काठमाडौं । नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुई निजी विमान कम्पनीले आज (बिहीबार) प्रदर्शन (डेमो) उडान गर्दैछन् ।
निजी क्षेत्रको हवाई संस्था यती एयरलाइन्स र बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान गर्ने भएका हुन् ।
नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय क्षेत्र पोखरामा आगामी जनवरी १ तारिखदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै आज प्रदर्शन उडान गर्न लागेको हो ।
यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे एटीआर–७२ विमानमार्फत प्रदर्शन उडान गर्न लागेको जानकारी दिए ।
यती एयरलाइन्सले चालक दलका सदस्यलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एयरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न लागेको प्रवक्ता बर्तौलाले बताए ।
यती र बुद्धका विमानले पोखरास्थित पुरानो विमानस्थलबाट उडान भरेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । बुद्ध एयरले भने दिउँसो २ बजे विमानस्थलमा प्रदर्शन उडान गर्ने छ ।
काठमाडौँबाट पोखराका लागि यतीले दैनिक सातवटा उडान गर्दै आएको छ भने अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नियमित उडानको संख्या गर्ने र पोखराबाट अन्य विमानस्थलमा क्षेत्रीय उडान गर्ने तयारी गरेको छ । यस्तै बुद्धले दैनिक १२ वटा भन्दा बढी उडान गर्दै आएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुई निजी विमान कम्पनीले आज डेमो उडान गर्दै

प्रतिक्रिया दिनुहोस्