बागमतीबाट २० हजार टन फोहर निकालियो

खबर खुराक
खबर खुराक २५ मंसिर २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं: काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत बागमती नदी सफाइको पाँच सय हप्ता नाघेको छ। यस अवधिमा सफाइ गरेर बागमतीबाट करिब २० हजार टन फोहर निकालिएको छ।

विसं २०७२ जेठ ५ गते बागमती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा सफाइ हुँदै आएको छ। साप्ताहिकरुपमा यसरी सफाइ गर्दा पनि अत्यधिक फोहर निकाल्ने गरिएको सफाइ महाअभियानले जनाएको छ।

सफाइ महाअभियान सुरु भएको पाँच सय हप्ता पूरा हुँदा पनि बागमती पूर्णरुपमा सफा हुन सकेको छैन। सर्वसाधारणले बागमतीमा यसरी फोहर फाल्ने हो भने जति सफाइ गरे पनि कहिल्यै सफा बन्दैन। फोहर फाल्नेलाई जरिवाना गरिने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन।

महाअभियान सुरु भएको साढे सात वर्षमा करिब १५ लाख अभियानकर्मीले स्वयंसेवकका रूपमा बागमती नदीको फोहर सङ्कलन गरेका छन्। स्वतःस्फूर्तरुपमा स्वयंसेवी अभियानमा सहभागी हुँदैआएका छन्। सफाइमा संलग्नलाई विभिन्न आरोप लगाउने काम भइरहेको अभियानकर्मी राम साहले बताए।

सफाइ महाअभियान चलेपछि नदी किनारमा करिब १० हजारभन्दा बढी बिरुवा रोपिएको छ । वृक्षरोपणका कारण नदी किनारमा हरियाली छाएको छ । जागरणमूलक बागमती सफाइ महाअभियानबाट प्रभावित भएर मुलुकभर १०० भन्दा बढी स्थानमा सफाइ अभियान सुरु गरिएको छ । यसबाट नदीको सौन्दर्य बढेको साह बताउँछन्।

सफाइ महाअभियानबाट नदी किनारको अतिक्रमित जग्गा फिर्ता गरिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमार्फत बागमती नदी किनारको दायाँ बायाँ २७ किलोमिटर ढल निर्माण गरिएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सुरु भएको बागमती सौन्दर्यीकरण कार्यक्रम नदी किनारमा रहेका सुकुम्बासीका कारण प्रभावित भएको छ ।

अधिकार सम्पन्न बागमती समितिको सञ्चालक सदस्यसमेत रहेकी सफाइ अभियानकर्मी डा माला खरेल नदी किनारका सुकुम्बासीको व्यवस्थापन गरेर सुन्दरता बढाउन सूचना सार्वजनिक गरी काम भइरहेको बताउँछिन्। काठमाडौँ महानगरपालिकाको समेत सहयोग लिएर छिटो सुन्दरता बढाउन नदी किनारका सार्वजनिक जग्गा खाली गर्न लागिएको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्