भारतबाट आँखाको लेन्स तस्करी

खबर खुराक
खबर खुराक ३ पुष २०७९, आईतवार
3 Min Read
Aa

विराटनगर : मोतियाविन्दुको शल्यक्रिया गरेका बिरामीको आँखामा प्रयोग गरिने लेन्स भारतबाट नेपालतिर तस्करी हुने गरेको पाइएको छ।

भारतको जोगवनीबाट विराटनगर भित्राइएको लेन्स इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल र सीमा प्रहरी चौकीका प्रहरी वरिष्ठ नायव निरीक्षक चन्द्रशेखर शिवकोटी नेतृत्वको संयुक्त टोलीले बरामद गरेपछि तस्करी हुने गरेको खुलेको हो।

भन्सार छली गरेर ल्याइएको आँखाको लेन्स प्रहरीले आइतबार बिहानका राति १ बजेतिर विराटनगर महानगरपालिका–१६ जुट मिल्सनजिकबाट बरामद गरेको छ।

आठ लाख ६४ हजार मूल्य बराबरको १ सय २० वटा लेन्स र ३४ हजार ८ सय रुपैयाँ बराबरको औषधि बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार भारतदेखि तस्करी गरेर ल्याइएको लेन्स आँखा अस्पतालहरूले प्रयोग गर्ने गरेको आशंका छ। भन्सार तिरेर ल्याउँदा महँगो पर्ने भएपछि अवैध तरिकाले ल्याइएको लेन्स बिरामीका लागि प्रयोग गर्ने गरिएको प्रहरीको बुझाइ छ। एउटा लेन्सको मूल्य ५ हजारदेखि ४० हजार रुपैयाँसम्म पर्ने आँखा अस्पतालहरूले जनाएका छन्।

अस्पतालहरूका अनुसार मोतियाविन्दुको शल्यक्रियापछि आँखामा उक्त लेन्स प्रयोग गरिन्छ। मोतियाविन्दुका कारण प्राकृतिक लेन्स सडेपछि शल्यक्रिया गरेर आँखामा कृतिम लेन्स लगाउने गरिएको विराट आँखा अस्पतालका सञ्चालक एवं पूर्वप्रशासक राजेश प्रसाईंले बताए।

‘सडेको लेन्स शल्यक्रिया गरेर निकालिन्छ। त्यसपछि आँखा देख्नसक्ने बनाउन कृतिम लेन्सको प्रयोग गरिन्छ,’ उनले भने।

प्रसाईंका अनुसार नेपालमा सम्बन्धित कम्पनीका आधिकारिक बिक्रेतामार्फत लेन्स खरिद गरी बिरामीका लागि प्रयोग गर्ने गरेका छन्। आँखा अस्पतालहरूले तस्करीको लेन्सको प्रयोग गर्ने गरेको कुरा आफूलाई थाहा नभएको उनले बताए।

उनका अनुसार अष्ट्रेलियन प्रविधिको प्रयोग गरेर तिलगंगा आँखा अस्पतालले आफैँ लेन्स उत्पादन गर्छ। ‘खपत हुनेमध्ये ६० प्रतिशतभन्दा बढी लेन्स नेपालमै उत्पादन हुन्छ,’ प्रसाईंले भने, ‘त्यसबाहेक भारत, अमेरिका, जापान, जर्मन लगायतका मुलुकमा उत्पादन भएको लेन्स आधिकारिक बिक्रेतामार्फत खरिद गर्ने गरिएको छ।’

प्रहरीले लेन्ससहित भारतबाट तस्करी गरेर ल्याइको चाबी (साँचो), थान कपडा, चिया छान्ने जाली, साडीलगायतका सामान बरामद गरेको छ।

भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा १२ लाख ३ हजार ४ सय मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार प्रहरीलाई देख्नासाथ तस्करीमा संलग्नहरू सामान छाडेर फरार बनेका थिए।

बरामद गरिएको सामान प्रहरीले आवश्यक अनुसन्धान र कारबाहीका लागि आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाएको छ।
चोरी तस्करी नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए। उनका अनुसार चोरी तस्करीलगायतका अवैध धन्दा नियन्त्रणलाई प्राथमिकतामा राखेर सीमा क्षेत्रमा निगरानी बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्