चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन चैतभित्र सञ्चालनमा ल्याउने

खबर खुराक
खबर खुराक ११ पुष २०७९, सोमबार
3 Min Read
Aa

काठमाडौं । चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण ७० प्रतिशत सकिएको छ । प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण आगामी चैतभित्र सक्ने गरी धमाधम काम भइरहेको छ ।

आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको क्रमश : चिलिमे हव र त्रिशुली थ्री बी हब सबस्टेसन निर्माणाधिन छन् । साथै, रसुवाको चिलिमे –त्रिशुली थ्री बी हब २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ ।

दुवै सबस्टेसनहरु सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएसलगायतका महत्वपूर्ण उपकरणहरु आयोजना स्थलमा ल्याइसकिएको छ । यता प्रसारण लाइनका टावर, कन्डक्टरलगायतका सम्पूर्ण उपकरणहरु निर्माण स्थलमा आपूर्ति भइसकेको छ ।

कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७९ वटा टावरहरुमध्ये ४३ वटाको जग हालिएको छ । १४ वटा टावरहरुको जग हाल्ने काम भइरहेको छ । २५ वटा टावर खडा गरिएको छ । चिलिमे –त्रिशूली थ्री बी हब प्रसारण लाइन अन्तर्गत  चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट निर्माण गर्ने छ ।

२७ वटा मल्टी सर्किट टावरमध्ये १० वटाको जग हालिएको छ । दुई वटा खडा गरिएको र ७ ठाउँमा जग हाल्ने काम भइरहेको छ । प्रसारण लाइन अन्तर्गत रसुवाको तिरु डाँडामा रहने एउटा टावरबाट खड्गू डाँडासम्म रहने अर्को टावरसम्म मैलुङ खोला माथि एक हजार दुई सय ३४ मिटर लामो दूरीमा लाइन तान्नु पर्नेछ ।

कोरियन कम्पनीहरुको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम व्यहोर्र्ने छन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन सबस्टेसन तथा प्रसारण लाइनको स्थलगत अनुगमन गर्दै एउटा टावरलाई आयोजना बनाएर काम गर्न निर्देशन दिएका छनन् । “यसै प्रसारण लाइनमा जोडिने तीन वटा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन्, चैत भित्रमा ती आयोजनाहरुको निर्माण सकिने हुँदा त्यसभन्दा अगाडि नै सबस्टेसन तथा प्रसारण लाइन निर्माण गरिसक्नु पर्ने चाप छ” उनले भने ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।

आयोजनाको अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहने अनुमान छ । जसमा नेपाल सरकार तथा प्राधिकरणको लगानी र जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्