नौ महिनादेखि बस्न सकेन धरान खानेपानी बोर्ड बैठक, सूचना माग्दा नदिएको आरोप

खबर खुराक
खबर खुराक ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

३ पुस, धरान । नौ महिनासम्म धरान खानेपानी बोर्डको बैठक बस्न नसकिरहेको अवस्थामा दलहरुले बोर्डको पारदर्शिताबारे जानकारी माग्दा पनि धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले सूचना दिन अवरोध गरेको आरोप लागेको छ ।

खानेपानी बोर्डका सदस्य समेत रहेका नेपाली कांग्रेस धरानका सभापति श्याम पोख्रेलले नौ महिनासम्म बोर्डको बैठक डाक्न नसकेको बताए । तीन करोड बढीको सामग्री सहयोगको रुपमा आएको प्रचार गरेका मेयरले सबै सामग्री खानेपानी बोर्डका लागि प्रयोगसमेत नगरेको आरोप पोख्रेलले लगाए ।

७५ प्रतिशत सामग्री खोलाखोल्सीतिर गएको छ, त्यसले कति उत्पादन दियो ?’, बोर्ड सदस्य पोख्रेलले प्रश्न गरे, ‘बोर्डको हिसाबकिताब बारे बुझ्न जाँदा लेखा अधिकृतले जानकारी नदिनू भन्ने नगर प्रमुखको निर्देशन छ भने, अहिले धरान उपमहानगर र खानेपानी बोर्ड खोक्रो बन्दै गैरहेको छ ।’

धरान उपमहानगरपालिकाको आर्थिक महाशाखाले सूचना दिन नमान्दा शुक्रबार गरिने भनिएको खानेपानीको आय–व्यय प्रस्तुत हुन सकेन । बिहीबार कार्यपालिकाको बैठक अवरुद्ध भएको विषयमा जानकारी दिन २० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुक्रबार धरानको खानेपानीको आयव्यय प्रस्तुत गर्ने कार्यक्रम रहेको सञ्चारकर्मीलाई जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्