एमाले तानसेन नगर कमिटीको समिक्षा बैठक सम्पन्न

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा २ पुष २०७९, शनिबार
2 Min Read
Aa

पाल्पा, २ पुस । नेकपा एमाले तानसेन नगर कमिटीको समिक्षा बैठक शुक्रबार सम्पन्न भएको छ ।

बैठकमा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन र त्यसको परिणामाबारे समिक्षा भएको थियो । सबै वडा कमिटीका अध्यक्ष तथा प्रतिनिधिले आ–आफ्नो वडामा भएका चुनावी गतिविधिकाबारेमा रिपोर्टिङ गरेका थिए । नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले तानसेन नगरपालिका भित्रबाट एमालेका उम्मेदवारलाई प्राप्त भएको मतको अवस्थाबारे जनाकारी गराउनुभएको थियो । उहाँले अहिलेको परिस्थितिमा एमालेका उम्मेदवारलाई मत राम्रो प्राप्त भएपनि आगामी निर्वाचनका लागि विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचनमा खटिने सबैलाई धन्यवाद दिनुभयो ।

बैठकमा प्रमुख अतिथि संघीय सांसद तथा नेकपा एमाले पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरेले अहिलेको निर्वाचनमा नेकपा एमालेका नेता तथा कार्यकर्ता एक भएर अगाडि बढेको बताउनुभयो । शिरदेखि तीरसम्म एमाले एकताबद्ध भएर निर्वाचनमा होमिएको उहाँले बताउनुभयो । गएको निर्वाचनमा वडा तहमा विजयी हाँसिल गर्नेगरी यहाँका नेता तथा कार्यकर्ता खटेका थिए । त्यसैले पाल्पामा पहिलो पार्टी बन्न सफल भएको गैरेले बताउनुभयो ।

एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रदेश कमिटी सदस्य परशुराम भट्टराई, नवनिर्वाचित प्रदेश सांसद तथा एमाले पाल्पाका सदस्य खेमबहादुर सारु लगायतले अव जनताको माग र आवश्यकताको आधारमा काम गरेर मतदाताको मन जित्ने बेला आएको बताउनुभएको थियो ।

नगर कमिटी अध्यक्ष गुराँस आत्रेयको अध्यक्षतामा भएको बैठकमा सचिवालय सदस्य नारायण न्यौपानेले स्वागत र सचिव महेशलाल शाक्यले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्