कहाँ हराए वीर अस्पतालका १२ स्वास्थ्यकर्मी ?

खबर खुराक
खबर खुराक ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा १२ स्वास्थ्यकर्मी लामो समयदेखि बिनाजानकारी हाजिर नभएपछि खोजी सुरु गरिएको छ । अस्पतालले आइतबार १२ जनाको नामसहित सूचना जारी गर्दै ३० दिनभित्र हाजिर हुन आउन भनेको छ ।

बिनाजानकारी अस्पतालमा हाजिर नहुनेमा एक चिकित्सक, नौ स्टाफ नर्स र दुईजना अनमी छन् । अस्पतालका रजिष्ट्रार÷ट्युटर डा. सृष्टि शाह र स्टाफ नर्सहरू (पाँचौँ तह) जमुना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल बिनाजानकारी अस्पतालमा हाजिर भएका छैनन् ।

यस्तै, सोही तहका स्टाफ नर्सहरू सकिला चौलागाईं, अन्जुकला राई, सरस्वती अर्याल र रेणुका अधिकारी पनि लामो समयदेखि बिनाजानकारी अनुपस्थित रहेको अस्पतालले जनाएको छ ।

यसरी हराउनेमा छैटौँ तहका अनमी साहिदा सुब्बा र अनिता बसेल पनि छन् । उनीहरू सबै न्याम्सअन्तर्गतका स्थायी कर्मचारी हुन् ।

बिनाजानकारी लामो समयदेखि अनुपस्थित स्वास्थ्यकर्मीका कारण अस्पतालको सेवा प्रभावित भएको निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए । “हामीले बीचमा विभिन्न माध्यमबाट उहाँहरूलाई खोज्यौँ । तर, सम्पर्कमा नआएपछि सार्वजनिक सूचना जारी गरिएको हो । तोकिएको अवधिमा नआए उहाँहरूलाई बर्खास्त गर्ने तयारी गरेका छौँ,” डा. बस्नेतले बाह्रखरीसँग भने ।

उनीहरूलाई सूचना जारी भएको ३० दिनभित्र उपस्थित नभए स्वास्थ्य सेवा ऐन र प्रतिष्ठानको (कर्मचारी सेवाका सर्त तथा सुविधासम्बन्धी) नियमावलीअनुसारको कारबाही हुने सूचनामा उल्लेख छ ।

haraye nurse 21671346108.jpg

प्रतिक्रिया दिनुहोस्