साहित्य महोत्सवमा अर्थतन्त्रको चिन्ता

खबर खुराक
खबर खुराक १० पुष २०७९, आईतवार
4 Min Read
Aa

पोखरा : पोखरामा जारी साहित्य महोत्सवमा देशको अर्थतन्त्रको चिन्ता गरिएको छ। नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन, ‘भताभुङ्ग काम, लथालिङ्ग अर्थतन्त्र’ शीर्षकमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र अर्थविद डा. स्वर्णिम वाग्ले, डा. विमला राई पौडेलसँग निरञ्जन श्रेष्ठले संवाद गरेका हुन्

संवाद कार्यक्रममा बोल्दै पूर्वगभर्नर समेत रहेका डा. खतिवडाले देशको वर्तमान अवस्थाबारे बोल्दै जटिल समस्याको अवस्थामा रहेको तर ती समस्या हल गर्न सक्ने अवस्थामै आजको दिनसम्म रहेको बताएका छन्। उनले वर्तमान आर्थिक समस्याबाट पार लगाउन राजनीतिक नेतृत्वको इच्छाशक्ति, आर्थिक समस्या हल गर्ने प्राथमिकता, समस्या हल गर्ने क्षमता हुनुपर्नेमा जोड दिए। अहिलेको देशको समस्या भनेको उत्पादन रहेको उनले बताए। कृषि उत्पादन, ओद्योगिक उत्पादनको तथा सेवा क्षेत्रमा समस्या रहेको बताए। बाह्य क्षेत्रका समस्या त्यही उत्पादनसँग सम्बन्धित रहेको पनि उनले बताए। उत्पादनभन्दा ठूलो हिस्सा आयात गर्ने अवस्था हुनु नै देशको अर्थतन्त्रको मुख्य समस्या रहेको उनले सुनाए।

औद्योगिक कच्चा पदार्थ, विद्युतीय, मेसिनरी, सडक निर्माण, रेल, पर्यटकीय सेवाको सामान आयात हुने बताउँदै  त्यसो हुनाले उत्पादनको संरचना परिवर्तन गर्दै आयातमा आधारित उत्पादन प्रणालीलाई आन्तरिक कच्चा पदार्थ र स्रोतमा जानुपर्ने खतिवडाले बताए। त्यसो हुँदा उत्पादन र रोजगारी बढ्ने उनले सुनाए।

समष्टिगत अर्थतन्त्र व्यवस्थापन गर्नेहरूले एक ठाउँ बसेर सामञ्जस्यपूर्ण ढंगले चल्यो भने देशको समस्या केही महिनाभित्रै हल हुने उनले बताए। हामीले आत्तिएर व्यवसायलाई सन्त्रासमा पारेर व्यवसाय बिगार्ने मात्रै काम गरेको उनले बताए। मन्त्री, सांसद चाहे व्यवसायी होस्, स्वार्थ बाझिन्छ भने नीति निर्माण गर्ने ठाउँमा म बस्दिनँ है भन्नुपर्नेमा त्यसो नभएको उनले सुनाए।

अर्थविद् डा. स्वर्णिम वाग्लेले २०६२/०६३ पछि धेरै अनुशासनका सीमा भत्किएको बताएका छन्। योसँगै दण्डहीनता, जे गरे पनि हुन्छ भन्ने शासकीय अहंकार, राजनीतिक नेतृत्वमा र राजनीतिक नेतृत्वको संरक्षण पाएको कर्मचारीमा पनि मौलाएको आफूलाई  लागेको डा. वाग्लेले बताए। अविश्वासको वातावरण अन्त्य हुने गरी काम हुनेपर्नेमा उनले जोड दिए।

देशको अवस्था हेरेर विकास र समृद्धिका लागि न्यूनतम विषय समाएर अघि बढ्न सके नतिजा आउने उनले बताए। ‘६ महिना एक वर्ष गरेर हेरौँ। त्यसले आफैँ सुधारको क्रममा लैजान्छ’, उनले भने। सजिलो उत्तर नेताहरूलाई गाली गर्ने नै हो। तर, विश्लेषण गर्दा सबैले चिन्तन–मनन गर्नुपर्ने उनले बताए। योजनाको तयारी एकदमै कमजोर रहेको उनीहरूले बताएका छन्। उनीहरूले दातृ सहयोग पनि सदुपयोग गर्न नसकेको भनेका छन्।

निजी क्षेत्रले रोजगारी सिर्जना गर्ने, सम्भावना खोज्ने, अन्तर्राष्ट्रिय बजार खोज्ने, राज्यलाई कर बुझाउने रहेको उनले बताए। १० वटा नयाँ रोजगारीमा ८ वटा निजी क्षेत्रले नै गरेको उनले सुनाए। अहिले प्रतिव्यक्ति आयको हिसाबले १२ सय डलरमा नेपाल रहेको बताउँदै डा. वाग्लेले २०/३० वर्षमा धेरै सूचकांकमा प्रगति गरिएको बताए। हामी जस्तैजस्तै भएको देशको तुलनामा नेपाल धेरै पछाडि परेको पनि उनले सुनाए। त्यसको एउटै कारण कुशासन रहेको उनले बताए। अहिले थपिएको कुनियतसहितको कुशासन रहेको उनले सुनाए। योग्य नेता भएको देशमा स्वविवेकमा छोड्न सकिन्छ। तर, त्यस्तो स्तरको राजनेता नभएको देशमा नियमले नै कस्ने हो उनले भने।

राष्ट्रियसभा पूर्वसांसद डा. विमला राई पौडेलले सानो समूहको कुराले समाज, अर्थतन्त्र, राजनीतिलाई सामान्यकृत गर्न नहुने बताइन्। कर्मचारीले काम नगरे दण्डित गर्ने व्यवस्था हुनुपर्ने पनि उनले बताइन्। जुन नेतालाई गाली गर्‍यो त्यसैलाई जिताएर जनता पनि केही हदसम्म जवाफदेही नभएको पौडेलको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्