नाबालिगमाथि बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने डिप्रेशनको शिकार भएका छन्। सन्दीपमा डिप्रेशन देखिएकाले काराकारमै मनोपरामर्श सेवा दिन थालिएको सन्दीपका वकिल सरोजकृष्ण श्रेष्ठले बताए।
१५-२० दिन यता सन्दीपको बोली र व्यवहारमा फरक महसुस गरिरहेको बताए । सोमबार सन्दीपलाई कारागारमै वरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले मनोपरामर्श दिएकी छिन्।
‘सन्दीपको डिप्रेसन लेभल बढेको छ । हामीले सोचेभन्दा पनि खराब स्थिति रहेछ। अब नियमित काउन्सिलिङ चाहिन्छ भन्ने छ,’ सन्दीपका वकिल श्रेष्ठले भने। श्रेष्ठले सन्दीपमा नकारात्मक सोचाइ बढेको बताए।
कारागारमा काउन्सिलिङका लागि छुट्टै कोठाको व्यवस्था नभएका कारण प्रभावकारी काउन्सिलिङ दिन गाह्रो हुने उनले बताए। उनले भने, ‘हामीले नियमित काउन्सिलिङका लागि जेलरसँग अनुमति मागेका छौं। तर त्यहाँ कैदी बन्दीहरू सामूहिक बसेकै ठाउँमा गएर काउन्सिलिङ गर्नुपर्ने रहेछ। यस्तोमा त प्रभावकारी काउन्सिलिङ दिन नै गाह्रो हुन्छ।’
सन्दीपमाथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ। काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन्।
प्रतिक्रिया दिनुहोस्