६५ प्रतिशतले बढे पर्यटक

खबर खुराक
खबर खुराक १८ पुष २०७९, सोमबार
4 Min Read
Aa

काठमाडौं : सन् २०२२ मा ६ लाख बढी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकानुसार सन् २०२२ मा ६ लाख १४ हजार १४८ पर्यटक नेपाल भित्रिएका छन्। कोभिड १९ पछि सबैभन्दा बढी गत वर्ष पर्यटक नेपाल आएका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२२ मा ५ लाख पर्यटक भिœयाउने लक्ष्य लिएको थियो।

कोभिडको समय सन् २०१९ को तुलनामा करिब ६५ प्रतिशतले पर्यटक आगमन सुधार भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताए। सन् २०२१ को तुलनामा २०२२ मा ३०७ प्रतिशतले बढी पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२१ मा कुल १ लाख ५० हजार ९६२ पर्यटक नेपाल भित्रिएका थिए। सन् २०२० मा २ लाख ३० हजार ८५ र २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए। क्षेत्रगत रूपमा हेर्दा, सार्क मुलुकबाट सबैभन्दा बढी ४०.०६ प्रतिशतले पर्यटक भित्रिएका छन्। जुन अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ३४.०५ प्रतिशतले बढी हो। सार्क क्षेत्रबाट २ लाख ४६ हजार २७ पर्यटक नेपाल आएका छन्।

सन् २०२२ मा भारतबाट २ लाख ९ हजार १०५, बंगलादेशबाट २५ हजार ३८४, श्रीलंकाबाट ४ हजार ५९८, पाकिस्तानबाट ३ हजार ९२८ र भुटानबाट ३ हजार २२ पर्यटक नेपाल आएका छन्। बोर्डले लिएको एक स्टप गन्तव्य रणनीति कार्ययोजना अनुसार पर्यटक आगमन बढेको बोर्डका प्रवक्ता मणिराज लामिछाने बताए। ‘ भारतबाट एकदम नै राम्रो रिकभरी भएको छ। पहिला १५ देखि २० प्रतिशते वृद्धि हुने गरेकोमा यो वर्ष ३४ प्रतिशत छ।’ उनले भने। तर चाइनिज मार्केटलाई बढाउने चूनौति रहेको उनले बताए।

समीक्षा वर्षमा १ लाख ३३ हजार ४०२ पर्यटक युरोपबाट आएका छन् भने अमेरिकी क्षेत्रबाट ८६ हजार ७५३ पर्यटक नेपाल आएका छन्। मध्यपूर्वी एसियाबाट ५८ हजार ४१४ पर्यटक र एसियाबाट ५० हजार ९७४ पर्यटक नेपाल आएका छन्। नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारतबाट २लाख ९ हजार१०५, अमेरिकाबाट ७७ हजार ९, यूकेबाट ४४ हजार ७८१, अष्ट्रेलियाबाट २६ हजार ८७४ र बंगलादेश २५ हजार ३८४ पर्यटक आएका छन्। जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ३४.०५ प्रतिशत, १२.५४ प्रतिशत, ७.२९ प्रतिशत, ४.३८ प्रतिशत र ४.१३ प्रतिशत हो।

कोभिड महामारीका कारण विश्व पर्यटन क्षेत्रलाई प्रभावित बन्दा नेपालको पर्यटन पनि त्यसबाट अछुतो रहन सकेन। आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार पर्यटकबाट प्राप्त भएको विदेशी मुद्रा आर्जन ४६ प्रतिशतले घटेर १३ अर्ब ५० करोडमा खुम्चिएको छ। पर्यटकको औसत बसाइ अवधि १५.५ र प्रति पर्यटक खर्च ४८ अमेरिकी डलर छ। नेपाल आउने पर्यटकमा ६६.८ प्रतिशत बिदा मनाउन, मनोरन्जन र यात्राका लागि, १०.३ प्रतिशत पर्वतारोहण/साहसिक यात्रा/पदयात्रा र ७.४ प्रतिशत तीर्थ यात्रा तथा १५.५ प्रतिशत अन्य उद्देश्यका लागि नेपाल आउने गरेका छन्।

सरकारी तथ्यांकअनुसार मासिक १० अर्बभन्दा बढी क्षति व्यहोरेको पर्यटन क्षेत्रले पुनः लयमा फर्किएको छ। पर्यटन क्षेत्रलाई नै पुनरोत्थान गर्ने गरी पर्यटन मन्त्रालयले पर्यटन क्षेत्र पुनरुत्थान कार्यक्रम सार्वजनिक पनि गरेको छ। कोभिडले थलिएको पर्यटनलाई पुनः लयमा फर्काउन पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै सन् २०२३ देखि २०३२ लाई नेपाल पर्यटन दशकको अवधारणा अघि सारिएको छ।

अघिल्ला पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन दशकलाई कार्यान्वयन गर्ने गरी कार्ययोजना पनि बनाएका छन्। कार्ययोजनाको खाकाले देशैभरी बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन २०२४ सम्ममा पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पुर्‍याउने, तत्पश्चात पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशतको वृद्धि गरी सन २०३२ सम्ममा संख्या ३५ लाख पुर्‍याउने र आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ।

यसका साथै प्रतिपर्यटक प्रतिदिन खर्च ४८ डलरबाट १२५ पुर्‍याउनुका साथै देशको कुल ग्राहस्थ उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य छ। तर, अब आउने नयाँ पर्यटनमन्त्रीको नीतिले मात्र यो कार्ययोजना अघि बढ्ने/नबढ्ने टुंगो लाग्ने बोर्डका प्रमुख कार्यकारी रेग्मी बताउँछन्। उक्त कार्ययोजना कार्यान्वयनका लागि बोर्डलाई केन्द्रमा राखिएको छ। आइतबारबाट औपचारिक रूपमा सुरु भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँगै ३ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्