मौद्रिक नीति ल्याउने समय तोकियो, आर्थिक वर्षको पहिलो हप्ता आउने

खबर खुराक
खबर खुराक २१ पुष २०७९, बिहीबार
3 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने मिति तोकेको छ । राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) सार्वजनिक गर्दै मौद्रिक नीति ल्याउने समय तोकेको हो ।

२०७२ सालको संविधानमा सरकारको बजेट ल्याउने मिति जेठ १५ लाई तोकिएको छ । संविधानमा जेठ १५ गते बजेट ल्याउने मिति तोकिए पछि राष्ट्र बैंकले असारको अन्तिम साता तथा ढिलोमा साउनको पहिलो सातासम्ममा मौद्रिक नीति ल्याउने गरेको थियो । तर, गत आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकले सरकार परिवर्तनको कारण एक महिना ढिलो सार्वजनिक गरेको थियो ।  गतवर्ष असार मसान्तमा केपी शर्मा ओलीको ठाउँमा सर्वोच्च अदालतको फैसलामा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । अर्थमन्त्रीको रूपमा जनार्दन शर्मा आए । नयाँ सरकार बनेपछि गत आर्थिक वर्षमा राष्ट्र बैंकले मौद्रिक नीति समयमा ल्याउन सकेको थिएन ।

अब हरेक वर्ष आर्थिक वर्ष सुरु भएको पहिलो साताभित्र राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नेछ । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनु अगाडि गर्ने छलफलका लागि कार्यतालिका समेत बनाएको छ । मौद्रिक नीतिलाई राष्ट्र बैंकका विभाग तथा सरोकारवालासँग छलफल गर्न अनुसन्धान विभागका कार्यकारी निर्देशकको सयोजकत्वमा समिति गठन हुनेछ ।

विभागले वार्षिक मौद्रिक नीति तर्जुमाका लागि जेठ महिनाको दोस्रो हप्ताभित्र र त्रैमासिक तथा अद्र्धवार्षिक समीक्षाका लागि हरेक त्रैमास समाप्त भएको १५ दिनभित्र मौद्रिक नीतिका लागि आवश्यक राय सुझाव माग गर्न पत्राचार गर्नेछ ।

प्राप्त राय÷सुझावउपर आवश्यकता अनुसार वार्षिक मौद्रिक नीति तर्जुमाको लागि प्रत्येक वर्षको असार महिनाको पहिलो हप्तादेखि र त्रैमासिक तथा अर्धवार्षिक समीक्षाको लागि हरेक त्रयमास समाप्त भएको १५ दिन पछि अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल हुनेछ ।

अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल सम्पन्न भए पछि मौद्रिक नीतिको मस्यौदा उपर व्यवस्थापन समितिमा छलफल प्रारम्भ हुनेछ ।

संचालक समितिबाट पारित भएपछि सामान्यतः वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष सुरु भएको पहिलो हप्ताभित्र र त्रैमासिक तथा अर्र्धवार्षिक समीक्षा हरेक त्रयमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गरिने उल्लेख छ ।

मौद्रिक नीति सार्वजनिक भएको एक हप्ताभित्र विभागले अन्य विभागसँगको समन्वयमा कार्यान्वयन तालिकाको मस्यौदा तयार गर्नेछ ।

कार्यान्वयन तालिकाको मस्यौदा तयार पार्दा मौद्रिक नीतिको प्रावधान, कार्यान्वयन मापन गर्ने सूचक, अपेक्षित उपलब्धी, जिम्मेवार विभाग र कार्यान्वयन गर्न लाग्ने समयसहितको तालिका तयार गर्नुपर्नेछ ।

(३) बुँदा १३ (२) बमोजिम तयार भएको मौद्रिक नीतिको कार्यान्वयन तालिका व्यवस्थापन समिति समक्ष पेस हुनेछ ।

व्यवस्थापन समितिको बैठकबाट पारित मौद्रिक नीतिको कार्यान्वयन तालिका कार्यान्वयनका लागि विभागले अन्य विभागहरूलाई पत्राचार गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्