बगनासकाली बहुउद्देश्यीय सहकारीको चौंथो वार्षिक साधारणसभा सम्पन्न

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा २ पुष २०७९, शनिबार
3 Min Read
Aa

पाल्पा, २ पुस । बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बगनासकाली गाउँपालिका पाल्पाको चौंथो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

सभामा प्रमुख अतिथि संघीय सांसद ठाकुरप्रसाद गैरेले सरकारले सहकारीसँग सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो । कृषिलगायत विभिन्न उत्पादनमूलक क्षेत्रमा सहकारीमार्फत सरकारले आर्थिकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । युवालाई स्वरोजगार बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कृषिलाई आधुनिकीकरण गरेर युवालाई व्यावसायमा जोडन् सके मुलुककै आर्थिक उन्नतिमा टेवा पुग्ने उहाँले बताउनुभयो । आफूले यस सहकारी र यहाँ आवद्ध किसानहरूको आर्थिक प्रगतिका सक्दो सहयोग गर्ने गैरेले प्रतिवद्धता जनाउनुभयो ।

लुम्बिनी प्रदेश सरकारका उर्जा, जल तथा सिंचाइमन्त्री वीरबहादुर रानाले बाँझिएका जमिनमा सिंचाइको व्यवस्था मिलाएर व्यावसायिक कृषि प्रणाली अपनाउनुपर्ने बताउनुभयो । तीनै तहकार सरकारले समन्वय गरेर किसानका हितमा काम गर्नसके रित्तिएका गाउँमा फेरी मानिस फर्कने उहाँले बताउनुभयो । प्रदेश सांसद तुलाराम घर्तिमगर बसन्तले सहकारीले रोजगार नभई स्वरोजगार बनाउनुपर्ने बताउनुभयो । बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले स्थानीय सरकारले पूर्वाधार विकाससँगै यहाँको कृषिलाई व्यवसायिकरण गर्ने खालका कार्यक्रममा सहयोग गर्दै आएको बताउनुभयो ।

सभामा बगनासकाली गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक, वडा नम्बर ८ का वडाध्यक्ष मोतीलाल बस्याल, ९ का वडाध्यक्ष थानेश्वर तिमिल्सेना, जिल्ला सहकारी संघका अध्यक्ष भूपति पाण्डे, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सेना, मालरानी कृषि तथा पशुपंक्षी सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद बस्याल, बगनासकाली सकारीका सल्लाहकार समितिका संयोजक गणेश बस्याल, शेयर सदस्य गणेश बस्याल, हरिकला घिमिरे लगायतले शुभकामना दिनुभएको थियो ।

लेखा सुपरिवेक्षण समितिका संयोजक रवीलाल तिमिल्सेनाले आन्तरिक लेखा व्यवस्थाका बारेमा भइरहेका गतिविधिका बारेमा राम्रो पक्षको र सुधार गर्नुपर्ने पक्षमा सुझाव दिनुभएको थियो ।

सभामा सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालले करिब दश करोड बराबरको आयव्याय प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार गत आर्थिक वर्षमा १५ लाख बढी शुद्ध नाफा भएको छ । सहकारीमा एक हजार २०० शेयर सदस्य र ७०० बाल बचत रहेको उहाँले बताउनुभयो । २०७६ सालमा स्थापना भएको सहकारीले आफ्नै भवनबाट सेवा दिंदै आएको छ । हाल १० जना कर्मचारी कार्यरत छन् । गाउँपालिका भित्रका दुइ ठाउँबाट सेवा विस्तार गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

सहकारीले विभिन्न सरकारी निकायसँग सहकार्य गरेर सहकारीमा आवद्ध किसानलाई उन्नत जातका भैंसी अनुदान दिएको छ । हाल तानसेनमा दूध डेरी सञ्चालन गरेर किसानले उत्पान गरेको भैंसीको दूध बिक्री गर्दै आएको छ । यस्तै अकबरे खुर्सानी र कुरिलो खेतीमा किसानलाई आकर्षित गर्न आर्थिक तथा भौतिक सहयोग गर्दै आएको सचिव कमलराज तिमिल्सेनाले बताउनुभयो ।

अध्यक्ष कृष्णप्रसाद भुसालको सभापतित्वमा भएको सभामा उपाध्यक्ष विमला बश्यालले स्वागत र सचिव कमल तिमिल्सेना सञ्चालन गर्नुभएको थियो ।
सभाका अवसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, जेष्ठ नागरिक, उत्कृष्ट विद्यार्थी, मेहनती किसान, कुशल वचतकर्ता, कुशल ऋणीलाई सम्मान गरिएको थियो । साथै सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्