बुटवल पुष १२। निर्वाचनमा पराजय बोहोर्नु परेपछि कांग्रेस नेता अभिषेक प्रताप शाहले कपिलवस्तु कांग्रेस सभापति बिरुद्ध पार्टी केन्द्रमा उजुरी गरेका छन्।
गएको मंसिर ४ मा सम्पन्न निर्वाचनमा कपिलवस्तु क्षेत्र नं ३ बाट तत्कालिन सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उठेर पराजित भएका शाहले जिल्ला सभापति अब्दुल कलामले आफुलाई षडयन्त्र गरेर हराएको भन्दै उनको साधारण सदस्य नरहने गरी कारबाही गर्न माग गरेका छन्।
सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै शाहले जिल्ला सभापति जिल्ला उपसभापति हुमकान्त खनाल, जिल्ला सचिव प्रेमबहादुर रायमाझी, क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, जिल्ला प्रवक्ता ईश्वरी पाण्डे, जिल्ला सदस्य हरिप्रसाद पोखरेल सहित १२ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न माग गरिएको छ।
०६४ देखि लगातार चुनाव जित्दै आएका शाह ५ दलीय गठबन्धनको साथ पाएर पनि हारेपछि दलकै नेताहरूको असहयोगले चुनाव जित्न नसकेको बताउँदै आएका छन्। निर्वाचनपछि कांग्रेस कपिलवस्तुमा एक पक्षले अर्को पक्षलाई आरोप लगाएर भाँडभैलो मच्चिएको छ।
यसअघि क्षेत्रीय समितिले उनै शाहलाई कारबाहीका लागि सिफारिस गरेपछि कपिलबस्तु कांग्रेस झमेलामा फस्दै आएको छ।
कांग्रेस क्षेत्र नं. ३ को क्षेत्रीय कार्यसमितिले शाह र कृष्ण नगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न जिल्ला, प्रदेश र केन्द्रीय समितिलाई सिफारिस गरेको छ।
यो क्षेत्रमा अहिलेसम्म एमालेले जित्न नसकेकोमा अहिले बलियो गठबन्धन हुँदा पनि पार्टीभित्रको विवादले गुमाउनु परेको कांग्रेस नेताहरू बताउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस्