तानसेन नगरपालिकाले दियो सहकारीका पदाधिकारी र व्यवस्थापकलाई तालिम

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा ६ पुष २०७९, बुधबार
2 Min Read
Aa

पाल्पा, ६ पुस । तानसेन नगरपालिकाले तानसने नगरपालिकाले दियो सहकारीका पदाधिकारी र व्यवस्थापकलाई एकदिने तालिम दिएको छ ।

उनीहरूलाई सहकारी नियमन तथा व्यवस्थापनसम्बन्धि तालिम दिइएको हो । नगरपालिकाका निमित्त नगर प्रमुख यादवसिंह कार्कीले सहकारीले उत्पादनमुलक क्षेत्रममा लगानी गर्नुपर्ने बताउनुभयो । कृषि, पशुपालन क्षेत्रमा लगानी गरेर किसानलाई आत्मनिर्भर बनाउने गरी लगानी गर्नुपर्ने उहाँले बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले सहकारीको विगत, वर्तमान अवस्था र आगामी दिनमा कसरी अगाडि लैजाने भन्नेबारे सहजीकरण गर्नुभएको थियो । संख्यात्मक हिसाबले सहकारी बढी खोल्नु भन्दापनि स्थापना भएका सहकारीलाई गुणात्मक बनाउन उहाँले सुझाव दिनुभयो । सहकारीतर्फ जनताको आकर्षण बढेको छ । यसले एकआपसमा सहकार्य बढाउने हुँदा सदस्य केन्द्रित सहकारी बनाउनुपर्नेमा जोड दिनुभयो । सहकारी पुँजी धेरै हुनुभन्दा पनि सदस्यले थोरै ऋणले धेरै आम्दानी गर्नसक्ने बनाउने कुरा प्रभावकारी हुने ज्ञवालीले बताउनुभयो ।

सहकारी शाखा प्रमुख दुर्गा थापाले सहकारी नियमन, प्रवद्र्धन र व्यवस्थापनमा स्थानीय सरकार र सहकारीको भूमिकाबारे सहजीकरण गर्नुभएको थियो । कुनैपनि सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक समुन्नति हुने गरी सहकारीले लगानी गर्नुपर्ने बताउनुभयो । सहकारी वित्तीय नभई सशक्तिकरण संस्था भएकोले आर्थिक स्थित न्यून भएका तर व्यवसाय गर्न इच्छुकलाई प्राथमिकता दिएर काम गर्न थापाले सुझाउनुभयो ।

कार्यक्रममा आगन बहुदद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भीमलाल भट्टराई, बर्तुङ सहकारीका अध्यक्ष विधान श्रेष्ठ, नमुना सहकारीका अध्यक्ष नवीन थापा, तालिममा सहभागी मिलन विश्वकर्मा, नरमती सिंजाली लगायतले तालिम प्रभावकारी भएको बताउनुभयो ।

स्थानीय सरकार यहाँका सहकारीसँग सहकार्य गरेर अगाडि बढेको नगरपालिकाका आर्थिक प्रशासन प्रमुख कोशलराज घिमिरेले बताउनुभयो ।

तालिममा नगरपालिकाका आइटी अफिसर प्रकाश गैरेले आधुनिक प्रविधिबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्