Ad imageAd image

कर्णाली प्रदेशका समानुपातिक १६ सांसदमध्ये १५ महिला

खबर खुराक
खबर खुराक २९ मंसिर २०७९, बिहीबार
4 Min Read
Aa

कर्णाली प्रदेश सभामा समानुपातिक प्रणालीमार्फत् चयन हुने १६ जना सांसदमध्ये १५ जना महिला सांसद बनेका छन्।

एक जना भने पुरूष छन्। प्रत्यक्षतर्फका २४ वटै क्षेत्रबाट पुरूष निर्वाचित भएका थिए।

कर्णाली प्रदेशमा कुल समानुपातिक सांसदमध्ये नेपाली कांग्रेस र नेकपा एमालेले ५/५ सांसद पाएका छन्। नेकपा माओवादीले ४ र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले १/१ सांसद पाएका छन्।

एमालेले समानुपातिक मतका भारमा आफूले पाएका सांसदमध्ये एक जना पुरूष सिफारिस गरेको हो। अरु दलहरुले सबै महिला सांसद बनाएका छन्। एमालेबाट हुम्लाका कलबहादुर हमाल समानुपातिकतर्फ कर्णाली प्रदेश सभामा सांसद हुने एकजना मात्र पुरूष हुन्। उनी पिछडिएको कोटाबाट सांसद बनेका हुन्।

- Advertisement -
Ad image

यस्तै महिला खस आर्यतर्फ कालिकोटकी दक्षिणा शाही, रुकुम पश्चिमकी तुलसा मल्ल, दलित महिला तथा पिछडिएको क्षेत्रबाट दैलेख आठबिस नगरपालिकाकी गमता विक र आदिवासी जनजातीबाट सुर्खेतकी नन्दा गुरुङलाई एमालेले प्रदेश सभा सदस्य बनाएको छ।

नेपाली कांग्रेसबाट आदिवासी जनजातितर्फ सुर्खेतकी बलिमाया बुढा, खस आर्य महिलाबाट सुर्खेतकै जानकी सिंह र हुम्लाकी विजया बुढा सांसद बनेका छन्। पिछडिएको क्षेत्रबाट दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाकी इन्द्रकुमारी शाही र महिला दलितबाट सल्यानकी लक्ष्मी सुनार कर्णाली प्रदेश सभा सदस्य बनेका छन्।

नेकपा माओवादी केन्द्रबाट कर्णाल प्रदेश सभामा आदिवासी जनजाति र पिछडिएको क्षेत्रबाट हुम्लाकी जुम्कित लामा कार्की, खस आर्य महिलातर्फ कालिकोटकी यशोदा न्यौपाने र रुकुम पश्चिमकी मिलन खड्का रोका र दलिततर्फ डोल्पाकी उर्मिला विक सांसद बनेका छन्।

प्रत्यक्षतर्फ प्रदेशतर्फ एउटा पनि सिट नजितेको नेकपा (एस) बाट महिला खस आर्यतर्फ रुकुम पश्चिमकी कल्याणी खड्का समानुपातिक प्रणालीबाट सांसद बनेकी छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकमा खस आर्यतर्फ सुर्खेतकी सन्तोषी शाही कर्णाली प्रदेश सभा सदस्य बनेकी छन्।

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन २०७९ मा कर्णाली प्रदेशमा खसेको कुल समानुपातिक मतमध्ये ५ लाख ७७ हजार ८२९ मतमात्र सदर भएको थियो।

सदर मतमध्ये नेकपा एमालेले १ लाख ८३ हजार ९९० मत प्राप्त गरेको छ भने काँग्रेसले १ लाख ७० हजार ७५६ मत प्राप्त गरेको छ।

नेकपा माओवादी केन्द्रले १ लाख ३७ हजार ६२९ प्राप्त गरेको छ। नेकपा एकीकृत समाजवादीले ३६ हजार ८२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ मत प्राप्त गरेका छन्।

प्रदेश सभातर्फ नेकपा मजदुर किसान पार्टीले थ्रेसहोल्ड कटाएपनि सांसद भने पाएन।

कर्णाली प्रदेश सभाका २४ सिटमध्ये नेपाली काँग्रेस र नेकपमा माओवादी केन्द्रले ९/९ सिट जितेका छन्। यस्तै पाँच सिट एमालेले जितेको छ भने एक सिट स्वतन्त्र उम्मेदवारले जितेका छन्।

समानुपातिक प्रणालीमार्फत कर्णाली प्रदेशबाट प्रतिनिधि सभामा ९ जना सांसद चयन भएका छन्। नेपाली काँग्रेसबाट ३, नेकपा एमाले र माओवादी केन्द्रबाट २÷२ जना सांसद चयन भएका छन्। राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट १/१ जना प्रतिनिधि सभा सदस्य कर्णालीबाट चयन भएका छन्।

नेपाली काँग्रेसबाट जुम्लाकी कान्तिका सेजुवाल, दैलेखकी सीताकुमारी राना, जाजरकोटकी मैना रावल कार्की प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

एमालेबाट दैलेखकी सूर्यकुमारी श्रेष्ठ र रुकुम पश्चिमबाट चन्द्रबहादुर विश्वकर्मा चयन भएका छन् भने नेकपा माओवादी केन्द्रबाट जुम्लाकी छिरिङ ल्यामु लामा तामाङ र रुकुम पश्चिमकी कल्पना मिया निर्वाचित भएका छन्।

समानुपातितर्फ सल्यानकी अनिशा नेपाली प्रतिनिधि सभा सदस्य चयन भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट जुम्लाकी विनिता कठायत चयन भएकी छन्।

प्रतिनिधि सभाका प्रत्यक्षतर्फ कर्णालीका १२ क्षेत्रमध्ये नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले ४, नेकपा माओवादी केन्द्रले ४ र नेकपा (एस) ले ३ सिट जिटेका छन्। एक सिट राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ।

प्रतिक्रिया दिनुहोस्