५४ सिटबाट यात्रा सुरु गरेको उपेन्द्रको पार्टी १२ सिटमा सीमित

खबर खुराक
खबर खुराक २५ मंसिर २०७९, आईतवार
8 Min Read
Aa

एक सामाजिक संस्थाको रूपमा उदय भएको उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले मधेस आन्दोलनपछि पहिलो संविधान सभा चुनावमा ५४ सिट जितेको थियो । प्रत्यक्षमै २२ सिट जितेको पार्टीले समानुपातिकबाट ३० सिट ल्याएको थियो । दुई जना मन्त्रिपरिषद्बाट मनोनीत भएका थिए ।

त्यसपछि विभिन्न उतारचढाव बेहोरेको यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी नेपालसम्म आइपुग्दा १२ सिटमा खुम्चिएको छ । मङ्सिर ४ गते सम्पन्न आमचुनावमा जसपाले प्रत्यक्षमा सात सिट जितेको छ भने समानुपातिबाट पाँच सिट हात परेको छ । पार्टीले प्रतिनिधि सभातर्फ ८१ सिटमा उम्मेदवारी दिएको थियो ।

५४ सिट ल्याएपछि पहिलो संविधानसभामा तत्कालीन फोरम अध्यक्ष यादवसँग सत्ताको साँचो रहेको थियो । त्यसैले चुनावपछि बनेको नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा गठन भएको पहिलो सरकारमा नै पार्टी सहभागी भएको थियो । कटवाल काण्डपछि प्रचण्ड नेतृत्वको सरकार ढल्यो । नेकपा एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन हुँदा भने फोरमले पहिलो विभाजनको सामना गर्नुपर्‍यो ।

नेपाल नेतृत्वको सरकार ढलेपछि एमालेकै झलनाथ खनालको सरकार बनेको थियो । त्यसमा यादवको नेतृत्वमा तत्कालीन फोरम सहभागी भएको थियो । तर त्यो सरकार पनि लामो चलेन ।

त्यसपछि माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार बनिरहँदा जयप्रकाश गुप्ताले पुनः फोरम विभाजन गरेका थिए । भट्टराई नेतृत्वको सरकारमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन फोरमबाहेक सबै मधेसवादी दल सहभागी भए ।

केही समयपछि भट्टराई नेतृत्वको सरकारले पहिलो संविधानसभा विघटन गर्‍यो । तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भयो । त्यही मन्त्रिपरिषद्ले २०७० सालमा दोस्रो संविधान सभाको चुनाव गरायो । त्यो चुनावमा मधेसी जनअधिकार फोरमले प्रत्यक्षमा दुई सिट मात्र जितेको थियो भने समानुपातिकबाट आठ सिट ल्याएको थियो । मोरङ र सुनसरीबाट चुनाव लडेका उपेन्द्र यादव सुनसरीबाट मात्र चुनाव जितेका थिए ।

६ वर्षको अन्तरालमा नै पार्टी त्यति कमजोर हुनुको कारण थियो, सत्ताकै लागि पटकपटक पार्टी विभाजन हुनु । सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्नुको साटो फोरम नेपाल अधिकांश समय सत्ताकै वरिपरि रह्यो । पहिलो संविधान सभा चुनावमा फोरमसहित तमलोपा र सद्भावना पार्टी मात्र थिए । दोस्रो संविधानसभासम्म आइपुग्दा मधेसबाट १२–१३ वटा पार्टी बनिसकेका थिए । सबै दलले छुट्टाछुट्टै चुनाव लडेका थिए । यसलाई मधेसी जनताले मन पराएनन् । चुनावमा सबैलाई साइजमा ल्याइदिए ।

दोस्रो संविधानसभामा नेपाली कांग्रेस सबभन्दा ठुलो दल बनेको थियो । चुनावपछि बनेको सरकारको नेतृत्व कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले गरेका थिए । त्यो सरकारमा कुनै पनि मधेसवादी दल सहभागी भएनन् । त्यतिबेला कांग्रेसले दोस्रो स्थान ल्याएको एमालेसँग मिलेर सरकार बनाएको थियो ।

माओवादीलगायत अन्य मधेसवादी दल सबै सरकार बाहिर थिए । संविधानमा पहिचानसहितको अधिकार सुनिश्चित गराउनेलगायतका माग राखेर ३३ दलीय गठबन्धन बनाएर आन्दोलन सुरु भएको थियो । उता, मधेसवादी दलहरूले पनि छुट्टै मधेसी मोर्चा बनाएर संविधानमा आफ्नो कुरा राख्न लगाउन आन्दोलन सुरु गरेको थियो ।

त्यही बीचमा तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादवले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गरेर संघीय समाजवादी फोरम नेपाल बनाएका थिए । अशोक राईसँग ५ सांसद थिए । योसँगै उपेन्द्र यादव नेतृत्वको फोरमसँग १५ सांसद भयो । संसद्मा उनको पार्टी पाँचौँ ठुलो दल बनेको थियो ।

पछि कांग्रेस र एमालेसहित माओवादी, विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच १६ बुँदे सम्झौता भएर फास्ट ट्रयाकबाट संविधान बनाउने सहमति गरे । यसको विरोधमा तत्कालीन फोरमलगायत अन्य मधेसवादी दल आन्दोलन चर्काए । आन्दोलनकै बीचमा संविधान जारी भयो । मधेसवादी दलले संविधान संशोधनको माग राख्दै आन्दोलन थप चर्काए । आन्दोलन नाकाबन्दीको स्थितिसम्म पुग्यो ।

आन्दोलनकै बीचमा नेपालको नयाँ संविधान जारी पनि भयो । संविधान जारी भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अर्को सरकार बन्यो । बिस्तारै नाकाबन्दी पनि हट्यो, आन्दोलन पनि सेलायो ।

फोरम अध्यक्ष यादवले फेरि केही जनजातिहरूको पार्टीलाई लिएर काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरे । पछि त्यसमा राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायतका पार्टीले पनि समर्थन गरेको थियो । संविधान संशोधनलगायतको माग राखेर काठमाडौँ केन्द्रित आन्दोलन लामो समयसम्म चलेको थियो ।

आन्दोलनबीच नै २०७४ मा आमचुनावको मिति घोषणा भयो । फोरमलगायत अन्य मधेसवादी दलहरूले आफूहरूको माग पुरा नभएसम्म चुनावमा नजाने निर्णय गरे । चुनावमा नजाने निर्णय गरे पनि फोरम भित्रभित्रै चुनावको तयारीमा लागि सकेको थियो । अन्य मधेसी दल त्यसको विरोध गरे पनि उपेन्द्र यादवले त्यसलाई टार्दै आइरहेका थिए । तीन चरणमा भएको चुनावमा उपेन्द्र यादव नेतृत्वको फोरमले सबै चुनावमा भाग लियो । अन्य मधेसवादी दलले मधेस प्रदेशमा मात्र भाग लिए ।

अशोक राईसँग एकीकरण गरेको कारण उपेन्द्र यादव नेतृत्वको फोरमले देशभर आफ्नो उम्मेदवारी दिएको थियो । र मधेस प्रदेशमा महन्थ ठाकुर नेतृत्वको राजपा नेपालसँग चुनावी गठबन्धन गरेको थियो । फोरमले त्यतिबेला प्रत्यक्षमा १० सिट र समानुपातिकबाट ६ सिट गरी प्रतिनिधि सभामा १६ सिट लिएर उपस्थित भएको थियो ।

चुनाव लगतै बनेको नेकपा एमाले अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भयो । उपेन्द्र यादव आफै उपप्रधान तथा स्वास्थ्य मन्त्री भएर सरकारमा सहभागी भए । उनले अन्य तीनवटा थप मन्त्रालय पनि लिएका थिए । तर उपेन्द्र यादव र तत्कालीन प्रधानमन्त्री ओलीबीच राम्रोसँग सम्बन्ध सुमधुर हुन सकेन ।

त्यही बीचमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग पार्टी एकीकरण गरेर समाजवादी पार्टी बनाए । संविधान संशोधन गर्न सरकार तयार नभएको भन्दै उपेन्द्र यादव अढाई वर्षपछि सरकारबाट बाहिरिए ।

सरकारबाट बाहिरिएपछि पार्टी विभाजनको चरणमा पुगेको थियो । पार्टी जोगाउन उनले रातारात तत्कालीन राजपा नेपालसँग २०७८ वैशाख १० र पार्टी एकीकरण गरेर जनता समाजवादी पार्टी (जसपा) नेपाल बनाए । जसपामा दुई अध्यक्ष प्रणाली कायम गरियो । उपेन्द्र यादव र महन्थ ठाकुरसो पार्टीका अध्यक्ष बने । पार्टी बनेको ६ महिना नबित्दै पार्टीमा आन्तरिक विवाद सुरु भयो । अन्ततः त्यो पार्टी पनि विभाजन भयो ।

महन्थ ठाकुरको समूह अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी बनायो । तर ठाकुरसँग रहेका कही सांसदहरू उपेन्द्र यादवकै साथमा बसे । पार्टी विभाजनपछि उपेन्द्र यादव विगतभन्दा बलियो भए । राजपासँग एकीकरण गर्नुअघि उपेन्द्र यादवसँग १७ सांसद थिए । जसपा विभाजन भएर लोसपा बन्दा यादवसँग २२ सांसद बाँकी रहे । लोसपा विभाजन हुँदा यादवलाई पाँच सांसद फाइदा भयो ।

तर यादवसँग ती सांसद लामो समय रहेनन् । डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव अलग भएर नेपाल समाजवादी पार्टी गठन गरे । रुही नाज, रेणुका गुरुङ, अमृता अग्रहरी र नरमाया ढकालले उपेन्द्र यादवको पार्टी छाडेर अन्य अन्य पार्टीमा प्रवेश गरे । रेशम चौधरी जेलमा थिए । मङ्सिर ४ गते भएको चुनावमा जाँदासम्म उपेन्द्र यादवसँग १५ जना सांसद मात्र बाँकी थिए ।

यादव सुरुदेखि नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा थिए । तर सिट बाँडफाँडमा कुरा नमिलेपछि चुनावको मुखमा एमालेसँग तालमेल गरे । मधेसमा यादवको निर्णयको व्यापक आलोचना भयो । सप्तरी–२ बाट यादवले नै हारको स्वाद चाख्नुपर्‍यो । उनलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले पराजित गरे । हालै सम्पन्न चुनावमा जसपाले प्रत्यक्षमा सात सिट र समानुपातिकमा पाँच सिट गरी १२ सिटमा सीमित बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्