इन्दिरा राना मगर : बन्दी बाबुआमाका बालबच्चाकी कर्मआमा

खबर खुराक
खबर खुराक १ पुष २०७९, शुक्रबार
8 Min Read
Aa

१ पुस, काठमाडौं । थुप्रै बालबच्चा कारागारको चौघेराभित्र थुनिन पुगेका छन्, विना कसूर । कैद भुक्तान गरिरहेका आमासँगै कारागार पुगेका, त्यहीं जन्मिएका लालावालालाई खुला संसार कसरी देखाउने ? यही प्रश्नले बारम्बार बिथोलिरहन्थ्यो, इन्दिरा राना मगरलाई ।

अन्ततः उनले यी अबोध बालबच्चालाई त्यो पर्खालको घेराबाट निकालेर आफ्नै न्यानो आश्रयमा हुर्काउने निधो गरिन् । यो ३३ वर्षअघिको कुरा ।

त्यसयता इन्दिराले बालबच्चालाई कारागारबाट निकालेर आफूसँगै राख्न र पालनपोषण गर्न थालिन् । यसबीचमा दुई हजार बालबच्चा उनको ममतामयी काखमा हुर्किए । ‘मेरो कोखबाट जन्मिएको त एउटा मात्र बच्चा छ’ यसो भनिरहँदा इन्दिराको मन हार्दिकताले पग्लिन्छ, ‘तर मलाई आमा भन्ने सयौं सन्तान छन् ।’

उनी आफूलाई ‘कर्मआमा’को रूपमा परिभाषित गर्न चाहन्छिन् । भन्छिन्, ‘मेरा यी सन्तानहरू सबल, सक्षम भएको देख्न पाउँदा परमसन्तोष मिल्छ ।’

उनले नयाँबजारस्थित डेरामा आफूसँग २८ जना बालबच्चा हुर्काइरहेकी छिन् । कारागारमा रहेका बालबच्चालाई आफ्नै मातहतका दुई वटा विद्यालय र १० वटा बालगृहमा राखेकी छिन् । यसमा छोरी र छोरालाई अलग–अलग ठाउँमा बस्ने व्यवस्था मिलाइएको छ । काठमाडौंको साँखुमा भने आफ्नै भवनमा विद्यालय सञ्चालित छ । त्यहाँ कारागारबाट ल्याइएका र विपन्न वर्गका बालबच्चासहित ८५ जना पठनपाठन गर्छन् ।

त्यसैगरी म्याग्दी, कास्की, झापा र काठमाडौंका ३८ परिवारका सन्तानलाई ‘छोरी शिक्षा’ कार्यक्रमअन्तर्गत पढाइरहेकी छिन् । यतिबेला ५०० बालबच्चाको पालनपोषण र शिक्षा–दीक्षाको सम्पूर्ण मेलोमेसो उनै इन्दिराले मिलाइरहेकी छिन् ।

यिनै बालबच्चाको रेखदेख र खर्चपानी जोहो गर्दैमा इन्दिराको दिन बित्छ । यही हार्दिकता, लगाव र समर्पण नै उनको जीवनको लय बनेको छ ।

कसरी बनिन् हजारौंकी आमा ?

कारागारसम्म उनी कसरी पुगिन् ? कसरी बन्दी आमाका बालबच्चामाथि उनको स्नेह पोखियो ? यसको पछाडि एउटा सूत्रधार बनेर जोडिएकी छिन्, साहित्यकार पारिजात ।

पारिजात त्यसबखत मानवअधिकारका पक्षमा पैरवी गरिरहेकी हुन्थिन् । खासगरी उनको सक्रियता कारागारमा बन्दी जीवन विताइरहेकाहरूको अधिकार र हकहितका लागि थियो । यसलाई उनले संस्थागत स्वरुप दिएकी थिइन, ‘पाम’ नाममा ।

संयोगले पारिजातसँग हेलमेल भइरहँदा इन्दिरा पनि त्यही संस्थामा प्रवेश गर्न पुगिन् । अन्ततः पारिजातसँगै कारगार आउजाउ सुरु भयो । यसक्रममा उनको खास भूमिका थियो, बन्दीगृहमा पठनपाठन गराउने ।

‘कारागारभित्र आमासँगै पुगेका बालबच्चा हुन्थे’ इन्दिरा भन्छिन्, ‘उनीहरूलाई देख्दा मलाई असाध्यै टिठ र दया लाग्थ्यो ।’

कारागारबाट फर्केपछि उनको चैन हराउँथ्यो । तिनै अवोध र निर्दोष बालबच्चाको अनुहार झल्झली आइरहन्थ्यो । यस्तै औडाह र छट्पटीले उनको मनमा एउटा जुक्ति फुर्‍यो, कारागारका बच्चाहरूलाई आफूसँगै राखेर हुर्काउने ।

यद्यपि उनीसँग सबै कुरा पुगिसरी थिएन । २०४७ सालमा झापाको अर्जुनधाराबाट पढ्नका लागि काठमाडौं आएकी, दुःखजिलो गरेर बसेकी, खर्चपानी जुटाउन टाँक बनाउने कम्पनीमा जागिर खाएकी, फेरि पढाउने काममा लागेकी । खासमा त आफ्नै दुनो सोझ्याउन कठिन थियो ।

यस्तो स्थितिमा अर्काको बालबच्चा कसरी पालनपोषण गर्ने ? समस्या सानो थिएन । ‘तर भगवानले तँ आँट, म पुर्‍याउँछु भन्छन् रे’ उनले दृढताको सास फेरिन्, ‘अनि मैले पनि आँटें ।’

अनि बनिन् कर्मआमा

सुरुमा उनले आफ्नै कोठामा ल्याएर बालबच्चा हुर्काउन थालिन् । तर, एक–दुई जना बच्चालाई मात्र पालनपोषण गरेर भएन । कारागारमा यस्ता बालबच्चा कति होलान् ?

‘ती बालबच्चालाई आफ्नो कोठामा मात्र हुर्काउन सम्भव थिएन’ मगर भन्छिन्, ‘त्यसैले शिशु स्याहार केन्द्र सञ्चालन गरेर संस्थागत रूपमै यसलाई अगाडि बढाउन उचित लाग्यो ।’

यसपछि जन्म भयो बन्दी सहायता नेपाल  । यस अन्तर्गत काठमाडौं लगायत पाल्पा, झापामा बालगृह स्थापना गरियो । ‘यिनै बालगृहहरूमा कारागारबाट बालबच्चा ल्याएर राख्न थालें’ मगर भन्छिन्, ‘उनीहरूको हेरचाह गर्ने, पालनपोषण गर्ने, लेखपढ गराउने काम अलि सहज भयो ।’

उनले कारागारबाट पाँच वर्षमाथिका बालबच्चालाई बालगृहमा ल्याउने गरेको बताइन् । ‘यस्ता बालबच्चा हामी खोजी–खोजी ल्याउने गर्छौं’, उनी सुनाउँछिन् ।

त्यसबाहेक मगरले कारागारमा रहेका शिशुका लागि तीन वटा शिशु स्याहार केन्द्र सञ्चालन गरेकी छन् । उनको संस्थाले प्रत्येक दिन पोषणयुक्त खानेकुराहरू दिने, सरसफाइका सामानदेखि आधारभूत आवश्यकताका सामग्री उपलब्ध गराउने गर्छ ।

‘बालबालिकालाई पढाइ, लेखाइ मात्र गराउने नभई पारिवारिक मेलमिलाप पनि गराउँछौं’ उनी सुनाउँछिन्, ‘चाडबाडमा भेटाउन लैजाने, फोन गराउने पनि गर्छौं । यसले उनीहरूको नातालाई निरन्तर र बलियो बनाउँछ ।’

आफूले न्यानो आश्रय दिएर हुर्काएका कति बालबच्चा आफैं सक्षम भएर निस्किएको कुराले मगरको मन फुरुङ्ग हुन्छ । ‘कोही नर्स भएका छन्, कसैले मार्सल आर्टमा राम्रो प्रगति गरेका छन्, कोही फुटबल खेलाडी भएका छन्’ मगर भन्छिन्, ‘उनीहरूको प्रगति देख्दा साह्रै खुसी लाग्छ ।’

मनकारी दाता र कृषि उद्यमबाट सहयोग

यद्यपि यत्तिका बालगृह चलाउन उनीसँग दिगो आयआर्जनको स्रोत भने छैन । केही ठाउँमा बाख्रापालन, फलफूल, धान तथा तरकारी खेती गरिएको छ । यसैबाट हुने आम्दानी बालगृहमा खर्च गर्ने उनले बताइन् । यी पशुपालन र खेती किसानीमा बालबच्चालाई सहभागी गराइन्छ । ‘यसले उनीहरूलाई श्रमप्रति लगाव बढ्छ र सीप विकास पनि हुन्छ’, मगर भन्छिन् ।

त्यसबाहेक स्वदेशी–विदेशी दाताहरूबाट आउने सहयोगले नै यी बालबच्चाको स्याहारसुसार र लेखपढ गराइरहेकी छिन् ।

कैदमुक्त भएकालाई पनि आश्रय

जेल सजाय भुक्तान गरिसकेपछि कतिपयलाई कहाँ जाने ? कसरी समाजमा स्थापित हुने भन्ने समस्या हुन्छ । त्यस्ता व्यक्तिहरूलाई मानसिक परामर्श दिने र रोजगारीको अवसर खोजिदिने काम पनि गरिरहेको उनले बताइन् । ‘कतिलाई हामीले नै राखेका छौं, कतिपयलाई भने काम खोजेर रोजगारीमा लगाइदिएका छौं’, मगर भन्छिन् ।

सरकार गम्भीर भएर लागेन

बन्दी बाबुआमालाई सरकारले ३० रुपैयाँ र चामल दिने गर्दछ । यसले उनीहरूका बालबच्चाको लालनपालनमा अपुग हुने हुँदा बालबच्चाको अवस्था दयनीय हुने उनी बताउँछिन् । ‘यसको लागि सरकारले अरू नै विकल्प खोज्नुपर्ने देखिन्छ’ उनी भन्छिन्, ‘सरकारले सामाजिक संरक्षण भत्ता समेतको व्यवस्था नगर्नु दुखद कुरा हो ।’

उनका अनुसार सरकारले उनीहरूको लागि संरक्षण भत्ता दिएर उनीहरू बाल आश्रित गृहमा नआउन् भन्ने लाग्छ । ‘यसका लागि पटक पटक पहल गर्दा सरकारले बेवास्ता गरिरहेको छ’ उनले भनिन्, ‘कम्तीमा सरकारी स्कुलले निःशुल्क र निजी स्कुलले पनि छात्रवृत्तिमा उनीहरूलाई पढाउन सक्छन् ।’

कारागारमा हुर्किएका बच्चाहरू कुपोषित हुनसक्ने, स्वास्थ्य र शिक्षाबाट वञ्चित हुने उनले बताइन् । ‘कतिपय बच्चाहरू कारागारबाट निस्किएपछि बेवारिसे हुने रहेछन्’ उनीहरू भन्छिन्, ‘यसतर्फ सरकारको ध्यान जान जरूरी छ ।’

बन्दीका सन्तान मानसिक रूपमा कमजोर

कारागारमा जन्मिएका र बालआश्रित गृहमा हुर्किएका बालबालिका मानसिक रूपमा धेरै कमजोर पाएको मगर बताउँछिन् । ‘उनीहरूको दिमागमा अपराधका घटना, घरमा भएको हिंसा र प्रहरी आएर बुवाआमालाई जेल लगेको छाप दिमागमा गहिरो गरी परेको हुन्छ ।’ उनी सुनाउँछिन्, ‘जुन कुनै न कुनै समयमा व्यवहारबाट पनि देखिन्छ ।’

उनीहरूलाई सम्झाउने, बुझाउने र भुलाउने पाटो हुँदाहुँदै पनि दिमागबाट नै विगतका पाना मेटाउन सहज नहुने उनको भनाइ छ । ‘समाजले पनि उनीहरूको परिचय थाहा पाउने बित्तिकै तिरस्कार गर्ने भय भएकाले उनीहरू आफ्नो परिचय लुकाएर बाँच्न बाध्य हुनेरहेछन्’, उनी भन्छिन् ।

बालबालिकाको मौलिक हककै लागि राजनीतिमा प्रवेश

समाजसेवी भएर यो काम गरिरहँदा धेरै कार्यालयमा कागज लिंदै धाउँदा कसैले नसुनेको हुँदा राजनीतिमा प्रवेश गरेको उनी बताउँछिन् । हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आदिवासी जनजाति क्लस्टरबाट प्रतिनिधिसभाको समानुपातिक सूचीमा परेकी छिन् ।

‘कारागारकै बालबालिकाको हकहितको लागि लडें, केही भएन । उच्च निकायले आलटाल गरिरह्यो’ उनी सुनाउँछिन्, ‘त्यसैले ती बालबच्चाको हकहितका लागि र समाजमा व्याप्त बेथिति विरुद्ध सदनमै आवाज उठाउन राजनीतिमा प्रवेश गरेकी हुँ ।’

प्रतिक्रिया दिनुहोस्