बुटवलमा जारी मेलामा पटक-पटकको अनुगमनले व्यवसायी नै त्रसित

खबर खुराक
खबर खुराक १५ पुष २०७९, शुक्रबार
4 Min Read
Aa

बुटवल । खाद्यप्रतिविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले बुटवलको औद्योगिक प्रदर्शनी तथा व्यापार मेला भित्र विहिबार पनि बजार अनुगमन गरेको छ । यही पौष ७ गतेदेखि १९ गतेसम्मका लागि जारी महोत्सवमा कार्यालयले यसअघि पौष १२ गते मँगलबार पनि अनुगमन गरेको थियो । यसरी पटक-पटकको अनुगमनले व्यवसायीहरु समेत आजित बनेका छन् । कमजोरी खोज्ने भन्दा पनि दुःख दिने र तर्साउने नियतले अनुगमन गरिएको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका हुन् ।

पौष १२ गतेको अनुगमनका क्रममा अपनाइएको प्रक्रिया गलत भएको भन्दै ग्लोबल आवाजमा बुधबार बुटवलमा गुण नियन्‍त्रणको बजार अनुगमन : प्रहरिले चाखेर ओक भनेपछि पास ! शिर्षकमा समाचार प्रकाशन भएको थियो । उक्त समाचार प्रकाशन भएको दोस्रो दिन महोत्सवमा गुण नियन्त्रण कार्यालयले दलबलसहित उपस्थित भएर पुन: अनुगमन गरेको हो । खाद्यप्रतिविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रतिनिधि दिपक यादव, गुणस्तर तथा नापतौत विभागका दिपेन्द्र रोकाह, प्रतिनिधि संजय यादव, ईलाका प्रशासन कार्यालय बुटवलका कार्यालय प्रमुख पुष्कर राना, विष्णु ज्ञवाली, प्रहरी निरीक्षक सन्तोष केसी, प्रहरी हवल्दार कुलचन्द्र पोखरेल तथा प्रहरी जवानहरुको उपस्थिती रहेको थियो । अनुगनमा आएका समूहलाई स्पष्टिकरण दिएको २ दिन नबित्दै फेरि हातहतियारमा सजियका सुरक्षाकर्मीहरुसहित आएको अनुगमन टोलीलाई देखेपछि व्यवसायी झस्किएका थिए ।

विगत १० वर्ष लामो समयदेखि बुटवलमा अचार बनाएर व्यापार गर्दै आएकी ५७ वर्षीया भिमसरा रानाले व्यापार मेलामा स्टल राखेर गल्ती गरिएछ की भन्ने महशुस हुन लागेको गुनासो गरिन । विगका मेला तथा अन्य ठाउँमा यसरी दुःख पाउनु नपरेको सुनाउँदै उनले गल्ती देखेर भन्दा पनि दुःख दिने नियतले नै आफूहरुलाई यति धेरै निगरानीमा राखेको हो कि भन्ने लागेको उल्लेख गरिन् । नेपाल सरकारको अनुदानमा ईजरायल पुगेर साढे ७ वर्ष अचार बनाउने तालिम प्राप्त गरि २०६९ सालदेखि बुटवलमा व्यवसायीक रुपमा अचार उत्पादनमा लागेकी उनले विभिन्न समयमा सरकारले प्रदान गर्ने तालिमहरुमा समेत प्रशिक्षक भएर जाने गर्छिन् ।

बुटवलमा जारी मेलामा हालसम्म ४ पटक अनुगमन भन्दै मानिसहरु आएको बताउँदै उनले फेरि पनि यस्तै भएमा मेला नै छाडेर जाने हो कि भन्ने लागेको र आफू तनावमा परेको उल्लेख गरिन् । यसैगरी रुपन्देहीको तिलोत्तमामा सम्पन्न व्यापार मेलामा ४ सय स्टलहरु बीच उत्कृष्ट दुईमा पर्न सफल पार्वती गिरीले पनि पटक-पटकको अनुगमनले आजित भएको उल्लेख गरिन् । ‘यसअघि तिलोत्तमामा सम्पन्न मेलामा दोस्रो हुन सफल भए, त्यहाँ एक पटक पनि यसरी व्यवसायीलाई दुःख दिने गरि अनुगमन भएको थाहा भएन ।’-गुनासो गर्दै गिरीले भनिन्, अब त यस्तो मेलामा स्टलनै नराखौं कि जस्तो लाग्यो ।’- उनले भनिन् ।

विहिबारको अनुगमनपछि बजारमा बाहिर हल्ला फिजिएको जस्तो कमजोरीहरु नदेखिएको निश्कर्ष निकाल्दै अनुगमन टोली बाहिरिएको थियो । ढुक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै टोलीले उपभोक्ताको हितमा सबै सचेत हुनु पर्ने बताउँदै मर्यादित र व्यवस्थित भएर महोत्सव सञ्चालन गर्न सुझाबसहित बाहिरिएको मेला आयोजक संस्था रुपन्देही उद्योग संघका माधव पौडेलले बताए । मँगलबार आक्रमक रुपमा देखिएको अनुगमन टोली विहिबार भने शान्त र मर्यादित देखिन्थ्यो । तर, अघिल्लो पटक अनुगमनको नेतृत्व गरेका खाद्यप्रतिविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका कार्यालय प्रमुख विमल कुमार दाहाल विहिबारको अनुगमनमा उपस्थित थिएनन् । मेलामा विभिन्न खाद्य सम्बन्धि ७६ वटा स्टलको अनुगमन भएको मेला आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्