गठबन्धन जोगाउन यसपटक प्रचण्डलाई प्रधानमन्त्री बनाऔं- अर्थमन्त्री जनार्दन शर्मा

खबर खुराक
खबर खुराक ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ। संसदीय दलको नेतामा चयन भएलगत्तै देउवालाई बधाइ दिन बालुवाटार पुगेका अर्थमन्त्री शर्माले सत्ता समीकरणका विषयमा पनि छलफल गरेका छन्।

यही गठबन्धनलाई जोगाउँदै नयाँ सरकार बनाउनुपर्ने अर्थमन्त्री शर्माले प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए। त्यसका लागि उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिले सरकारको नेतृत्व दिनुपर्ने आग्रह गरे।

‘आलोपालो गर्ने विषयमा तपाइँ र हाम्रोबीच राम्रो अन्डरस्ट्यानिङ छ। तपाइँले पहिलो कार्यकाल प्रधानमन्त्री बन्नुभयो। अब माओवादीलाई नेतृत्व सुम्पिनुस्। त्यसपछि फेरि तपाइँको पालो त छँदैछ,’ अर्थमन्त्री शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

संसदको दोस्रो ठूलो दल नेकपा एमालेले औपचारिकरूपमै प्रधानमन्त्रीको प्रस्ताव गरेपछि प्रचण्डले दूतका रूपमा शर्मालाई बालुवाटार पठाएका हुन्। प्रचण्डले देउवाको राय बुझ्न दूत पठाएको माओवादी नेताहरूको ठम्याइ छ।

‘माओवादी गठबन्धनलाई निरन्तरता दिन चाहन्छ। तर त्यससँगै पहिले सरकारको नेतृत्व पनि दाबी गर्छ,’ माओवादीका एक नेताले भने, ‘गठबन्धन बाहिर गएर पनि माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाइरहेको छ। तर हामी यही गठबन्धनमार्फत् सरकारको नेतृत्व गर्न चाहन्छौं।’

एमाले उपाध्यक्ष सुवास नेम्वाङले मंगलबार खुमलटार पुगेर प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए। माओवादी अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्री बन्ने ठूलो आकांक्षा राखेका छन्। उनले सार्वजनिक कार्यक्रमहरूमा पनि आफू देशको प्रधानमन्त्री बन्ने उद्घोष गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्