नेपाल टी–२० : फारवेस्टको पहिलो जित

खबर खुराक
खबर खुराक ११ पुष २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं । नेपाल टी–२० लिगमा फारवेस्ट युनाइटेडले पहिलो जित निकालेको छ । लिगमा सोमबार भएको पहिलो खेलमा फारवेस्टले काठमाडौं नाइट्सविरुद्ध चार विकेटको जित निकालेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले प्रस्तुत गरेको ९९ रनको सामान्य लक्ष्य फारवेस्टले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

फारवेस्टको जितमा कप्तान हस्मतुल्लाह साहिदीले ५० रन बनाए । उनले ४९ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । यस्तै, ओपनर देव खनालले १७ र भीम सार्कीले ११ रन जोडे ।

काठमाडौंका अनिल खरेलले दुई विकेट लिए । चार ओभरमा एक मेडनसहित १० रन खर्चिएर बलिङमा निकै किफायती बने पनि अनिलले टिमको हार टार्न भने सकेनन् ।

यसबाहेक, अज्मतुल्लाह ओमरजाई, र्यान बर्ल, बसिर अहमेद र अभिनाश बोहराले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको काठमाडौंले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९८ रनको योगफल खडा गरेको थियो ।

काठमाडौंका अलेक्स ब्लेकले ४५ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले १३ र सन्तोष कार्कीले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।

काठमाडांैलाई कम योगफलमै रोक्न फार वेस्टका उमैर अलिले तीन विकेट लिए । हस्मतुल्लाह साहिदी र भुवन कार्कीले समान दुई विकेट लिँदा शेर मल्लले एक विकेट लिए ।

लिगमा पहिलो जित निकालेको दुई अंकसहित चौथो स्थानमा उक्लिएको छ । यस्तै, पहिलो हार बेहोरेको काठमाडौं तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्