काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालको कुल गार्हस्थ्य उत्पादन ५ दशमलव ८४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान छ । समीक्षा वर्षमा कृषि क्षेत्रको उत्पादन २ दशमलव ३० प्रतिशतले र गैर-कृषि क्षेत्रको उत्पादन ६ दशमलव ८८ प्रतिशतले बढेकोअनुमान गरिएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा औसत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ३२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ३ दशलव ६ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा खाद्य तथा पेय पदार्थ समूह र गैर–खाद्य तथा सेवा समूहको औसत मुद्रास्फीति क्रमशः ५ दशमलव ६९ प्रतिशत र ६ दशमलव ८३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा कुल वस्तु निर्यात ४१ दशमलव ७ प्रतिशतले वृद्धि भई रु २ खर्व ३ करोड र कुल वस्तु आयात २४ दशमलव ७ प्रतिशतले वृद्धि भई रु १९ खर्व २० अर्ब ४५ करोड पुगेको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा रु १७ खर्व २० अर्ब ४२ करोड कायम भएको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ३५ दशमलव ५ प्रतिशत हो ।
आर्थिक वर्ष २०७८/७९ मा चालु खाता रु ६ खर्व २३ अर्ब ३३ करोडले र शोधनान्तर स्थिति रु २ खर्व ५५ अर्ब २६ करोडले घाटामा रहेको छ । २०७९ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु १२ खर्व १५ अर्ब ८० करोड कायम भएको छ । विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा कुल ९ अर्ब ५४ करोड रहेको छ । २०७९ असार मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चितिले ७ दशमलव ८ महिनाको वस्तु आयात र ६ दशमलव ९ महिनाको वस्तु तथा सेवा आयात धान्ने देखिन्छ ।
आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारको अन्य प्राप्ति समेत गरी रु ११ खर्व १६ अर्ब ४२ करोड राजस्व संकलन भएको छ । कुल सरकारी खर्च रु १२ खर्व ९६ अर्ब २४ करोड रहेको छ भने बैंकिङ कारोबारमा आधारित कुल सरकारी खर्च रु १२ खर्व ५५ अर्ब ८४ करोड रहेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा विस्तृत मुद्राप्रदाय ६ दशमलव ८ प्रतिशतले बढेको र संकुचित मुद्राप्रदाय ९ दशमलव ७ प्रतिशतले घटेको छ । त्यसैगरी, कुल आन्तरिक कर्जा १४ दशमलव ५ प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १३ दशमलव ३ प्रतिशतले बढेको छ । साथै, बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९ प्रतिशतले र ती संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जा १३ दशमलव १ प्रतिशतले बढेको छ ।
अन्तर्राष्ट्रिय मुद्राकोषद्वारा २०२२ अक्टोबरमा प्रकाशित वल्र्ड इकोनोमीक आउटलुक अनुसार सन् २०२० मा विश्वको आर्थिक वृद्धिदर ३ दशमलव १ प्रतिशतले सङ्कुचन भएकोमा सन् २०२१ मा ६ प्रतिशतले विस्तार भएको छ । सन् २०२२ मा यस्तो वृद्धिदर ३।२ प्रतिशत र सन् २०२३ मा २ दशमलव ७ प्रतिशत रहने मुद्राकोषको प्रक्षेपण रहेको छ ।
अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०२२ मा विकसित देशहरूको आर्थिक वृद्धिदर २ दशमलव ४ प्रतिशतले, उदीयमान तथा विकासोन्मुख देशहरूको ३ दशमलव ७ प्रतिशतले र उदीयमान तथा विकासोन्मुख एशियाली देशहरूको आर्थिक वृद्धिदर ४ दशमलव ४ प्रतिशतले धनात्मक हुने प्रक्षेपण छ । सन् २०२२ मा छिमेकी राष्ट्र भारत र चीनको अर्थतन्त्र क्रमशः ६ दशमलव ८ प्रतिशत तथा ३ दशमलव २ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ ।
सन् २०२२ मा विकसित देशहरूमा उपभोक्ता मुद्रास्फीति ७ दशमलव २ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ९ दशमलव ९ प्रतिशत रहने अनुमान छ । सन् २०२१ मा उपभोक्ता मुद्रास्फीति विकसित देशहरूमा ३ दशमलव १ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ५ दशमलव ९ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्