१ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका सञ्चालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैध रुपमा सेयर कारोबार गरेको ठहर गरेको छ । बोर्डको सञ्चालक समितिले न्यौपाने र प्रधान दुवैलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।
आफू सञ्चालक समितिमा रहेकै अवस्थामा सेयर कारोबार गरेकोबारे बोर्डले गरेको अध्ययनमा न्यौपाने र प्रधान दोषी भेटिएका हुन् । दुवैले कानुन विपरीत सेयर कारोबार गरेको भन्दै बोर्डको विभागीय स्तरबाट हदैसम्मको कारवाही गर्ने सिफारिस भएपछि बोर्डको सञ्चालक समितिले दुवैलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
कानुन विपरीत सेयर कारोबार गरेकोबारे न्यौपाने र प्रधानले चित्तबुझ्दो स्पष्टीकरण नदिए कानुन अनुसार कारबाही हुने बोर्ड स्रोतले बतायो । ‘बजारमा मनलाग्दी गर्नेमाथि पनि बोर्डले कारबाही गर्दैन भन्ने अवस्था अब नरहने भयो,’ बोर्डका एक अधिकारीले भने, ‘कारबाही प्रक्रिया पूरा गरेर बोर्डबाट कुन हदसम्मको सजाय हुने भन्ने तय हुनेछ ।’
सञ्चालक समितिमा रहँदा वा सञ्चालक समिति छोडेको एक वर्षभित्र आफू वा एकाघरको व्यक्तिले सम्बन्धित कम्पनीको सेयर कारोबार गर्न नपाउने व्यवस्था छ । तर, आफू सञ्चालक समिति अध्यक्ष वा सञ्चालक समिति सदस्य हुँदाहुँदै र पद छाड्नासाथ सेयर कारोबार गरेको भेटिएको बोर्डको अनुसन्धानबाट देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्