नेपालको जलवायु विश्वमै अद्वितीय छ। भौगोलिक विविधता हाम्रो परिचय नै बनेको छ। छोटो दूरीमै उष्ण (सम्पूर्ण तराई, दुन, तल्लो तटीय उपत्यका) उपोष्ण कटिबन्धीय (मध्यपहाड र उच्च पहाडको तल्लो क्षेत्र), समशीतोष्णदेखि शीतोष्ण प्रकारको जलवायुले नेपालको खेतीयोग्य जमिनलाई भरपुर विविधता प्रदान गरेको छ।
हाम्रो भौगोलिक विविधताले प्राणी-वनस्पतिदेखि जलवायुमा समेत विविधता सुनिश्चित गरेको छ। मानवीय संस्कृति, आचरण, पर्या–पर्यटनदेखि हावापानी र सिंगो पारिस्थितिकीय प्रणालीमा पनि भौगोलिक विविधताको प्रभाव पाइन्छ। सम्पूर्ण विकासको अवधारणामा यसको प्रत्यक्ष प्रभाव देखिन्छ।
भूउपयोग दृश्य र प्रयोगमा समयक्रममा निरन्तर परिवर्तन हुँदै जान्छन्। यसको नतिजा हावा र पानीको गुणस्तर, जलाधार कार्य, फोहोरको उत्पादन, वन्यजन्तुको बासस्थान, जलवायु र मानव स्वास्थ्यमा एकमुष्ट प्रभाव पर्न जान्छ। मानिसको भूमि प्रयोग र भूमि व्यवस्थापन अभ्यासहरूले पानी, माटो, पोषकतत्व, बोटबिरुवा र जनावरलगायतका प्राकृतिक स्रोतहरूमा ठूलो प्रभाव पार्छ।
कृषि भूगोललाई भौगोलिक र स्थानीय विशेषता, खेतीबाली र पशुपालन प्रणाली प्रक्रियाहरूको अध्ययनको रूपमा परिभाषित गरिएको छ। योसँग सम्बन्धित विषय जस्तै, कृषि योग्य जमिन, कृषक र जमिनबीचको सम्बन्ध, प्राकृतिक वातावरणीय मुद्दाहरू, मौसम प्रणाली, अक्षांश, देशान्तर र उचाइ, भूगोलको प्रभाव, भू-भौतिक विभाजन, सौर्य प्रकाशको तीव्रता, पानीढलो, जमिनको दिशा, पानीको उपलब्धता र पर्वतीय पानीको चक्र, माटोको चिस्यान, माटोको क्षयीकरण, वायुमण्डलको आर्द्रता आदि सबैको लेखाजोखा गरेर नेपालको विभिन्न भू-विभाजनमा कस्तो कृषि प्रणाली उपयुक्त हुन्छ भनी नेपालको कृषि भूगोलले दीर्घकालीन कृषि योजना बनाउन ठूलो भूमिका खेल्न सक्छ।
अनलाइन खबरबाट………
प्रतिक्रिया दिनुहोस्