Ad imageAd image

प्रहरीमा आफैँले लागु गरेको ३० वर्षे अवधि हटाउने तयारीमा देउवा

खबर खुराक
खबर खुराक २५ मंसिर २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं । सरकारले नेपाल प्रहरीमा कायम ३० वर्षे सेवा अवधि हटाउने तयारी गरेको छ ।  यस्तो भएमा हालका आईजीपी धीरजप्रताप सिंहको कार्यकाल थप एक वर्ष लम्बिनेछ ।

उमेर हद वा पदावधि कायम गर्न नियमावली संशोधन गर्न लागिएको हो ।

यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । उच्च स्रोतका अनुसार गृहले यसबारे टिप्पणी उठाइसकेको छ ।

३० वर्षे सेवा अवधि हटाउन नियमावली संशोधन गर्न कानुन मन्त्रालयमा पठाउने तयारी छ ।

- Advertisement -
Ad image

प्रहरीभित्रै एक समूह भने तत्काल ३० वर्षे सेवा अवधि हट्न नहुने पक्षमा छ । त्यसमा हालका आईजीपी सिंहका ब्याचभन्दा जुनियर डीआईजीको समूह सक्रिय छ ।

सेवा अवधि हटाएर उमेर हदलाई कायम गर्ने तयारी छ ।

हाल प्रहरी ऐन नबनेकाले प्रहरी नियमावली संशोधन हुने र सेवा अवधिको ठाउँमा ५८ वर्षको उमेर हद कायम गरिने तयारी भएको गृहका एक अधिकारीले बताए ।

प्रहरीमा लामो समयदेखि नै ३० वर्षे सेवा अवधि हट्नुपर्ने माग उठ्दै आएको छ ।  हाल प्रहरीमा उमेर हद, पदावधि र ३० वर्षे सेवावधि पूरा भएर अवकाश पाउँछन् ।

प्रहरीमा ३० वर्षे सेवा अवधि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री भएकै बेला २०४९ मा लागु भएको थियो ।

उनले मोतीलाल बोहरालाई आईजीपी बनाउन प्रहरी नियमावली फेरबदल गरेर रत्नशमशेर जबरालाई हटाउन यो व्यवस्था लागु गरेका थिए ।

त्यही समयबाट प्रहरी संगठन ‘भद्रगोल’ भएको संगठनका सबैजसो पूर्व र वहालबाला अधिकारीहरु स्वीकार गर्छन् ।

देउवा आफैँले लागु गराएको ३० वर्षे सेवा अवधि हट्न अर्थ मन्त्रालयको सहमति चाहिन्छ । अर्थले सहमति दिएमात्रै मन्त्रिपरिषदबाट निर्णय हुने एक अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्