स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश

खबर खुराक
खबर खुराक १९ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन्। स्वतन्त्रबाट निर्वाचित साह सोमबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर पार्टी प्रवेश गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। रिजालका अनुसार साहलाई एमाले अध्यक्ष ओलीले खादा र टीका लगाएर स्वागत गरेका हुन्।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल लगायतको उपस्थिति थियो। साह प्रवेश गरेसँगै एमालेको प्रतिनिधिसभामा सिट सङ्ख्या ७९ पुगेको छ।

माओवादीमा राजनीति गरेका साह मधेसवादी दल हुँदै केही समय अघि एमाले प्रवेश गरेका थिए। एमाले पार्टीले टिकट नदिएको र सो क्षेत्र जसपाको भागमा परेपछि साहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए।

साहले स्वतन्त्र उम्मेदवार समूह प्रभु साहको समूहसँग मिलेर चुनाव लडेका थिए। एमाले-जसपा गठबन्धनबाट शैलेन्द्र साह उम्मेदवार  बनेका थिए। तर एमाले-जसपा गठबन्धनका उम्मेदवार शैलेन्द्र ले जसपाबाट टिकट लिएर चुनावको अन्तिम दिन सार्वजनिक रुपमै किरण साहलाई समर्थन गरेक‍ो घोषणा गरेका थिए।

साहले नेपाली कांग्रेसका उम्मेदवार डा. फिरदोस आलमलाई ४ हजार ५ सय ९४ मतान्तरले पराजित गरेका हुन्। साहले ३२ हजार ८ सय ४२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आलमले २८ हजार २ सय ४८ मत पाएका छन्। साहका प्रतिद्वन्द्वी आलम रौतहटमा पटक पटक मन्त्री भएका कांग्रेस नेता  मोहम्मद आफताव आलमका जेठो छोरा हुन्।

प्रतिक्रिया दिनुहोस्