सात वर्षमा पनि बनेन सुस्ताको झोलुङ्गे पुल : सुस्ताबासीको पीडा उस्तै

खबर खुराक
खबर खुराक २६ मंसिर २०७९, सोमबार
4 Min Read
Aa

सात वर्षमा पनि सुस्ताको झोलुङ्गे पुल बन्न नसक्दा सुस्तावासीले सास्ती खेप्नु परेको छ । ठेकदारको चरम ढिलाइका कारण ७ वर्षमा पनि झोलुङ्गे पुल बन्न नसक्दा अझै जोखिमपूर्ण डुङ्गा यात्रा गर्न सुस्ताबासी रहेका छन् । नारायणी नदी (गण्डक) ले घेरिएको सुस्ता भूमिबाट आफ्नै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन जोखिमपूर्ण डुङ्गा यात्रा गर्नु पर्ने बाध्यता रहेको छ भने वर्षाको समयमा भारतीय यातनाका बीचपनि भारती बाटोनै प्रयोग गर्न बाध्यात्मक अवस्था छ । वर्षाको समयमा, गर्भवती महिला, बिरामीलाई उपचार गराउन नेपाल नसकेर बाध्य भई भारतको विहार पुग्नु पर्ने बाध्यता छ । नदीमा बाढीले विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न नदी पारी जान, स्थानीयलाई दैनिकी हाटबजार गर्न पारी जान निकै कठिनाइ हुने सुस्ता बचाउन अभियानका प्रवक्ता रवीन्द्र जयसवालले दुखेसो पोखे ।

नारायणी नदी पारी भारतको विहारसँग जोडिएको सुस्ताभूमि जिल्लाको सुस्ता गाउँपालिका वडा ५ को एक गाउँ हो । उक्त गाउँलाई वडा कार्यालय, गाउँपालिका कार्यालय र सदरमुकामसँग जोडने गरी सरकारले ७ वर्ष अगाडी २०७२ सालमा झोलुङ्गे पुलको आयोजना दिए पनि ठेकेदारको चरम लापरबाहीले उक्त पुल निर्माण हुन सकेको छैन । वर्षाैंदेखि भारतीय यातना खेप्दै र जोखिम पूर्ण डुङ्गाबाट यात्रा गर्दै आएका सुस्ताबासीको समस्या समाधान गर्न सरकारले सुस्ता र पक्लिहवाँ गाउँ जोडन एसियाकै दोस्रो ठुलो झोलुङ्गे पुलको आयोजना दिएको थियो ।

त्रिसुली आश्रय जे.भी कन्स्ट्रक्सन कम्पनीले २०७४ सालमा (२९ महिनामा) सम्पन्न गर्ने गरी २७ करोड रुपैयाँमा उक्त ठेक्का लिएको छ । उक्त पुलको १ हजार ५ सय ७१ मिटर लम्बाई र डेढ (१.६) मिटर चौडाइ रहेको छ । उक्त झोलुङ्गे पुल निर्माणमा ठेकदार कम्पनीले ढिलाइ गर्दै ७ वर्षसम्ममा पनि अझै पिलर ठड्याउने र तार तान्ने कार्यमै अल्झिएको छ ।

पुल सम्पन्न गर्न पुलको जगका लागि कुल २ सय २० वटा पाईल धाँसी पाईलिङ्गमा ४ वटा ठुलो अग्लो टावर पिलर ठड्याइने छ भने १० वटा सानो पिलरमा फलामे टावर पिलर ठड्याई झोलुङ्गे पुल बाँधिने कार्य हुनेछ । जसमा जमिनमुनि पाईलिङ्गको सबै कार्य सम्पन्न भएको छ भने नदीको बिच धारमा रहेको एउटा पिलरको जमिन सतहदेखि माथि पिलरको रूपमा उठाउने कार्य बाकी नै रहेको छ । यता तयार पङ्खी सहितका १० पिलरहरु मध्ये ३ वटामा फलामे टावर ठड्याई होल्डिङ्ग तार झुन्ड्याई सकेको छ । अझै ७ वटा पिलरमा फलामे टावर खडा गर्ने र अर्को ४ वटा मूल पिलरहरुमा ठुलो अग्लो टावर खडा गरी पुल झुन्डाउने कार्य बाकी नै रहेको छ देखिन्छ ।  २ वर्षमा सम्पन्न गर्नु पर्ने उक्त योजना ठेकेदारको चरम लापरबाही र आलटाल गर्ने कार्यले पुल सम्पन्न हुन नसकेको सुस्ता बचाउ अभियानका प्रवक्ता जयसवालले आरोप लगाए ।

ठेकदार कम्पनीले कहिले लेबर अभाव त कहिले पानीको उच्च बहाव र सरसामान नपाएको बहाना देखाउँदै काममा ढिलाइ सुस्ती गर्दै आएको छ । समग्रमा पुलको करिब ७० प्रतिशत मात्र काम हुन सकेको छ । पुलमा ढिलाइ देखेपछि पुललाई छिटो छरितो सम्पन्न गराउन सुस्ता गाउँपालिकाले चासो देखाएको छ । गाउँपालिकाले पुलको नियमित निरीक्षण र आइपर्ने समस्याहरूको समाधान गर्दै पुल निर्माणको कार्य छिटै सम्पन्न गराउन ठेकदार कम्पनीलाई ताकेता गर्दै आएको गाउँपालिका जनाएको छ ।

समयमा पुल नबनेपछि सुस्ताबासीको पिडा यथावत् नै छ । पुललाई छिटो तयार गराउन ३ महिनादेखि काम बन्द गरेका ठेकदारलाई बोलाई पुनः काम सुरु गराइएको लुम्बिनी प्रदेशसभा सदस्य देवकरण कलवार(सन्तु) ले बताए । ठेकदारले छिटो काम नगर्दा पुल निर्माण ढिलाइ भइरहेकाले त्यसलाई छिटो कार्य सम्पन्न गराउन हामी जनप्रतिनिधिहरू लागी सम्बन्धित निकायमा भरपुर पहल गर्ने प्रदेशसभा सदस्य कलवारले बताए ।३ सय घरधुरी रहेको सुस्तामा खासगरि विपन्न परिवारका समुदायहरूको बसोबास बढी छ ।

प्रतिक्रिया दिनुहोस्