Ad imageAd image

गुजुल्टिएका तार हटाएर ठमेल क्षेत्र सफा बनाइँदै

खबर खुराक
खबर खुराक १३ पुष २०७९, बुधबार
3 Min Read
Aa

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यस्थित रूपमा तानिएका विद्युत्, केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सुरु गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्को सक्रियता, नेपाल विद्युत् प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायकहरूको सहभागितामा ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका तारहरूलाई हटाउने र व्यवस्थापन गर्ने कार्य अभियानकै रूपमा सञ्चालन गरिएको छ ।

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुन्ड्याइएका उपकरणहरूका कारण पर्यटकीय क्षेत्र ठमेल कुरूप बनेको थियो ।

प्राधिकरणले गएको कात्तिकमा आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन र सहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टीभी र इन्टरनेट सेवा प्रदायकलाई  आफ्नो संरचना निर्माण/व्यवस्थापन गर्न ४५ दिने समयसीमा दिएको थियो । सोहीअन्तर्गत ठमेल क्षेत्रका अव्यवस्थित तार तथा उपकरणहरू हटाउन थालिएको हो ।

- Advertisement -
Ad image

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मालगायत सम्मिलित उच्चस्तरीय टोलीले बुधबार ठमेल क्षेत्रमा तार व्यवस्थापनका लागि भइरहेको कामको अनुगमन गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले विद्युत्को नांगो तारलाई फेर्ने, बांगो र मक्किएका पोलहरू हटाएर राम्रा पोलहरू राखी ठमेललाई सफा र सुन्दर बनाउने अभियानमा साथ दिइने बताए ।

“अव्यवस्थित तारको गुजुल्टोको कारण सहर कुरूप बनेको छ । आगलागी भई धनजनको क्षति भएको छ । हाम्रो सेवा प्रवाह प्रभावित भएको छ । सहरी सौन्दर्यता कायम गर्न विद्युतीय दुर्घटनालाई न्यूनीकरणका लागि हाम्रा संरचनामा राखिने विभिन्न सेवा प्रदायकका तार तथा उपकरणहरूका लागि मापदण्ड तयार गरी व्यवस्थापन गर्न लागिएको हो,” उनले भने, “मुख्य सहरी क्षेत्रको सौन्दर्यता कायम गर्न अव्यस्थित तारलाई व्यवस्थित बनाउने काम देशभरि नै सञ्चालन गरिरहेका छौँ ।”

उनले काठमाडौं उपत्यका, पोखरा र भरतपुरमा विद्युतीय संरचनालाई भूमिगत बनाउने काम भइरहेको जानकारी दिए ।

प्राधिकरणले विभिन्न सेवा प्रदायकका राउटर, अप्टिकल फाइबर वितरण बक्सजस्ता उपकरणहरू पोलको एउट मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नुपर्ने व्यवस्था गरेको छ । प्रयोगमा नरहेका तार र अरू उपकरणहरू तत्काल हटाउनुपर्नेछ । पोलहरूमा लुप बनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तारहरू तान्दा समेत अतिरिक्त लम्बाइका लुप बनाएर पोलमा झुन्ड्याउन नपाउने व्यवस्था गरिएको छ ।

सेवा प्रदायकहरूले उनीहरूका तार सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनुपर्नेछ । पोलमा जडित उपकरणहरूमा समेत मार्किङ गर्नुपर्नेछ ।

सम्भव भएसम्म धेरै कोर भएको केबल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नुपर्नेछ । तारहरूलाई सडक वारपार तान्न रोक लगाइएको छ । त्यसरी तानिएका केबलहरू हटाउनुपर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्