जोमसोम : मुस्ताङका च्याङ्ग्रापालक किसानले करोडौंको अनुदान पाएका छन्। विश्व बैंकको ऋण सहयोगमा नेपाल सरकार पशुपन्छी विकास मन्त्रालयअन्तर्गत नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाको पस्मिना प्रवर्द्धनन तथा व्यावसायिक च्याङ्ग्रापालन कार्यक्रममार्फत मुस्ताङका च्याङ्ग्रापालकले करोडौंको अनुदान पाएका हुन्।
विश्व बैंकको एक सय मिलियन अमेरिकन ऋण सहयोगमा मन्त्रालयले २०७० सालदेखि आयोजना सुरु गरेको थियो। आयोजनाले आन्तरिक व्यवस्थापनमा ३ वर्ष खर्चिएपछि २०७४ सालदेखि नेपालका ७ प्रदेशका २८ जिल्लाका २ सय ९० वटा स्थानीय तहमा आयोजना कार्यान्वयनमा आएको हो। जसअन्तर्गत गण्डकी प्रदेशका ७ वटा जिल्लामा च्याङ्ग्रापालन तथा पस्मिना प्रवर्द्धनन, दूध र मासुका लागि करोडौंको अनुदान विनियोजन गरिएको हो।
आयोजनाले गण्डकीमा दूध, मासु र पस्मिनामा १ अर्ब ५० करोडको अनुदान प्याकेज ल्याएको हो। गण्डकी प्रदेशको मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, तनहुँ र नवलपुरमा यो आयोजना कार्यान्वयनमा आएको थियो। मुस्ताङ र मनाङमा च्याङ्ग्रा तथा पस्मिना र बाँकी पाँच जिल्लामा दूध र मासुका लागि खसीबोकापालन गर्न अनुदान आएको थियो। आयोजनाले सम्बन्धित जिल्लाको सम्भावना हेरेर अनुदान प्याकेज ल्याएको बताइएको छ।
हिमाली जिल्ला मुस्ताङ र मनाङमा च्याङ्ग्रापालन तथा पस्मिना प्रशोधन कार्यक्रमअन्तर्गत ५० करोड बजेटको अनुदान छुट्ट्याइएको थियो।
प्रतिक्रिया दिनुहोस्