कास्की । पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ का धनबहादुर पुनले आफ्नै व्यवसाय चलाएका छन् । छयालिस वर्षीय उनले गाउँमै कोइला उद्योग चलाएका हुन् । लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै लगानी गरेर पुनले मनग्य आम्दानी गर्न सफल भएका हुन् ।
कोरियामा सिकेको सीपलाई आधुनिक प्रविधि र साधन स्रोत प्रयोग गरी व्यावसायिक रुपमा उद्योग स्थापना गरिएको उनले बताए । “कोरियामा पनि कोइला उद्योगमै काम गरेको हुँ, विगत चार वर्षदेखि उद्योग स्थापना गरी कोइला पोल्न थालेको छु,” पुनले भने ।
विसं २०७५ मा सुरु गरिएको अन्नपूर्ण कोइला उद्योगबाट लगानी उठाउने बेला कोरोनाले बिथोलेर भनेजस्तो व्यापार हुन सकेको थिएन । “जग्गा मेरै थियो त्यही दुईवटा भट्टी बनाएर काम सुरु गरेँ,” उनले भने, “बिस्तारै राम्रो हुँदै थियो त्यही बेला कोरोनाले समस्या बनायो ।”
गत वैशाखदेखि भने पुनको व्यवसायले गति लिन थालेको छ । कोरोनाकालमा पनि हरेस नखाई काम गरेको परिणाम अहिले देखिन थालेको उनले बताए । “कोरोना सुरु भएपछि व्यापार नै भएन । अब लगानी डुब्ने भयो भन्ने चिन्ता पनि लाग्यो,” पुनले भने, “तर हिम्मत हारिन काम गर्दै गए सफल हुन्छु भन्ने थियो । गत वैशाखदेखि भने राम्रै भएको छ ।”
प्रतिक्रिया दिनुहोस्