अन्तर्राष्ट्रिय रंगमञ्च महोत्सवले के सन्देश दियो ?

खबर खुराक
खबर खुराक १२ पुष २०७९, मंगलवार
19 Min Read
Aa

दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय रंगमञ्च महोत्सव’को उद्घाटन समारोहमा भारतीय अभिनेत्री शबाना आजमीले भनिन्, ‘मलाई मन्डला थियटरको सबैभन्दा राम्रो काम यो लाग्यो कि रंगमञ्चकै व्यक्ति एकजुट भई यति सुन्दर नाटकघर बनाएका छन् । यसका लागि धेरै धेरै बधाई ।’

सन् २००९ मा सुरु भएको मन्डला थियटरले काठमाडौंको अनामनगरमा १० वर्ष नाटकघर चलायो । त्यहाँको दशवर्षे सम्झौता सकिएसँगै कोरोनाकालमा मन्डला थियटरका सदस्य मिलेर थापागाउँमा नाटकघर निर्माण गरे । १० वर्षका लागि जग्गा भाडामा लिएर यो नाटकघर बनाइएको हो । यही नयाँ नाटकघरमा मन्डलाले दोस्रो महोत्सव सम्पन्न गर्‍यो ।

करिब सात वर्षअघिको कुराकानीमा अभिनेता दयाहाङ राईले भनेका थिए, ‘यस (अनामनगरको) नाटकघर बनाउन हामीले आ–आफैँ पैसा उठाउँदै थियौँ । मैले साथी र आफन्तसँग सरसापट गरेँ । केही पैसा पुगेको थिएन । म पैसाको अभावले छटपटिएका बेला श्रीमती (बेनुका राई)ले मलाई भनिन्– मेरा गहना धितो राखौँ ।’

मन्डलाले सन् २०१९ देखि अन्तर्राष्ट्रिय रंगमञ्च महोत्सव गर्न थालेको हो, दुई–दुई वर्षमा गर्ने भनिएको महोत्सव कोरोना महामारीका कारण एक वर्ष ढिला हुन पुग्यो । यसपालि नौ दिन (पुस ९–१७)सम्म चलेको महोत्सवका दौरानमा १२ वटा विदेशीसहित १७ वटा नाटक मञ्चन भए । पाँचवटा प्यानल डिस्कसन, ६ वटा वर्कसप चले । कलासँग जोडिएका अन्य धेरै प्रदर्शनी भए । विशेष अतिथि शबाना आजमीको ‘मास्टरक्लास’ यसपालि महोत्सवमा आकर्षणको केन्द्र रह्यो ।

शुक्रबार दयाहाङलाई मैले सोधेँ, महोत्सवले के सन्देश दियो ? ‘महोत्सवले हामीलाई सकारात्मक ऊर्जा प्र​दान गरेको छ,’ उनले भने, ‘महोत्सवमा सहभागी देश–विदेशका नाट्यकर्मीको भनाइ नै यो थियो कि यस्तो काम पनि सम्भव हुँदो रहेछ । एउटा साधारण संस्थाको कामलाई उहाँहरूले प्रशंसा गर्नुभयो ।’

महोत्सवको समापन समारोहमा महोत्सव निर्देशक सिर्जना सुब्बाले भनेकी थिइन्, ‘यो नाट्य महोत्सवले खासमा के दियो वा यसले के गर्‍यो भन्ने छलफल र समीक्षा आगामी दिनमा पनि गर्दै गरौँला । यसका सफलतालाई ग्रहण गर्दै र कमी–कमजोरीलाई आगामी दिनमा सुधार्दै जानेछौँ । महोत्सवका नाटक, छलफल अनि मास्टरक्लासले सिकाएका वा उठाएका कुरालाई यहाँ मात्र नछोडी नेपाली रंगमञ्च र नेपाली समाजमा अगाडि बढाउनुपर्नेछ । मलाई आशा छ, यहाँ उपस्थित हामी सबै त्यसका लागि तयार छौँ ।’

शुक्रबारको भेटमा अभिनेता दयाहाङले भने, ‘भर्खरै सम्पन्न रंगमञ्च महोत्सवको अर्थ, उद्देश्य र प्रभावका बारेमा स्वयंं हामी रंगकर्मीले समीक्षा गर्नुपर्छ र मिडियाले यसको समीक्षा गरिदिए अझ राम्रो हुने थियो ।’

महिला नेतृत्व

महोत्सव उद्घाटन समारोहमा कलाकार तथा उद्घोषिका लुनिभा तुलाधरले एउटा खेल खेलाउँदै सबै वर्गको सहभागिता जाँच्ने प्रयत्न गरेकी थिइन् । उनले सबैभन्दा पहिले भनिन्, ‘यहाँ उपस्थितमध्ये आफूलाई म महिला हुँ भनी चिनाउनेले हात उठाउनुहोला ।’ हात उठाएकालाई उनले गन्दै गइन् र भनिन्, ‘लगभग २० जना रहेछौँ ।’

यसपालिको महोत्सव टिममा पुरुषकै दबदबा थियो । स्वयंसेवकसहित ७४ जनाको टिममा १८ महिला थिए । यद्यपि महोत्सवको नेतृत्व दुई महिला (महोत्सव निर्देशक ः सिजना सुब्बा र महोत्सव संयोजक ः विजया कार्की)ले गरेका थिए । महोत्सवको आकर्षणको केन्द्र तथा विशेष अतिथि समेत शबाना रहँदा कार्यक्रम महिलामैत्री नै लाग्थ्यो ।

हिजो समाजमा रंगमञ्च, नाचगान आदि कर्मलाई राम्रो रूपमा लिइँदैनथ्यो । नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ले महिला संघको आग्रहमा २०१३ सालमा नाटक ‘भुसको आगो’ लेखेका थिए । प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘गोठाले’ विशेषांक ‘समकालीन साहित्य–६३’मा लेखिएको छ, ‘पुरुष अभिनेतालाई स्थान दिनु महिला संघको नीतिविरुद्ध हुन जाने हुँदा उक्त संघको आग्रहमा आफूले सुनेको घटनालाई लोग्नेमान्छेको प्रवेश नहुने ठाउँ हेरविचार गरी नारी पात्रलाई मात्र लिएर उनले यो नाटक लेख्नुपरेको बुझिन्छ ।’ यो नाटक लेखिँदाको बखत स्त्रीलाई पुरुषसँग नाटक खेल्ने सामाजिक स्वतन्त्रता थिएन ।

आज व्यवस्था बदलिएको छ, यद्यपि कला क्षेत्रमा प्रवेश गर्न र संघर्ष गर्न महिलाले केही साना वा ठूला घेरा तोड्नैपर्छ । यो अवस्थामा महिला रंगकर्मीको नेतृत्वमा यसपालिको महोत्सव हुनु आफैँमा ठूलो सन्देश हो ।

महोत्सवमा निर्देशक रहेकी सिर्जनाले अहिलेसम्म एक दर्जनभन्दा बढी फिल्म, एउटा नाटकको निर्देशन र ४०–४५ वटा नाटकमा अभिनय गरेकी छन् । नेपाली चलचित्र ‘छड्के २’मा भर्खरै काम सकेर यतिखेर उनी मिलन चाम्सको निर्देशन रहने फिल्म ‘एन्जिला’मा अभिनय गर्ने तयारीमा छन् । यो फिल्म नेपाली फुटबल खेलाडी एन्जिला तुम्बाप्पोको जीवनीबाट प्रभावित हुने बताइएको छ ।

चार वर्षअघि विवाह गरेकी सिर्जनालाई यतिखेर तीन वर्षको छोरा हुर्काउने जिम्मेवारी छ । गर्भवती भएकै बेला (२०७६ भदौमा) उनले अनुप बराल निर्देशित नाटक ‘महाभोज’मा अभिनय गरेकी थिइन् । भर्खरै आफ्नो नेतृत्वमा महोत्सव सम्पन्न भएकामा उनी दंग छिन् । ‘हामी धेरै खुसी छौँ, हामीले यत्रो महोत्सव सम्पन्न गर्‍यौँ । कला क्षेत्रमा जति यस्ता गतिविधि वा चहलपहल हुन्छन्, त्यति नै समाजमा कला क्षेत्रको सम्मान बढ्छ । समाजले कलाको महत्त्व र महिमालाई बुझ्न थाल्छ,’ उनी भन्छिन्, ‘एउटा मान्छेले नराम्रै बोलेको होस्, उसलाई हेरियो र सुनियो भने कुनै न कुनै शिक्षा पाइन्छ । यत्रो नाटकको मेला लाग्यो । देश–विदेशका नाटक देखाइँदा निश्चय नै त्यसले एउटा माहोल बनाएको छ, रंगमञ्चको महत्त्व बढेको छ । रंगमञ्चमा काम गर्नेलाई ऊर्जा मिलेको छ ।’

यसपालि महोत्सव संयोजक रहेकी विजया कार्कीले अहिलेसम्म ३० भन्दा बढी नाटकमा काम गरेकी छन् । उनी निर्देशित नाटक ‘क्लेशाः’ पोहोर साल भारतको ‘नेसनल स्कुल अफ ड्रामा’ले आयोजना गर्ने महोत्सवमा मञ्चनका लागि छानिएको थियो । ‘व्यक्तिगत रूपमा मलाई यस महोत्सवले ठूलो ऊर्जा दियो । महोत्सवमा मैले धेरैभन्दा धेरै नाटक हेरेँ । सेलेक्सनका बेला पनि हेरेकी थिएँ, तर लाइभ हेर्न पाउँदा धेरै मसिनो कुरा जान्ने अवसर मिल्यो,’ विजया भन्छिन्, ‘विदेशी कलाकारसँग व्यक्तिगत रूपमै अन्तरक्रिया गर्ने मौका पाएँ । उनीहरूकहाँ नाटक संस्कृति कस्तो छ, उता नाटकमा के कस्ता काम भइरहेका छन्, त्यो जान्ने मौका पाएँ । कम्तीमा मैले नाटकका विभिन्न फर्म (रूप) हेर्ने अवसर पाएँ । यस महोत्सवमा मैले अन्तर्राष्ट्रिय साथीहरू पनि बनाएँ ।’

व्यावसायिकता र सामाजिक दायित्व

हामीकहाँ अन्तर्राष्ट्रिय रंगमञ्च महोत्सवको आरम्भ र अभ्यास भने सन् २००८ मा वरिष्ठ रंगकर्मी सुनील पोखरेल नेतृत्वको आरोहण गुरुकुलले गरेको थियो । उसले दुई–दुई वर्षमा गर्ने ‘काठमाडौं इन्टरनेसनल थियटर फेस्टिभल’को तेस्रो संस्करण सन् २०१२ मा अनामनगरस्थित मन्डला थियटरमै भयो, मन्डला थियटरसँगको सहकार्यमा ।

वरिष्ठ रंगकर्मी पोखरेल पछि कुनै बेला काठमान्डु फेस्टिभललाई पुनः अगाडि बढाउने बताउँछन् । आइतबार पोखरेलले टेलिफोनमा भने, ‘तत्काल काठमाडौं फेस्टिभललाई अगाडि बढाउने सोच छैन, किनभने पैसा छैन । यस्ता फेस्टिभलले संसारमा के काम भइरहेको छ र हामीकहाँ छौँ भन्ने थाहा हुन्छ । यसले सम्बन्धहरू बन्छन् । आदान–प्रदानका ढोकाहरू खुल्छन् ।’

सन् २०१९ मा मन्डला थियटरको नेतृत्वमा विभिन्न नाट्य समूहको सहकार्यमा ‘नेपाल इन्टरनेसनल थियटर फेस्टिभल’ सम्पन्न भयो । दुई–दुई वर्षमा गर्ने भनिएको महोत्सव अघिल्लो वर्ष कोरोना महामारीका कारण रोकिएको थियो । यसपालि ‘सामाजिक रूपान्तरणका लागि रंगमञ्च ः विविधताको उत्सव’ नारासहित दोस्रो महोत्सव सम्पन्न हुँदा दुई प्रश्न मुखरमा देखिए– नाटकलाई व्यावसायिक बनाउनुपर्ने र सामाजिक दायित्व वहन गर्नुपर्ने । वरिष्ठ रंगकर्मी पोखरेल नेपाली रंगमञ्चले व्यावसायिकता र सामाजिक दायित्व दुवैतर्फ बल गर्नुपर्नेे बताउँछन् । ‘हामी व्यावसायिक पनि बन्नुपर्नेछ र सामाजिक दायित्व पनि निभाउनुपर्नेछ,’ सुनील भन्छन्, ‘अहिले हामी यी दुवै बाटोमा अगाडि बढिरहेका छौँ । सकारात्मक अवस्था छ ।’

व्यावसायिकताकै बाटोमा हिँड्न मन्डला थियटर अहिले दुई रूप (गैरसरकारी संस्था र कम्पनी) मा चलिरहेको छ । ‘मन्डला थियटर नेपाल’ मुनाफा नलिने गैरसरकारी संस्था हो । यसबाट नाटक हललाई भाडामा दिन नमिल्ने भएकाले उही नाम (मन्डला थियटर प्रालि) मा कम्पनी दर्ता गरिएको हो । अहिले कम्पनीको नेतृत्वमा दयाहाङ राई र संस्थाको नेतृत्वमा सिर्जना सुब्बा छन् ।

यसपालि महोत्सवमा मेन्टर र पिआर (पब्लिक रिलेसन)को जिम्मेवारीमा रहेका दयाहाङ सामाजिक दायित्वको क्षेत्रमा रंगमञ्चले धेरै गर्न सक्ने बताउँछन् । ‘हामीले देशका विभिन्न समुदायका संस्कृति र संघर्षका कथालाई नाटकमा ल्याउन सकेका छैनौँ । पहिचानको कुरा उठेको धेरै भइसक्यो । यसलाई नाटकले बोक्न सक्नुपथ्र्यो,’ उनी भन्छन्, ‘राजनीतिक मुद्दा मात्रै होइन, हाम्रो मौलिक संस्कृति र सम्पदालाई हामीले नाटकमा ल्याउन सक्नुपर्छ । यो खालको चेतना हामीकहाँ भर्खर–भर्खर मात्र बढेको देखिन्छ ।’ नाटक एउटा ट्रेन्डको रूपमा अगाडि आएको र यसलाई व्यवस्थित र गुणस्तरीय हिसाबले अगाडि बढाउन अझै नसकिएको उनको आत्मस्वीकृति छ ।

थापागाउँमा मन्डला नाटकघर साढे पाँच करोडको लगानीमा सुरु गरिएको थियो, अझै सम्पन्न भइसकेको छैन । रेस्टुरेन्ट, लाइब्रेरी, खुला मञ्च, रिडिङ रुम लगायत संरचना बनाउन बाँकी नै छ ।

महोत्सवमा ‘बजार, प्रकाशन र दस्ताबेजीकरण’ सम्हालेका रंगकर्मी सोमनाथ खनालका अनुसार, अनामनगरमा दश वर्ष रहँदा मन्डला कम्पनीले जोगाएको केही पैसा बाँकी थियो । नाटकघर बनाउन अहिलेसम्म साढे तीन करोड जति खर्च भइसकेको छ । अहिले मन्डलाले एनआइसी एसिया बैंकलाई तिर्न एक करोड रूपैयाँ ऋण छ । रंगकर्मीलाई माया गर्ने व्यक्तिले पनि मन्डलालाई व्यक्तिगत रूपमा ऋण दिएका छन् ।

अभिनेता विजय बरालका अनुसार, मन्डलाले व्यक्तिसँग लिएको ऋण मात्रै ६० लाख रूपैयाँभन्दा बढी छ । ‘राम्रो काममा ऋणले पनि मजा आउँछ,’ विजय भन्छन्, ‘हामी त्यही मजा लिँदै छौँ, काम गर्दा तनाव हुन्छ नै । अहिले मन्डला नाटकघरले मञ्चबाट कमाइ पनि गर्न थालिसकेको छ ।’

यतिखेर विभिन्न नाटकघरबाट नाटक सिकेर आएका रंगकर्मी संघर्षकै मैदानमा छन् । मन्डला थियटरले नै नाटकको तीनमहिने तालिम दिने गर्छ । एउटा नाटक मञ्चन हुँदा एउटा कलाकारले तीन महिना जति समय दिनुपर्छ । अभिनेता दयाहाङका अनुसार, एउटा नाटकबाट एउटा कलाकारले बढीमा २०–२५ हजार रूपैयाँ पाउँछन् । काठमाडौंमा बस्न, खान यो पैसा निकै कम हो । ‘रंगकर्मीलाई रंगमञ्चमै टिकाउन दर्शक, सरकार, नाटकघर, मिडियाहरू सबैको सहयोग आवश्यक छ,’ दयाहाङ भन्छन्, ‘नाटकघरहरूले कम्ती वर्षमा दुई–चारवटा नाटक सरकारी वा गैरसरकारी संघसंस्थासँगको सहकार्यमा गर्न पाउँछन् भने कलाकारलाई केही सहज हुने थियो ।’

दयाहाङका अनुसार, मञ्चित नाटकको समाचार, समीक्षा वा तस्बिर छापिदिएर रंगमञ्चलाई मिडियाले गुन लाएकै छन् । मञ्चित नाटकका बारेमा मिडियाले गुण र दोषसहित समीक्षा लेखिदिनुपर्ने उनको अपेक्षा छ । ‘हाम्रो कामको गुण पनि भनिदिनुपर्छ र दोष पनि औँल्याइदिनुपर्छ,’ उनी भन्छन्, ‘नाटक कसरी तयार गरिन्छ, रिहर्सल कसरी हुन्छ, नाटक मञ्चनको समग्र प्रक्रियालाई हेरेर मिडियाले समाचार, समीक्षा लेखिदिने हो भने अझ सुन्दर हुने हाम्रो अपेक्षा हो । नाटकको मञ्चन हेरेर मात्रै नाटक बुझ्न सहज हुँदैनजस्तो मलाई लाग्छ ।’

नाटकको निर्माण प्रक्रिया, कलाकारले एउटा नाटकमा लगानी गर्ने समय आदि नबुझी समाचार सम्प्रेषण गर्दा कहिलेकाहीँ रंगमञ्चले घाटा बेहोर्नुपर्ने रंगकर्मी खनालको बुझाइ छ । ‘हामीले नाटकको प्रचारमा मिडियाबाट ठूलो सहयोग पाएका छौँ,’ उनी भन्छन्, ‘तर कहिलेकाहीँ खै किन हो अलि फरक खालको समाचार आउँदो रहेछ । नाम त नभनौँ, एउटा मिडियाले लेख्यो– मन्डलाले टिकट शुल्क बढायो मल्टिप्लेक्समा फिल्म हेर्न भन्दा महँगो भनेर । यसलाई सहयोग भन्ने कि असहयोग !’

व्यावसायिक हुन नेपाली रंगमञ्चका लागि जति आवश्यक छ, उति नै अर्थको विषय छ– सामाजिक दायित्व । यसपालि महोत्सवमा ‘इभेन्ट्स एन्ड प्रोग्राम्स लिड’को जिम्मेवारी सम्हालेका अभिनेता विजय बराल महोत्सवको नारामा पर्ने ‘विविधता उत्सव’ वाक्यांश अनुरूप नाटकहरू छानिएको बताउँछन् ।

‘महोत्सवका लागि देशभित्रै नाटक माग्दा नेपाली संस्कृति भएको नाटकलाई मात्रै छान्नेछौँ भन्न छुटेछ । विदेशीलाई नाटक देखाउँदा यसमा ध्यान दिनुपथ्र्यो,’ विजय भन्छन्, ‘तर हामीले छानेका अधिकांश नेपाली नाटकले नेपाली संस्कृति बोलेकै छन् ।’

महोत्सवमा मञ्चित किरण चाम्लिङ राई निर्देशित नाटक ‘खुवालुङ’ किराती संस्कृति र सभ्यतामा केन्द्रित छ । यस्तै, दिया मास्के निर्देशित कथा कस्तुरीले मध्य मधेसमा सर्प नचाएर जीविका चलाउनेको अवस्था, कथा र संस्कृति बोल्छ । दयाहाङ राई निर्देशित नाटक ‘कुभिन्डोको कथा’ मगर जातिको लोककथामाथि छ । प्रयोगशील नाटकका रूपमा अनिल सुब्बा निर्देशित स्याडो प्ले (छाया नाटक) ‘बुद्ध र भिखारी’लाई स्थान दिइयो । यसमा ‘फाइन आर्ट’ अन्तर्गत पर्ने ‘इन्स्टलेसन आर्ट’को सहारा लिएर कथा भनिएको थियो ।

रंगमञ्च महोत्सव भनेपछि नाटक मञ्चनकै विषय प्रमुख हुन्छ । महोत्सव संयोजक विजयाका अनुसार, महोत्सवभन्दा चार महिना अघिदेखि नाटकको निवेदन लिन थालिएको थियो । महोत्सवका लागि १८ वटा राष्ट्रियसहित ८५ वटा नाटक आएका थिए । नाटक छान्न सहज होस् भनी केही दायरा समेत राखियो । तपाईंको नाटकले के भन्छ, तपाईंको नाटकको बारेमा भन्नुस्, तपाईंको नाटक पहिले कहाँ–कहाँ मञ्चन भएको थियो, पछिल्लोपटक तपाईंको यो नाटक कहाँ मञ्चन भएको थियो भन्ने खालका प्रश्न गरिएको विजया बताउँछिन् । ‘सबैलाई नाटकको भिडियो खिचेर अनिवार्य पठाउन समेत भनेका थियौँ,’ विजया भन्छिन्, ‘नाटक छान्दा हाम्रा प्र्रश्नका उत्तर र नाटकको भिडियोलाई आधार बनाएका थियौँ ।’

प्रतिक्रिया 

अघिल्लो महोत्सवमा १० वटा थियटरसम्बन्धी संस्था आबद्ध थिए । काठमाडौंभित्रका एक्टर्स स्टुडियो, शिल्पी थियटर, कथाघेरा, थियटर मल, मन्डला थियटर, थियटर भिलेज, वान वल्र्ड थिएटर थिए भने काठमाडौंबाहिरका पोखरा थियटर, आरोहण गुरुकुल र जनकपुरको आर्ट ग्रुप रहेका थिए ।

यसपालि मन्डला थियटर एक्लैले केही फ्रिलान्सर रंगकर्मीसँगको सहकार्यमा टिम बनाएर महोत्सव सम्पन्न गरेको हो । यसपालिको महोत्सवमा रंगकर्मी वृत्तकै सहभागिता कम भएको प्रतिक्रिया समेत आफूहरूले पाइरहेको रंगकर्मी सोमनाथ बताउँछन् । ‘तर, त्यस्तो होइन । हामीले के महसुस गर्‍यौँ भने, धेरैको अपेक्षा हुँदो रहेछ– कार्यक्रममा हरेक दिन फोन गरेर आफूलाई बोलाइयोस्,’ सोमनाथ भन्छन्, ‘त्यसरी बोलाउन सकिएन । त्यो हाम्रो कमजोरी पनि हो ।’

तैपनि आफूहरूले सुरुमा एकपटक रंगमञ्च वृत्तका सदस्यलाई फोन गरेको उनको भनाइ छ । ‘हरेक दिन फोन गर्दा इन्कुलुसिभ (समावेशी) बनाउन भनिएको महोत्सव एक्स्कुलुसिभ (विशिष्ट) भइदिने खतरा रहन्छ,’ उनी भन्छन्, ‘कतिलाई फोन गरेर बोलाउने त ?’

महोत्सवको नेतृत्व पनि आफूहरूले नलिएर अरु कुनै संस्थालाई दिन आफूहरू तयार भएको उनी बताउँछन् । ‘यी विविध चुनौतीका बाबजुद फेस्टिभलले राम्रो प्रतिक्रिया पाएको छ,’ उनी भन्छन्, ‘छिटपुट रूपमा आलोचनात्मक र रचनात्मक सुझाव छन्, त्यसलाई हामी आगामी फेस्टिभललाई अवश्य सम्बोधन गर्ने कोसिस गर्नेछौँ ।’

यसपालि महोत्सवका लागि डेढ करोड रूपैयाँको बजेट अनुमान गरिएको थियो । अघिल्लोपटकको महोत्सवमा सम्पूर्ण खर्च बेहोरेको अन्तर्राष्ट्रिय संस्था जिआइजेडले यसपालि ४० प्रतिशत खर्च दियो । एउटै संस्थामा मात्रै भर नपर्न पनि मन्डलाले जिआइजेडसँग यसपालि ४० प्रतिशत खर्च लिएको सोमनाथ बताउँछन् । ‘हामीले जिआइजेडलाई भनेका थियौँ– तिमीहरू केही देऊ, हामी केही खोज्छौँ । खोज्नलाई अलिकति चुनौती भयो,’ सोमनाथ भन्छन्, ‘त्यसैले फेस्टिभलको खर्च घटाउने कोसिस गर्‍यौँ ।’

दयाहाङका अनुसार, यसपालिको महोत्सवका लागि मन्डलाले धेरै सरकारी निकायसँग समन्वय गर्ने कोसिस गरेको थियो । ‘हाम्रो प्रयास देखेर उहाँहरूले कम्तीमा कान ठाडो गर्नुभएको छ,’ उनी भन्छन्, ‘यसपालि अलि छिटो प्रस्ताव लगेको भए धेरैले हामीसँग सहकार्य गर्ने थिए भन्ने हामीलाई लागेको छ ।’

यसपालि महोत्सवका लागि काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाल टुरिजम बोर्ड लगायतले आर्थिक सहयोग गरेका थिए । ब्रिटिस काउन्सिलले ‘डिसएबिलिटी इन्क्लुजन’का लागि सहयोग गरेको थियो । यो सहयोगबाट यसपालि महोत्सवमा फरक क्षमता भएकाका लागि दोभासे राख्ने लगायत काम गरिएको थियो ।

शुक्रबार मन्डला थियटरले फरक क्षमता भएका व्यक्तिहरूलाई नाटक ‘कुभिन्डोको कथा’ देखायो । दृष्टिविहीनलाई नाटकको सम्पूर्ण पक्ष बुझ्न सजिलो होस् भनी निर्देशक दयाहाङले नाटकको व्याख्या गरेका थिए, जसलाई दृष्टिविहीन दर्शकले एयरफोनमार्फत सुनिरहेका थिए । यसरी नाटक सुनेका दृष्टिविहीन युवराज लामालाई हामीले सोध्यौँ– तपाईंलाई नाटक कस्तो लाग्यो ?

आफूले नाटकको कथासार बुझेको उनले बताए । ‘पहिलो कुरा, यो नाटक जलवायु परिवर्तनसँग सम्बन्धित रहेछ,’ उनले भने, ‘दोस्रो, यसले प्रकृतिको पूजा गर्ने आदिवासीहरूको संस्कृति झल्काएको छ । योसँगै नाटकले केही गर्न सक्दिनँ कि भनेर खुम्चिनेहरूलाई उत्प्रेरणा प्रदान गर्छ, मैले सारमा यही बुझेँ ।’

नाटकमा मुख्य पात्र खिमाले बाटो खनेको दृश्य छ । काठको मञ्चमा औजार बजारेको आवाज स्वाभाविक रूपमा फरक पर्छ । ‘डिस्किृप्सनमा चाहिँ कोदाली खनेको भन्नुभएको थियो,’ काठमाडौं युनिभर्सिटीबाट डेभलपमेन्ट स्टडिजमा मास्टर गर्दै गरेका लामाले हाँस्दै आफ्नो अनुभूति सुनाए, ‘मञ्चबाट भने ड्याङ–ड्याङ दाउरा चिरेजस्तो आवाज आइरहेको थियो ।’

मञ्चमा कलाकारको संवाद, चर्को आवाजमा प्रत्यक्ष संगीत र नाटकको व्याख्या सँगसँगै हुँदा आफूहरूलाई केही व्यवधान हुन पुगेको उनको अनुभव थियो ।

सोही दिन बोल्न र सुन्न नसक्नेका लागि मञ्चको छेउमा दोभासेको व्यवस्था गरिएको थियो । आयुश शाक्यले दोभासेका माध्यमबाट नाटक ‘कुभिन्डोको कथा’ हेरे । ‘समाजमा सबै किसिमका मान्छे हुन्छन् । सबै मानिस एकापसमा मिलेर बस्नुपर्छ । सानो–ठूलो, अपांगता भएका व्यक्ति जो–कोहीले पनि आँट्यो भने सबै गर्न सक्दा रहेछन् भन्ने मैले यस नाटकबाट बुझेँ,’ बोल्न र सुन्न नसक्ने शाक्यले सांंकेतिक भाषामा भने, ‘होँचो कदकी पात्र खिमाको सोच उच्च रहेछ । उसले आफू मरेर पनि गाउँलेलाई बचाइन् ।’

शाक्यको सांकेतिक भाषालाई नानु श्रेष्ठ ‘जयना’ले नेपालीमा अनुवाद गरेकी थिइन् । शुक्रबार मञ्चमा पनि नाटकका पात्रको संवादलाई नानुले नै सांकेतिक भाषामा अनुवाद गरेकी हुन् ।

मन्डला थियटरले थापागाउँमा जग्गा भाडामा लिएको पनि दुई वर्ष बितिसकेको छ । शुक्रबार साँझपख अभिनेता विजय बराल र म नाटकघरको प्रांगणमा गफिँदै थियौँ । नाटकघरको अधिकांश संरचना फलामको छ । ‘१० वर्षका लागि भाडामा लिइएको हो, दुई वर्ष त ख्यालख्यालमै बित्यो । आठ वर्ष बाँकी छ,’ विजयले भने, ‘अब आठ वर्षपछि यो फलामले चाहिँ काम देला ।’

यसपछि भने आफूहरू भाडामा नरहने विजय र मन्डला थियटर टिमको विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्