एमाले पाल्पाको समिक्षा बैठक : पार्टीलाई अझै एकढिक्का बनाएर अगाडि बढ्ने निष्कर्ष

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा ३ पुष २०७९, आईतवार
3 Min Read
Aa

पाल्पा, ३ पुस । नेकपा एमाले पाल्पाको समिक्षा बैठक आइतबार तानसेनमा सम्पन्न भएको छ ।

बैठकमा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका बारेमा समिक्षा भएको थियो । जिल्लाका दश वटै पालिका कमिटीका अध्यक्षले निर्वाचनमा एमालेका उम्मेदवारलाई प्राप्त भएका मत परिणामबारे रिपोर्टिङ गरेका थिए । साथै निर्वाचनका दिन भएका गतिविधिबारे जानकारी गराएका थिए ।

पार्टीका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले समग्र जिल्लाको चुनावी अवस्थाबारे जानकारी रिपोर्टिङ गर्नुभएको थियो । पाँच दलीय गठबन्धनसँग एक्लै भिड्दापनि पाल्पामा एमाले पहिलो पार्टी बन्न सफल भएको छ । यहाँका जनताले एमालेप्रति गरेको विश्वास, माया र भरोसालाई टुट्न नदिने उहाँले बताउनुभयो । पैसाले चुनाव जितिन्छ भन्ने भ्रमलाई यसपाली पाल्पाली जनताले चिरेका छन् । सत्ता र पैसाको आडमा निर्वाचन लडेका दलका उम्मेदवारलाई पराजित गरेर इमानदार, निष्ठावान एमालेका उम्मेदवारलाई विजयी गराएर यसको पुष्टि गरेको घिमिरेले दाबी गर्नुभयो । उहाँले आम मतदातालाई पार्टीको तर्फबाट धन्यवाद दिनुभयो ।

बैठकमा प्रमुख अतिथि नवनिर्वाचित संघीय सांसद तथा नेकपा एमाले पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरेले पाल्पाली जनताले आफूलाई दिएको अमूल्य मतको सम्मान हुने गरी काम गर्ने बताउनुभयो । उहाँले जिल्लाको विकासका लागि पार्टी, प्रदेश र स्थानीय तहसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो । तत्काल सिद्धबाबाको सडकको स्तरोन्नति गर्न पहल गर्नेछु । नेपाल सरकारबाट लागू भएको स्वास्थ्य बिमा कार्यक्रमलाई सूचारु गर्न पहल गरिरहेको गैरेले बताउनुभयो ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले नेता तथा कार्यकर्ताको अनुशासनले पार्टी मजवुत हुने बताउनुभयो । जितेको जनप्रतिनिधिले मात्रै नभई एमालेका संगठित कार्यकर्ताले जनताका हरेक समस्यामा सहयोग गर्नुपर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य सिर्जना काफ्लेले पार्टीले पछाडि परेका वर्ग, समुदाय, लिंग र क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । बैठकमा नवनिर्वाचित संघीय सांसद नारायण आचार्य, प्रदेश सांसद राजुप्रसाद श्रेष्ठ, खेमबहादुर सारुले आफूहरूलाई जिताउन भूमिका निवाृह गर्ने सबैलाई धन्यवाद दिंदै जनताको आवश्यकता र मागका आधारमा विकास निर्माणका काम गर्ने बताउभुयो । बैठकमा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य झपेन्द्र जिसी, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य ओमबहादुर घर्तिमगर, परशुराम भट्टराई लगायतले एमाले पार्टीलाई जनताप्रति थप लोकप्रिय बनाउने गरी जनताको हितमा काम गर्न सुझाव दिनुभयो ।

बैठकमा पार्टीको भावी योजनाको बारेमा छलफल भएको एमाले सचिव रामजी पोखरेलले बताउनुभयो । उहाँकाअनुसार नयाँ सदस्यता विस्तार तथा नवीकरण, मातहत कमिटीको बैठक तथा भेला आयोजना गर्ने, एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, तानसेनस्थित पार्टी कार्यालयमा निर्माणाधिन सभाहल जतिसक्दो छिटो निर्माण गर्ने र पाल्पाको समग्र विकासका लागि पार्टीले पहल गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीलाई अझै बलियो बनाउने गरी एक ढिक्का भएर अगाडि बढ्ने निष्कर्ष निकालेको छ । अवसरमा नवनिर्वाचित सांसदलाई अबिर, फूलमाला र प्रमाणपत्रले सम्मान गरिएको कार्यालय सचिव दीपक विश्वकर्माले बताउनुभयो ।

पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष देवीलाल लामिछानले स्वागत, सविच रामजी पोखरेलले सञ्चालन गर्नुभएको थियो । पार्टीका केन्द्रीय तथा प्रदेश कमिटीका नेता, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य र पालिका कमिटी अध्यक्ष बैठकमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्