सांसदहरुको शपथ ग्रहण हुँदै, त्यसअघि सर्वदलीय बैठक

खबर खुराक
खबर खुराक ७ पुष २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । जबरालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन् ।

शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ । त्यसपछि चियापानको कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

उक्त चियापानमा राष्ट्रिय सभाका सदस्यहरुलाई पनि निम्तो दिइएको छ ।

त्यसअघि ज्येष्ठ सदस्य जबराले सर्वदलीय बैठक बोलाएका छन् । संसद संचालनका लागि उनले सर्वदलीय बैठक बोलाएका हुन् । उनले दलका प्रतिनिधि र स्वतन्त्र सांसदलाई संसद शुरु हुनुअघि मध्यान्ह बैठकमा बोलाएका हुन् ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट २७५ जना निर्वाचित भएका छन् । जसमा प्रत्यक्षबाट १६५ तथा समानुपातिकबाट ११० जना निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेस सबैभन्दा बढी ८९ सिटसहित पहिलो दल बनेको छ । ७८ सिटसहित एमाले दोस्रो दल बनेको छ ।

आगामी आइतबारभित्र सरकार गठनका लागि दलहरुलाई दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेसँगै आजको शपथपछि दलहरु सरकार गठनका लागि घनिभूत छलफलमा लाग्नेछन् ।

शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्