कोदो उत्पादनमा नेपाल १३ औं नम्बरमा

खबर खुराक
खबर खुराक १८ पुष २०७९, सोमबार
6 Min Read
Aa

काठमाडौं : कोदोलाई अन्तर्राष्ट्रिय स्तरमै प्रवर्द्धन गर्न लागिएको छ। फलस्वरुप २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बालीवर्ष मनाउन सुरु गरिएको छ। नेपालले पनि यसलाई विशेष प्राथमिकता दिँदै देशव्यापी रूपमा कोदोजन्य बाली वर्ष मनाउने भएको छ। यसर्थ ‘खाद्य पोषण, सुरक्षा र वातावरण तथा ग्रामीण रुपान्तरणका लागि कोदोजन्य बाली’ नाराका साथ २०२३ लाई कोदोजन्य बाली वर्ष मनाउन लागेको हो।

स्वास्थ्यवद्र्धक मौलिक अर्थात् रैथाले बालीहरू लोप हुँदै जान थालेकाले प्रवर्द्धन गर्न खोजिएको हो। कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले अंग्रेजी वर्ष २०२३ को पहिलो दिन आइतबार राजधानीमा कार्यक्रम आयोजना गर्दै कोदो, फापर, लट्टे, जुनेलो (चिनो) जस्ता रैथाने बालीको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ।

भारतीय राजदूतावासले पनि यसबारे कार्यक्रम गर्दै नेपाललाई पनि सबै साथ मिलेर अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउन अनुरोध गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले बताए। नेपालमा विभिन्न कार्यक्रम गरेर मनाउने कार्यक्रमको ढाँचा र अन्तर्राष्ट्रिय स्तरमा नेपालको सहभागिता हुनेबारे केन्द्रबाट तयारी भइसकेको उनले बताए। खासगरी कार्यक्रम मात्रै होइन  किसानदेखि उपभोक्ता र सारोकारवालाहरूबाट यस्ता रैथानेबालीको संरक्षण गर्न जोड दिइएको उनको भनाइ छ।

‘मौलिक बालीका जाति लोप हुँदै जान थालेकाले यसलाई  पुनः प्रवर्द्धन गर्नुपर्छ भनेर आएको हो। सरकारले केही वर्षदेखि स्थानीय तहलाई लक्षित गर्दै रैथाने बालीलाई प्रवर्द्धन गर्न खोजेको हो’, सचिव डा. शर्माले भने। उत्पादन, संरक्षण, बजारीकरण, मूल्य अभिवृद्धि र उपभोक्तासम्म सुरक्षित किसिमले हाम्रा पहिचानका बालीह पुर्‍याउनु मुख्य उद्देश्य रहेको  उनले बताए। यसलाई नीतिमै समावेश कसरी गर्ने, कार्यान्वयन चरणमा के कसरी लैजाने र स्थानीय तहमा समर्थन मूल्यलाई कसरी जोड्न सकिने भन्ने विषयमा केन्द्रित हुन जरुरी भएको उनले महसुस गरेका छन्

रैथाने एग्री प्रडक्ट नेपालका अध्यक्ष तिलक ढकाल कोदोजन्य आहार स्वस्थ जीवनको आहार भएको बताउँछन्। पोषिलो, स्वादिलो, गुणस्तर र स्वस्थ रहेकोे पञ्चगुण तत्वले भरिपूर्ण रैथाने बाली लोप हुँदै गएकोले यसलाई प्रवर्द्धन गर्न जरुरी भएको औंल्याउँछन्।

३ वर्षदेखि कोदोमा २६ करोड अनुदान

सरकारले १३३ गाउँपालिकामा अनुदान दिएको छ। हालसम्म कुल २६ करोड रुपैयाँ बराबरको रकम पठाइएको बाली विकास  तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रमुख डा. रामकृष्ण श्रेष्ठले बताए। विगत ३ वर्षदेखि सरकारले अनुदानका रूपमा कोदो जस्ता रैथाने बालीका लागि प्रोत्साहनस्वरूप अनुदान दिँदै आएको छ।

कोदोको महत्त्व/विशेषता

  • कोदोले बढी मात्रामा खाद्य तथा पोषण सुरक्षामा योगदान गर्छ।
  •  परम्परागत रूपमा कोदो मुख्यतः ढिंडो, रोटी, रक्सी र पशु आहारमा प्रयोग हुन्छ।
  • अहिले होटेल तथा रेस्टुराँ व्यवसायीहरूले कोदोलाई मःमः, पिजा, हलुवालगायतका परिकार बनाउने गरेका छन्।
  • क्याल्सियम र फस्फोरस पाइने भएकोले गर्भवतीका लागि उपयोगी हुन्छ।
  • मधुमेह रोगीका लागि उपयोगी
  • कोदोको इन्जाइमको रसले छालाबाट रौं हटाउन मदत गर्छ।
  • मधुमेह, रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने, कब्जियत, पेट दुख्ने र झाडापखालाका लागि उपयोगी
  • बोसो र कोलेस्टोरोलको मात्रा घटाउँछ।
  • यसमा प्रोटिन र खनिज पाइन्छ।

यसरी अनुदान पाएको मकवानपुरको मकवानपुर गढीमाई गाउँपालिकाले कोदो उत्पादनका लागि अनुदान दिएर बाँझो खेतीमा समेत बाली सुरु गरेर उत्पादन वृद्धि गरेको बताएको छ। गाउँपालिकाका प्रतिनिधि चन्द्रकान्त चौधरी सो गाउँपालिकामा मात्रै ३ सय हेक्टरमा कोदो खेती हुँदै आएको बताउँछन्। उनका अनुसार सो क्षेत्रफलबाट ३६० मेट्रिक टन कोदो उत्पादन भएको छ। उनी भन्छन्, ‘सरकारबाट रैथाने बाली प्रवर्द्धनमा गरेको योगदानले बालीको क्षेत्र विस्तार भएको छ। बाँझो जमिनमा खनजोत गरेर खेती गरे प्रतिहेन्टर ९ सय रुपैयाँ दिएर प्रोत्साहन गरेका छौं।’

मकवानपुरगढी–४ कालीखोलाका किसान सुकुमबहादुर घलान भने सरकारले कोदो र मकैमा दिएको अनुदान प्रयोग गरे पनि मल अभावका कारण बाली लगाउन गाह्रो भएको गुनासो गर्छन्। 

सरकारले सो शीर्षकमा गत वर्ष १५ कट्ठामा सो बाली लगाउँदा ४० हजार रुपैयाँ अनुदान पाएका थिए। यसवर्ष  सोही जग्गामा लगाउँदा २० हजार रुपैयाँ मात्रै अनुदान दिए। ‘यसले लगाउन प्रोत्साहन त मिलेको छ तर मलको अभावले बाली लगाउन गाह्रो भयो। हेटौंडा सहकारीबाट प्रति व्यक्ति ५ किलो मात्रै मल पाइन्छ’, उनले गुनासो गर्दै भने, ‘२ बोरा मल लाग्छ तर त्यो ५ किलोले कता हाल्ने कता नहाल्ने हुन्छ।  मल कम भएपछि अन्नबाली पनि कमै फल्ने गरेको छ। अलिअलि फले पनि मृग र बाँदरले खाइदिने समस्याले हामी किसान मर्कामा छौं।’

नेपालमा कोदोको उत्पादन 

नेपालमा कोदो बालीको क्षेत्रफल पहिलेभन्दा क्रमशः घटेको छ।  आव २०७४/७५ मा देशभर २ लाख ६३ हजार ४९७ हेक्टरमा खेती गरेकोमा ११ हजार ९२ केजि प्रति हेक्टरको दरले ३ ला १३ हजार ९८७ मेट्रिक टन उत्पादन भएको थियो। 

देशको कुल खाद्यान्नको  क्षेत्रफको ७.७ प्रतिशत कोदो बालीले ओगट्छ।  यसको कुल क्षेत्रफलमध्ये ९५ प्रतिशत पहाडमा हुन्छ। नेपालको तराईदेखि समुद्र सतहबाट ३१ सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो लगाइन्छ। ७७ जिल्लामै कोदो खेती गरेको पाइए पनि धेरैजसो खोटाङ, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा, कास्की, ओखलढुंगा, गोरखा र सिन्धुलीमा बढी हुन्छ। तर, मनाङ र मुस्ताङमा कम हुन्छ। यो बाली कम वर्ष हुने क्षेत्रमा, कम उर्वर भूमिमा, सिञ्चित र असिञ्चत दुवै अवस्थामा पनि उब्जिन सक्ने भएकाले यसको महत्त्व छ।

विश्वमा कोदो उत्पादन गर्ने देशमा नेपाल १३ स्थानमा छ।  खाद्य तथा कृषि संगठनको सन् २०२० को तथ्यांकअनुसार नेपालमा ३ लाख २० हजार ९५३ मेट्रिक टन कोदो उत्पादन भएको छ। विश्वमा कोदो उत्पादनमा भारत अग्र स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्