काठमाडौं । अझै केही वर्ष सक्रिय राजनीति गर्ने र प्रधानमन्त्री बन्ने सपना देखिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गठबन्धनका दलहरुले राष्ट्रपतिमा प्रस्ताव गरेको बुझिएको छ ।
गैर राजनीतिक क्षेत्रबाट राष्ट्रपति बनाउने भन्दा पनि राजनीतिक व्यक्ति नै राष्ट्रपति बनाउनु उपयुक्त भएको भन्दै कांग्रेस र माओवादीका दुवै पार्टीका नेताहरुले पाँच वर्ष राष्ट्रपति भएर सक्रिय राजनीतिबाट विदा लिएको राम्रो भन्दै नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरेका हुन् ।
सरकार गठनको बेला माओवादीले आधा आधा कार्यकाल मागेको र पहिलो कार्यकालको प्रधानमन्त्री दाबी गरिरहेका बेला कांग्रेसका नेताहरु पनि नेपाललाई राष्ट्रपति बनाउने विषयमा सकारात्मक रहेको स्रोतको दाबी छ ।
गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने हल्ला चलिरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभपातिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको स्रोतको दाबी छ ।
यही बेला अध्यक्ष नेपालले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने भन्ने प्रचारप्रति कुनै सत्यता नरहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन चलखेल भइरहेको भनेर बाहिर हल्ला गरिए पनि त्यसमा सत्यता नभएको भन्दै त्यसमा आपत्ति जनाएका छन् ।
केही दिनअघि कल्याण श्रेष्ठ, खिलराज रेग्मी, अनुराधा कोइराला लगायतको नाम चर्चामा रहेको छ । ‘अहिले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने हल्ला र चर्चा भएको मैले पनि सुनेँ, त्यो बाहिरी हल्लामात्रै हो । त्यो चर्चाका पछाडि लाग्न जरुरी छैन अहिले त्यस्तो हुँदैन’, नेता नेपालले एस निकट रहेका केही सञ्चारकर्मीहरुसँग भनेका थिए ।
उनले गैर राजनीतिक बौद्धिक, सामाजिक, प्राज्ञिक व्यक्तिलाई राष्ट्रपति बनाउन संविधानबाट रोकावट नभए पनि अहिले त्यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको बताए ।
सरकार गठनका लागि राजनीतिक दलहरुबाट पावर सेयरिङको विषयमा कुराकानी चलिरहेको र धेरै नेताहरुलाई व्यवस्थापन गर्नुपर्ने भएकाले पनि राजनीतिक व्यक्तिहरुबाटै राष्ट्रपति बनाइने नेताहरुको दाबी छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा सबभन्दा कांग्रेस ठूलो दल हो भएकै कारण सरकार गठनको जिम्मेवारी उसले लिनेछ ।
संसदमा ८९ सांसद भएकाले प्रधानमन्त्रीमा कांग्रेसको स्वभाविक दाबी छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा लगायतका नेता प्रधानमन्त्रीका आकांक्षी हुन् ।
यद्यपि जो संसदीय दलको नेता चुनिन्छ उसले नै सरकारको नेतृत्व गर्ने अवस्थामा कांग्रेसबाट को प्रधानमन्त्री हुने भन्ने विवाद देखिन्न ।
गठबन्धनको बलमा सरकार बनाउनु पर्ने भएकाले प्रधानमन्त्रीमा आलोपालो गर्नुपर्छ भन्नेमा पनि कांग्रेस एकमत छ ।
तर पहिले को प्रधानमन्त्री हुने भन्नेमा न कांग्रेस एकमत छ, न प्रचण्ड र देउवाबीच नै कुनै सहमति जुटेको छ । यस्तो बेलामा नेकपा एसलाई मनाउने गरी राष्ट्रपतिमा नेपालको नाम प्रस्ताव गरिएको स्रोतको दाबी छ ।
प्रचण्डले चुनाव अघिदेखि नै पहिलो खेपमा प्रधानमन्त्री हुने चाहना देखाएका थिए । निर्वाचन परिणाम माओवादीको प्रतिकुल आए पनि सरकार गठनमा महत्वपूर्ण भूमिका हुने भएकाले उनले त्यो दाबी छाडेका छैनन् ।
चुनावपछि गठबन्धनमा आवद्ध दलका नेताहरुसँग भएको भेटमा उनले प्रष्ट शब्दमा पहिलो पालोमा आफू प्रधानमन्त्री हुन चाहेको बताएका छन् । यस्तो अवस्थामा कांग्रेसभित्र रामचन्द्र पौडेललाई व्यवस्थापन गर्नुपर्ने भएकाले उनका लागि पनि राष्ट्रपति पद सुरक्षित हुने अवस्था रहेको कांग्रेसका एकथरी कार्यकर्ताहरुले बताएका छन् ।
तर कांग्रेसका केही नेताहरुलाई व्यवस्थापन गर्नुभन्दा पनि नेकपा एसका अध्यक्ष नेपाललाई व्यवस्थापन गरेर गए आलोपालो प्रधानमन्त्रीमा पनि माओवादी र कांग्रेस नै अघि बढ्न सहज हुने दुवै पार्टीका नेताहरुको सोच रहेको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्