मध्यमोदीले आठ वर्षपछि थाल्यो उत्पादन

खबर खुराक
खबर खुराक १३ पुष २०७९, बुधबार
3 Min Read
Aa

पर्वत ।  पर्वतमा निर्माण भएको मध्यमोदी जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । निजी क्षेत्रको मिडिल मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाले आठ वर्षपछि परीक्षण उत्पादन गरेको हो ।

परीक्षण उत्पादन सफल भएपछि यसै सातादेखि व्यावसायिक उत्पादनको तयारी छ । विसं २०७१ मङ्सिरदेखि उक्त आयोजनाको निर्माण थालिएको हो । निर्माण पूरा गरी परीक्षण उत्पादन सफल भएका कारण केही दिनभित्रै व्यावसायिक उत्पादन सुरु गरिने आयोजना प्रमुख प्रविन देसारले जानकारी दिए ।

“तीन वर्षमा नै आयोजना निर्माणको काम सक्ने गरी काम थालिएको थियो, निर्माणका क्रममा विविध समस्याका कारण आयोजनाको काम पाँच वर्ष पछाडि धकेलिएको हो”, उनले भने ।

कास्कीको अन्नपूर्ण गाउँपालिका-३ वीरेठाँटी र नजिकै पर्ने पर्वतको मोदी गाउँपालिका-१ भूकको भुरुङडाँडामा बाँध निर्माण गरेर ल्याइएको मोदीखोलाको पानी पर्वतको मोदी गाउँपालिका-२ समादीमा खसालिएको छ । आयोजनाका लागि दुई हजार आठ सय ४० मिटर लम्बाइको ‘टनेल’ बाट पानी ल्याइएको पानी ७७ मिटर लामो टेलरेसबाट मोदीखोलामा खसालिएको छ । सम्झौतानुसार प्राधिकरणले आयोजना निर्माण सम्पन्न हुनुअघि नै विद्युत्गृहबाट देउपुरसम्म चार किलोमिटर लामो प्रसारण लाइन बनाएको छ ।

विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीका अनुसार यही पुस ५ गते अगाडि नै परीक्षणको काम सकिएपछि त्यसयताका १५ दिनलाई ‘ट्रायल फेज’का रूपमा राखिएको थियो । त्यहाँबाट उत्पादन हुने विद्युत्लाई मोदी गाउँपालिकाकै पातिचौरमा रहेको कोरुङ्गा सबस्टेशनमा लगेर १३२ केभी लाइनमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा पठाइने छ । पातीचौर सबस्टेशनबाट कास्कीको पोखरामा रहेको लेखनाथमा पुग्ने र अर्को जडान कास्कीकै माछापुच्छे« गाउँपालिकाको लाहाचोक पुग्नेछ ।

आयोजनाले २०७४ मङ्सिरमा काम सक्ने लक्ष्य राखेको थियो । निर्माण सुरु गर्ने बेलामा १५.१ मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने भनिएको थियो । तर निर्माणकार्य चल्दै जाँदा आयोजनाको लागतसहित उत्पादन क्षमता १८ मेगावाट पुगेको हो । सुरुमा रु दुई  अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिए पनि निर्माणमा भएको ढिलाइ, महँगी, आन्दोलनलगायतका समस्याका कारण आयोजनाको लगानी सोचेको भन्दा दोब्बर अर्थात् रु चार अर्ब ९२ करोड पुगेको छ ।

प्रभावित क्षेत्रका नागरिक तथा आयोजनामा कार्यरत कर्मचारीको पटक-पटकको आन्दोलन र विरोध, प्राकृतिक विपद्लगायतका कारण आयोजनाको अवधि लम्बिएको हो । स्थानीयवासीका मागका कारण हुने विवाद, माटोको चापका कारण ‘टनेल’ खुम्चिने, ‘पावरहाउस’ रहेको ठाउँमा आउने बाढी, ‘स्वीचयार्ड’ ‘टेल रेस’ तथा निर्माण क्षेत्रमा हुने पानीको चुहावट, इन्टेक क्षेत्रमा भएको ‘हेभी स्कोरिङ’, कोभिड-१९ महामारीका कारण सामग्री आयात र कामदारमा परेको प्रभावलगायतका समस्याका कारण पनि आयोजनाले समस्या भोग्नुपरेको प्रमुख देसारले बताए ।

प्रतिक्रिया दिनुहोस्