कोरियाद्वारा गाई उपहार, ४० लिटरसम्म दूध दिने

खबर खुराक
खबर खुराक १० पुष २०७९, आईतवार
2 Min Read
Aa

अशोक मैनाली/ सिउल : दक्षिण कोरियाबाट जीवित गाईले सिमाना नाघेर जाने घटना कम नै हुन्छ। त्यसमध्ये पनि हवाईजहाज चढेर जानु झनै दुर्लभ घटना हो। तर, जीवित गाईलाई हवाईजहाजमार्फत नेपाल पठाएर दक्षिण कोरियाले  पहिलो जनावर निर्यातको ‘रेकर्ड’ बनाएको छ।

एसियाना एयरको ए३५० नम्बरको जहाजमार्फत पहिलो चरणमा ४२ वटा गाई नेपाल पठाएको हो। ७० वर्षअघि युद्ध र भोकमरीले आक्रान्त दक्षिण कोरियाले हेफर इन्टरनेसनलबाट सहयोग पाएको थियो भने अहिले लिने राष्ट्रबाट दिने राष्ट्रमा पुगेको छ। इन्छन विमानस्थल पुगेका कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्री चुङ ह्वांग क्यूनले आफूले प्राप्त गरेको वस्तु फिर्ता दिँदा धेरै खुसी लागेको बताए।

उनले यो सहयोगले दक्षिण कोरियाको दुग्ध उद्योग कसरी सहायता लिने देशबाट दिने राष्ट्रमा पुगेको छ भनेर देखाएको पनि बताए। हेफर कोरियाका अध्यक्ष ली हेवन यो सहयोगले नेपालका बालबालिका र सम्बन्धित परिवारले पोषणयुक्त दूध पाउने अपेक्षा गरेको बताए।

हेफर कोरियाले नेपाललाई पठाउन लागेका १०१ उन्नत जातका गाईमध्ये ४२ वटा गाई नेपाल पुगेका छन्। यी उन्नत जातका गाईले दिनको ३२ देखि ४० लिटरसम्म दूध दिने यस अभियानमा जोडिएका पर्यटन व्यवसायी तथा पर्यटन दूत केपी सिटौलाले अन्नपूर्ण पोस्ट्लाई बताए। इन्छन विमानस्थलमा मन्त्री चुङ ह्वांग क्यून, राष्ट्रिय  कृषि सहकारी महासंघका अध्यक्ष ली सुंग ही, हेफर कोरियाका अध्यक्ष लीलगायतको उपस्थितिमा गाई नेपाल पठाइएको थियो।

सिटौलाका अनुसार पहिलो चरणमा ति गाईहरू सिन्धुलीस्थित ‘मोडल डेरी फर्म’ मा आवद्ध भएका किसानहरूलाई दिइने र यी गाईहरूबाट जन्मेको पहिलो बाछी र आवश्यक सीपहरू अर्को एक परिवारलाई दिनुपर्ने सर्त रहेको छ। अन्य बाँकी गाई र साँढे नेपालको  कृषि मन्त्रालयमार्फत वितरण हुने बताइएको छ। यी गाईहरूको मूल्य १७ करोडभन्दा बढी पर्ने बताइएको छ।

उन्नन जातका गाई उत्पादन गर्ने ५औं राष्ट्रमा पर्ने दक्षिण कोरियाले सन् १९५२ देखि सन् १९७६ सम्म अन्तराष्ट्रिय सहयोगको नौ सय गाईहरू समुद्र पार गर्दै दक्षिण कोरिया आइपुगेका थिए। अहिले दक्षिण कोरियाले दूध उत्पादनमा  डेनमार्क, जापान जस्ता देशहरूलाई पनि पछि पारेको छ। दक्षिण कोरियाका ८४ वर्षीय इजेबुकले अमेरिकाबाट २ वटा गाई ल्याई कृषि फर्म खोलेर एक हजारवटा पुर्‍याएका थिए।

दक्षिण कोरिया सरकारले गैरसरकारी संस्थालगायतलाई कम विकसित मुलुकहरूलाई सहयोगको लागि प्रोत्साहन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्