प्रदेश सांसद कुर्मीको शपथ रोक्न माग

खबर खुराक
खबर खुराक १३ पुष २०७९, बुधबार
1 Min Read
Aa

बुटवल । बाँके क्षेत्र नम्बर–३ ‘ख’बाट नवनिर्वाचित प्रदेशसभा सदस्य बादशाह कुर्मीको शपथग्रहण रोक्न माग गरिएको छ । नेपाली कांग्रेसका कुर्मीको शपथ रोक्न आग्रह गर्दै बुधबार अधिकारकर्मीले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई ज्ञापनपत्र बुझाएका हुन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ की एकल महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको आरोप लागेका बादशाहलाई प्रदेशसभा सदस्यको शपथग्रहण नगराउन उनीहरूले माग गरेका छन् । रुबी खान नेतृत्वको महिला अधिकार मञ्च बाँकेका पदाधिकारीले प्रदेश प्रमुख शेरचनलाई भेटेर यस्तो आग्रह गरेका हुन् ।

कुर्मीलाई गृह मन्त्रालयबाट गठित छानबिन समितिले दोषी ठहर गरेको तथा सीआईबीको अनुसन्धान जारी रहेको भन्दै उनीहरूले शपथ रोकेर न्याय निरूपणमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्