सनातनी राजनीतिको मृगतृष्णा र विकल्पको बहस

खबर खुराक
खबर खुराक १० पुष २०७९, आईतवार
9 Min Read
Aa

सनातनी राजनीतिका धर्मभीरुबाट फेरि नयाँ केही भइहाल्छ कि भन्ने मृगतृष्णाको कुनै अर्थ छैन । यस अर्थमा समयको गति र लय समाउन जुर्मुराएका वैकल्पिक राजनीतिका अगुवालाई साथ दिनुको विकल्प छैन ।

सन् १९४० को दशकमा भएको विश्वयुद्धको विध्वंसले विश्व समाजमा धेरै खाले उथलपुथल ल्यायो । औद्योगिक विकासको जगमा उत्कर्षमा पुगेको विविधताको विघटन र सामाजिक विभेद अहिले बाँडिएको विकाससँगै झनै मौलाएको छ ।

औद्योगिक विकासका नाममा विज्ञानको दुरुपयोगले प्रकृति विघटनका शृंखलाबद्ध घटना भइरहेका छन् । प्रकृति निरन्तर विघटन भइरहेको छ । परिणामतः यस्तो विकासे हठले जैविक जीवन नै संकटोन्मुख हुँदै गएको छ ।

जलवायुमा आएको परिवर्तन सँगै प्रकृतिको सन्तुलनमा भएका गडबडी सतहमा देखिएका छन् । कोभिड–१९ यसको सबैभन्दा पछिल्लो उदाहरण बनेर हामीसँगै छ । कृत्रिम रसायन र विषादीले पानी र हावा प्रदूषित भएको छ । यो सँगै जीवन्त माटो तहसनहस हुँदै यसमा आश्रित जैविक जीवन आफ्नै अन्त्येष्टिको तयारी गर्ने यात्रामा छ । जैविक विविधताको ह्रास र नसर्ने दीर्घ रोगको त्रास कहालीलाग्दो छ । स्वच्छ खाना, पानी र सास फेर्ने हावा पाउन मुश्किल भएको छ ।

त्यसैगरी कृत्रिमतामा आधारित प्रविधि नयाँ युगमा प्रवेश गरेको छ । कृत्रिमताको जोडघटाउमा सरदर ज्ञान अब्बल साबित भएको छ । यसैका वरिपरि मात्र जीवनको अर्थ खोज्ने कृत्रिम मानिसको जमात बढेको बढेकै छ । प्रकृति र प्रविधि विघटनको यो सोचलाई हाम्रो प्रवृत्तिले मलजल गरेर झनै उर्वर बनाएको छ । अहिले सबैतिर भौतिकी मात्र विकासको पर्यायवाची भएको छ ।

यसले मूल्यहीन यान्त्रिकता मात्र हैन यसमै भविष्य देख्ने विवेकशून्य जमात थपेको छ । मानवीय मूल्यमान्यता व्यक्तिवादमा विघटन भएको छ । समाज निरन्तर बजार, व्यापार र पैसामुखी हुँदै भएको छ । साटासाटको माध्यम पैसा गोजीबाट दिमागमा सरेको छ । यसमा मलजल गर्न अहिले साँठगाँठ अर्थतन्त्र शीर्ष स्थानमा विराजमान छ । सामूहिकता र सहकार्यको मानवीय मर्म बिचौलियाको शक्ति र धन आर्जनको चाखमा सीमित भएको छ ।

अहिले विवेकलाई ज्ञानको बाढी र ज्ञानलाई सूचनाको बाढीले बगाउँदै हाम्रा मूल्यमान्यताका पहाडहरूमा निरन्तर क्षयीकरण भइरहेको छ । यसले विवेक भन्दा तर्कमा आधारित विघटनकारी ज्ञानले (कु)तर्क गर्न सक्ने मात्र ज्ञानी अरू केही नजान्ने स्वाँठ भन्ने सामाजिक मनोविज्ञान बढेको छ ।

यस्तो ज्ञान र विवेकको खडेरी र मरुभूमिकरणले देखासिकी गर्दै टाउको मात्र हल्लाउने र हाँगा हल्लाएर पात झारेकोमा गर्व गर्ने चामत्कारिक राजनीतिक नेतृत्वको पुनरुत्पादन गरिरहेको छ । यस्तो प्रलयकारी यात्रामा अन्धभक्त भएर दगुरिरहेको सनातनी राजनीतिको मुर्कुट्टा मतिमा प्रश्न गर्नुको साटो यसैमा लय मिलाउने बिचौलिया जमात बढेसँगै हाम्रो उन्नतिको आस र भरोसामा समेत तुषारापात भएको छ ।

तर विश्व समाज र प्रकृतिको गतिशीलतासँगै प्रकृति, प्रविधि र प्रवृत्तिमा आएको यस्तो फेरबदलले संकट मात्र थपेको छैन अहिलेका संकट सम्बोधन गर्ने राजनीतिको उपयुक्त ढाँचा बनाउन सके सम्भावनाको ढोका समेत सँगै खोल्दै गएको छ ।

मुख्यतः ज्ञानको सीमा निकै फराकिलो भएको छ । विगतका ज्ञान–विज्ञानको सीमा निरन्तर भत्किंदै, बन्दै गर्ने क्रममा छन् । अणु, परमाणुको भौतिक विज्ञान तरंग विज्ञानले विस्थापित गरेको छ । गति बारे फेरिएको मतिले समयलाई छोट्याउँदै लगेको छ ।

अहिले आज जे सिकियो त्यो जीवनभर पर्याप्त हुन्छ भन्ने परम्परागत सोच अब धेरै पुरानो भएको छ । त्यति मात्र हैन यसको उपयोगिताको त कुरै छोडौं कति छिट्टै यसको सान्दर्भिकता सकिन्छ भन्ने आकलन गर्न समेत नभ्याइने अवस्था छ । योसँगै, यी सबैले निम्तिएको मानवीय संकटलाई फर्केर हेर्ने र फेर्ने अठोट र आन्दोलन पनि जागृत हुँदैछन् ।

यो जागरणमा ऊर्जा नथपी हाम्रो भविष्य सप्रिंदैन । यसलाई समयमै फर्केर हेर्न र सच्याउन नलाग्ने हो भने प्रकृतिसँगै मानवीय सभ्यता र संस्कृति निरन्तर क्षयीकरण भैरहनेछ । तसर्थ अबको राजनीतिक आन्दोलनले समग्रमा यी प्रवृत्तिलाई जगैदेखि बढार्ने हैसियत भएको संक्रमणकालीन नेतृत्व जन्माउन सक्ने हुनुपर्छ ।

सचेतता र सावधानीपूर्वक यस्तो नेतृत्व र आन्दोलनको बलमा नयाँ राजनीतिक जग बनाउन नसक्ने हो भने नेपाली राजनीतिको संक्रमणकालीन यात्रा अझै लामो मात्र हुनेछैन झनै कष्टकर समेत हुनेछ ।

यस्तो अवस्थामा सनातनी राजनीतिका धर्मभीरुबाट फेरि नयाँ केही भइहाल्छ कि भन्ने मृगतृष्णाको कुनै अर्थ छैन । यस अर्थमा समयको गति र लय समाउन जुर्मुराएका वैकल्पिक राजनीतिका अगुवालाई साथ दिनुको विकल्प छैन । यिनलाई सघाएर मात्र हाम्रो भविष्य राम्रो बनाउन सकिन्छ ।

मक्किएका पार्टी, मुर्कुट्टा रजौटा र तिनैको सिको गर्ने रैतीबाट उन्नतिको बाटो समाउन सकिंदैन । त्यसैले जति नै ढिलो भए पनि अहिलेको राजनीतिको मूल ढाँचा र मूल्यमान्यता फेर्ने अठोट विना नेपाली समाजको उन्नतितर्फको यात्रा सम्भव छैन भन्ने बुझ्नु र बुझाउनु अहिलेको पहिलो आवश्यकता हो ।

यस अर्थमा, हाम्रा भावी सन्ततिलाई उन्नत प्रकृति र मानव समाज जिम्मा लगाउन अहिलेको राजनीतिक दृष्टिकोण, संयन्त्र र अभ्यासबाट सम्भव छैन । त्यसैले राजनीतिका यी मूल आयाममा गम्भीर राजनीतिक संवादको खाँचो छ । यसले मात्र भविष्य सम्हाल्न सक्ने राजनीतिको दिशाबोध गर्छ ।

यस्तो राजनीतिक पुनर्जागरणको दृष्टिकोण, संयन्त्र र अभ्यास कस्तो होला ? यसलाई के भनेर बुझ्ने बुझाउने होला ? यस्तो यात्राको संक्रमण कसरी होला ? सबैको स्वाभाविक कौतूहल छ । सँगै, अब हामी कसैलाई पनि पुरानै गल्ती दोहोर्‍याउने र अलमल गर्ने छुट छैन । यो कुरा अहिले मूल प्रवाहमा रहेका सबैभन्दा कान्छा र ठूलाकान्छा पार्टीहरू या अब बन्न नक्शा कोर्दै गरिएका सनातनी भावी पार्टीका भ्रूणहरूले समेत हेक्का राखे हुन्छ ।

त्यसो भए के त ? यसका बारेमा केही चर्चा गरौं ।

अबको समाजको नेतृत्व औद्योगिक विकासको जगमा भासिएर निरन्तर पलायन हुँदै गएको मानव मात्र केन्द्रित विकासको साँघुरो घेरा भन्दा माथि उठेको हुनुपर्नेछ । सारमा, यो मूल रूपमा प्राकृतिक प्रणालीमा भएको स्व–अस्तित्व र परस्पर निर्भरताको मूल सिद्धान्तमा आधारित हुनुपर्नेछ ।

यी दुईको सन्तुलित दृष्टिकोण विना गरिने राजनीतिक यात्रा फेरिएको प्रविधि, प्रवृत्ति र प्रकृतिको सन्दर्भमा अब व्यावहारिक हुँदैन । खासगरी, मानव समाजको सामाजिक संगठनको मूल ढाँचा राजनीतिलाई प्रकृतिको सह–अस्तित्व र एकआपसको सहकार्यको नियमसम्मत बनाउँदै लैजाने दूरदृष्टिले मात्र अग्रगामी मानवीय मूल्य–मान्यतामा आधारित समतामूलक र दिगो मानव समाजको निर्माण सम्भव हुन्छ ।

अबको राजनीतिको ढाँचामा राजनीतिक शक्तिको स्रोत आम मानिसमा निहित हुने र यसको आर्जन आपसी अन्तरसम्बन्धको जालोबाट विस्तारित हुने प्रकृतिको व्यवहारसम्मत हुनुपर्नेछ भने यसका मूल्यमान्यता मानवको मात्र हितमा केन्द्रित साँघुरो घेराबाट हैन मानव संस्कृति, सामाजिक व्यवहार र दिगो प्रकृतिको सन्तुलित मापदण्डबाट निर्धारित हुनुपर्नेछ । अबको प्रगतिशील मानव समाज मानवको आफ्नै सृजनशीलताको उपज ज्ञान, सीप र प्रविधिलाई मानिस, समग्र प्रकृति र यसको अन्तरसम्बन्ध प्रवद्र्धन गर्ने मान्यताको जगमा चलायमान हुनेछ ।

मुख्यतः हामीले अहिलेको जस्तो यान्त्रिकता, कृत्रिम बौद्धिकता र प्रविधि नियन्त्रित तहगत र व्यक्तिकेन्द्रित दृृष्टिकोण भन्दा माथि उठेर जैविक सोच, मानवीय बुद्धिमत्ता र प्राकृतिक जालोको मर्मतर्फ फर्किने दृष्टिकोण बनाएर मात्र मानव समाज उन्नत बनाउन सकिन्छ भन्ने कुरा आत्मसात् गरिएको लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित हुनुपर्नेछ । यस अर्थमा समावेशी लोकतन्त्र, न्यायपूर्ण र समतामूलक समाजको जग बसाल्ने यस्तो दृष्टिकोणलाई प्रगतिशील वामपन्थ भन्न सकिन्छ ।

यसरी हेर्दा, अबको राजनीति आधारभूत रूपमा तीन वटा मान्यताबाट निर्दिष्ट भएर अघि बढाउन सकिन्छ । पहिलो— यसले म, हामी र प्रकृतिको सन्तुलित र समान अस्तित्व स्वीकार गरेको हुनुपर्नेछ । दोस्रो— राजकाजको राजनीति मानव–मानव र प्रकृति–मानव अन्तरसम्बन्धको अन्तर्य र मर्मका आधारमा संगठित गर्नुपर्नेछ । र तेस्रो— प्रकृतिको नियमबाट सिकेर मानव समाजलाई निरन्तर गतिशील जालोको रूपमा उन्नत बनाउनुपर्नेछ ।

यसतर्फको यात्राका पाइला चाल्न सक्षम बनाउन भने आज र अहिले भुईं टेकेर मात्र सुरु हुन्छ । यसका लागि भर्‍याङका खुट्किला झर्दा वा उक्लिंदा जस्तै संक्रमणकालीन अवतरणको तत्कालीन सोच चाहिन्छ । आफ्नै आँगनमा घामको उज्यालो ल्याउन विशाल पहाड खन्ने मूर्ख बाको दूरदृष्टि, दृढता र लगाव चाहिन्छ ।

युवाहरुको ऊर्जा र भुईंमान्छेको विवेक चाहिन्छ । यी सबैमा विवेकपूर्ण विद्रोहको राँको बाल्न अभियन्ताको तेल, दियो र झिल्को बन्ने उत्प्रेरणा चाहिन्छ । त्यसैले त अब भविष्यका सन्ततिको सपना साक्षी राखेर वैकल्पिक आन्दोलनको ढाँचा चाहिन्छ । यो सबै विचार गर्न सके मात्र भविष्यको राजनीतिले दिशाबोध गर्नेछ ।

अनलाइन खबरबाट……..

प्रतिक्रिया दिनुहोस्