बस्दै एमाले सचिवालय, यी हुन् समानुपातिकमा छानिनेहरु

खबर खुराक
खबर खुराक २३ मंसिर २०७९, शुक्रबार
3 Min Read
Aa

काठमाडौं । एमालेले समानुपातिक सांसद छान्न आज सचिवालय बैठक बोलाएको छ । प्रत्यक्षतर्फ अपेक्षित सिट हासिल नगरेको एमालेले समानुपातिकमा भने सबैभन्दा धेरै मत पाएपछि समानुपातिक सांसद छान्न सचिवालय बैठक बोलाएको हो ।

समानुपातिकतर्फ एमालेले अन्य दलभन्दा धेरै मत पाएपछि निर्वाचन आयोगले दिएको सिट संख्यामा १९ महिला र १५ पुरुषलाई सांसद बनाउने तयारी गर्दै प्रस्ताव पनि अघि सारेको छ ।

एमालेले तयार पारेको प्रस्तावमा खस आर्यतर्फ ६ महिला र ५ पुरुष, आदिवासी तथा जनजातितर्फ ५ महिला र ५ पुरुष, मधेसीतर्फ ३ महिला र २ पुरुष, दलिततर्फ ३ महिला र २ पुरुष, थारुतर्फ १ महिला र १ पुरुष तथा मुस्लिममा एक महिला पठाउने छ ।

खस आर्य समूहबाट ५ पुरुष पठाउँदा रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौंदी, दयालबहादुर शाही, खिमलाल पोखरेल पर्ने निश्चित भएको छ ।

त्यसैगरी खस आर्यका ६ जना महिलामा मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला र सम्झना थपलिया पर्ने छन् ।

यस्तै आदिवासी जनजातितर्फ १० मध्ये ५ महिला र ५ पुरुष पठाउनुपर्ने छ । यसअनुसार आदिवासी जनजाति पुरुष ५ जनामा देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, भीमबहादुर खवास, सरोज डंगोल रहेका छन् भने आदिवासी जनजाति महिलातर्फ  नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमार बलम्पाकी रहेका छन् ।

यसैगरी एमालेले दलित ५ जना पठाउनुपर्ने छ । त्यसअन्तर्गत दलितर्फ २ पुरुषमा ईश्वरबहादुर रिजाल विश्वकर्मा, प्रभु हजारा दुसाध पर्नेछन् ।  महिलामा रुक्मिणी राना बराईली, हर्कमाया विश्वकर्मा र ईन्दिराकुमारी पन्थी रहेका छन् ।

मधेसी ५ सिटमा एमालेले पुरुषतर्फ २ जना पठाउने प्रस्ताव गरेको छ । गंगाप्रसाद यादव र अमृतलाल राजवंशी तथा  महिलामा विनिता देवी, अमृता अग्रहरी र प्रतिक्षा तिवारी मुखिया पर्नेछिन् ।

एमाले थारु महिला र पुरुष एक–एक जना पठाउने प्रस्ताव गरेको छ । थारु पुरुषको एक नम्बरमा सत्यनारायण चौधरी र महिलामा अस्माकुमारी चौधरी छन् । मुस्लिम एक महिला पठाउँदा बन्दसूचीअनुसार रुही नाज पर्छिन् ।

खास आर्यबाट बन्द सूचीमा रहेका शाहीले पिछडिएको क्षेत्रको पनि प्रतिनिधित्व गर्दछन् भने आदिवासी जनजातीका पुरुषमा पर्ने कालुराम राई दृष्टिविहीन हुन् ।

त्यसैगरी जनजाति आदिवासीको पहिलो नम्बरमा रहेका भट्टचन गत आमनिर्वाचनमा नेपाली कांग्रेसको आदिवासी जनजातिको सूचीमा रहेका थिए । अहिले एमाले प्रवेश गरेर सांसद पक्का गरेका थिए ।

त्यसैगरी मधेसी महिलाको दोस्रो नम्बरमा रहेकी अग्रहरी चुनावको ठिकअघि जसपाबाट एमालेका प्रवेश गरेकी हुन् । त्यसैगरी मुस्लिम महिलातर्फ पहिलो नम्बरमा रहेकी रुही नाज पनि जसपाबाटै एमालेमा आएकी हुन् ।

मधेसी पुरुषमा रहेका अमृतलाल राजवंशी पनि कांग्रेसबाट एमाले प्रवेश गरेका हुन् । खास आर्यमा पहिलो नम्बरमा रहेका पन्त एमाले स्थायी कमिटीका सदस्य हुन् ।

एमालेले खस आर्यतर्फ छानेका सांसद मध्ये एकनाथ ढकाल परिवार दलका अध्यक्ष हुन् ।

 

प्रतिक्रिया दिनुहोस्