१८ पुस, वीरगञ्ज । किशोरीलाई जर्बजस्ती करणी गरेको आरोप लागेपछि फरार रहेका बाराको निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
आइतबार बेलुका उनी स्वयं प्रहरी सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक संजीव ओलीले जानकारी दिए ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिई वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनीविरुद्ध १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।
किशोरीका अभिभावकले २५ असोजमा इलाका प्रहरी कार्यलय निजगढमा उनीविरुद्ध किटानी जाहेरी दिएका थिए । दशैंको टीकाको दिन १९ असोजमा वडा अध्यक्ष राजुले किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । गम्भीर प्रकृतिको फौजदारी अभियोगमा मुद्दा परेलगत्तै उनी फरार भएका थिए ।
प्रतिक्रिया दिनुहोस्