्न विमानस्थलले आफ्नो हाताभित्र पक्की नहर बनाइदिएको छ।

विमानस्थल आयोजना प्रमुख मुनकर्मी र सिंचाईं प्रमुख आचार्यको अडान समस्या समाधान गर्न बाझिएको छ। आचार्य अदालतको आदेश अनुसार आयोजनाले नै सिंचाईं प्रणाली सुधार्ने र भलबाढी रोक्ने पूर्वाधार बनाउनुपर्ने बताउँछन्। यता, मुनकर्मी भने विमानस्थल भन्दा बाहिर गएर आयोजनाले कुनै काम गर्न नसक्ने अडान लिन्छन्।

‘सिंचाईं कार्यालयको काम नागरिक उड्ययन प्राधिकरणले गर्न मिल्दैन,’ मुनकर्मीले भने, ‘सिंचाईंले हामीले काम गर्न सकेनौं भनेर प्राधिकरणलाई बजेट दियो भने सोच्न सकिन्छ।’

यता, सिंचाईं प्रमुख आचार्य राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका समस्या समाधान आयोजना आँफैले गर्न सक्ने बताउँछन्।

सरकार मातहतका यी दुई निकायका प्रमुखबीच बाझिएका अडानले सरकारी निकायहरुमा  असहयोग र समन्वयको अभाव दर्शाउँछ।

विमानस्थल संचालन गर्न आवश्यक उपकरण जडानदेखि कर्मचारी व्यवस्थापनका काम सकिनै लागेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन सहयोग समितिका संयोजक एवं पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले अब तोकिएकै मितिबाट विमानस्थल संचालन नरोकिने बताउँछन्। विमानस्थलले आवश्यक उपकरण जडान गरिसकेकाले अहिले कार्यालय सार्ने काम भइरहेको बताए । जनवरी १ देखि अन्तर्राष्ट्रिय उडान भएन भने पनि आन्तरिक उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेछ। विमास्थलमा विमानलाई आवश्यक सबैभन्दा महत्वपूर्ण तेल भण्डारण अहिलेसम्म बनेको छैन । यसको दोष भने संघीय सरकारलाई जान्छ।

विमानस्थल आयोजनाले ल्याण्डफिल साइट र भलपानीको समस्यासँगसँगै तेल भण्डारण बनाउन पटक पटक नेपाल आयल निगमलाई आह्वान गरेको थियो। आयल नियमले छिटो छरितो काम नगर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कम्तिमा २ बर्ष तेल भण्डारण नहुने भएको छ। विमानस्थलमा आउने जहाजमा तेल भर्न पुरानो विमानस्थलबाट गाडीमा ओसार्नुपर्ने भएको छ।

नेपाल आयल निगमले विमानस्थलमा इन्धन भण्डारण बनाउन २ बर्षअघि टेण्डर आह्वान गरेको थियो। त्यतिबेला टेण्डर विवादित भएर रोकिएको थियो। विमानस्थल संचालनको तयारी भएपछि आह्वान भएको टेण्डर १ महिनाअघि सम्झौता भएको छ। विमानस्थलमा ३ हजार ६०० किलोलिटर हवाई इन्धन अटाउने भण्डारण बनाउन ६७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको पोखरा विमानस्थलस्थित नेपाल आयल निगमका प्रमुख धिरजविक्रम खड्काले बताए।

उनका अनुसार इन्धन भण्डारण २ बर्षभित्र बनाइसक्ने म्यादसहित समानान्तर रेलिगेट जेभीले ठेक्का पाएको छ। विमानस्थलमा १ हजार २०० किलोलिटरका ३ वटा डिपो बन्ने खड्काले बताए।

अहिले चलिरहेको आन्तरिक विमानस्थलबाट औषतमा दैनिक १० किलोलिटर इन्धन खपत हुन्छ। अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि तत्काल २५ प्रतिशत इन्धन खपत बढ्ने निगमले प्रक्षेपण गरेको छ। आन्तरिक दिनमा मात्र चल्ने भएपनि नयाँ विमानस्थल २४ घण्टा चल्न सक्छ। मौसम खराबीका बेला पनि अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्न सकिने विमानस्थलका प्रमुख गौतम बताउँछन्। आन्तरिकका साथै अन्तर्राष्ट्रिय उडान थपिँदा विमानलाई आवश्यक इन्धन खपत स्वत: बढ्ने निगमको भनाई छ। अन्तर्राष्ट्रिय विमानस्थलमा डिपो नबन्दासम्म पुरानै विमानस्थलको डिपोबाट गाडीमा इन्धन ओसार्ने तयारी भएको प्रमुख खड्काले बताए।

‘नयाँ एयरपोर्टमा डिपो नबन्दासम्म पुरानै विमानस्थलबाट तेल लैजाने हो,’ उनले भने, ‘यसका लागि हामीसँग ६ किलोलिटर अटाउने गाडी छ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि दैनिक ३ पटकसम्म गाडीमार्फत इन्धन ओसार्नुपर्ने विमानस्थलले जनाएको छ । यसले अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा भने समस्या नपर्ने विमानस्थल प्रमुख गौतमको दाबी छ।

यता, आयोजना प्रमुख मुनकर्मीले भने नेपाल आयल निगमले समयमै इन्धन डिपो बनाएको भए समस्या नपर्ने बताए।

‘बाटोको अवस्था खराब छ, त्यसमाथि जाम हुन्छ,’ उनले भने, ‘तेल हाल्नकै लागि जहाज रोकिने अवस्था आउन सक्छ, यो राम्रो अवस्था होइन।’

पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माणलाई नजिकबाट हेरिरहेका पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखे पोखरा विमानस्थल बनाउँदा चीन र नेपाल सरकारका काम गर्ने मोडल देखिएको बताउँछन्।

‘चीन सरकारले विमानस्थल बनाएर बुझाइसक्यो, नेपाल सरकारले विमानस्थल चलाउन गर्नुपर्ने सानातिना काम पनि गर्न सकेन,’ उनले भने, ‘विकास निर्माणमा चिनियाँ मोडल र हाम्रो नेपाली मोडल देखियो।’

नेपालका तीनै तहका सरकारले विमानस्थलमार्फत आफ्नो असक्षमता मात्र देखाएको पालिखेले बताए। सरकारी निकायहरू आपसी समन्वय नहुनु विडम्बनापूर्ण रहेको भन्दै उनले राज्यको नेतृत्वमा रहेकाहरुले यसको जिम्मेवारी लिनुपर्ने बताए।

‘चीन सरकारको ऋणमा बनेको विमानस्थल चलाउन तीनै तहका सरकारले जिम्मेवारी पुरा गरेनन्,’ पालिखेले भने, ‘यसको क्षेति कस्ले बेहोर्ने ?’

प्रतिक्रिया दिनुहोस्