चराचुरुङ्गीदेखि बाघका भाइरल शालिकसम्म, कलाचेतमाथि प्रश्‍नैप्रश्‍न

खबर खुराक
खबर खुराक २२ पुष २०७९, शुक्रबार
7 Min Read
Aa

काठमाडौं । यी पंक्ति पढ्दै हुनुहुन्छ भने टाइमलाइनमा देखेका बाघका कुरुप तस्वीरले तपाईंलाई दिक्क र आक्रोशित बनाएको हुन सक्छ । केही दिनयता सामाजिक सञ्जाल प्रयोगकर्तामाझ बाघको शालिक भाइरल बनिरहेको छ । बाघ मात्र होइन दुम्सी, सुँगुर, गाई, देवीदेवतादेखि फलफूल, चराचुरुंगीलाई लिएर ट्रोल र मिम बनिरहेका छन् ।

सेलिब्रिटीदेखि सर्वसाधारणसम्मले बाघका यी कुरुप मूर्ति र तस्वीर सेयर गर्दै कटाक्ष गरिरहेका छन् । चिसिंदो मौसम र तातिएको राष्ट्रिय राजनीतिको यो छेकोमा कसरी अचानक स्तम्भ, शालिक र मूर्ति भाइरल बने र यिनले कसरी हाम्रो कलाचेत र सौन्दर्यशास्त्रलाई प्रश्न गरिरहेका छन् भनेर जान्नु महत्वपूर्ण हुन आउँछ ।

केही दिनअघि सुर्खेतको वीरेन्द्रनगरस्थित शहीद पार्कमा राखिएको पाटेबाघको स्तम्भ फेसबुक र ट्वीटरका भित्तोमा देखियो । यो भाइरल बाघको फोटोमा लाइक, सेयर, कमेन्ट, ट्रोल र मिमको वर्षा नै हुन थाल्यो । उक्त प्रादेशिक पार्कमा राखिएको बाघको शालिक दुई कारणले चर्चामा छ, एउटा बाघको बिग्रिएको आकृति र अर्को बनाउन लागेको खर्च ।

एक अन्तर्वार्तामा शालिक बनाउने कम्पनीका सञ्चालक कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट बोलाइएका कालिगढले हतारमा निर्माण गर्दा स्वरुप बिग्रिएको बताएका छन् । एउटै ढुंगाबाट बनाउनुपर्ने भएकाले शालिक मोटो देखिएको उनको तर्क छ । अर्को एक अन्तर्वार्तामा शालिक निर्माणको जिम्मा पाएको भैरव सामुदायिक वन उपभोक्ता समितिका सहसचिव अमरबहादुर कार्कीले ५० हजारमा बनाएको शालिकलाई १३ लाख रुपैयाँ भन्दै भाइरल बनाइएको बताए ।

वीरेन्द्रनगर नगरपालिका-४ का वडाध्यक्ष शेरबहादुर केसीले हल्लाको भरमा सामाजिक सञ्जालमा मूल्य राख्दा नकारात्मक प्रभाव परेको बताउँछन् । तर हल्ला नै सही, जसले बाघको उक्त कुरुप शालिकलाई हटाएर नयाँ स्थापित गर्नुपर्ने परिस्थिति सिर्जना गरिदिएको छ । अहिले उक्त भाइरल शालिक हटाएर नयाँ राख्ने तयारी भएको छ । सामाजिक सञ्जालको यो सामूहिक दबाबले कम्तीमा शालिक बनाउने स्थानीय सरकार र स्थानीय संघसंस्थालाई कलाचेतबारे गम्भीर हुन सुझाएको छ ।

कलाचेतमाथि प्रश्न

बाघ-भालु, गौतम बुद्ध र कागको शालिकको फोटो सेयर गर्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले फेसबुकमा नेपाली कलाचेतबारे प्रश्न गरे । उनी लेख्छन्, ‘हाम्रो पुस्तामा आइपुग्दा, अपवाद छोडेर, पूर्णतः क्षयीकृत भएको कलात्मक र सौन्दर्य चेतको परिणाम हो यो । जसले विश्व सम्पदामा सूचीकृत केन्द्रहरूको परिसरदेखि राष्ट्रपति, प्रधानमन्त्रीका विशिष्ट कक्षहरूलाई कुरूप बनाइदिएको छ । यसबारे कलाकारहरूबाट बढी लेखिन, बोलिन जरूरी छ ।’

तारागाउँ म्युजियमका प्रमुख तथा कलाकार रोशन मिश्रले पनि फेसबुकमा लेखेका छन्, ‘नेपाली कलाकारिताको उराठलाग्दा केही नमुनाहरु । लाखौं खर्च गरेर हेरिनसक्नुका मूर्तिहरु बन्छन्, तीन लाख नपर्ने मूर्ति १३ लाखको भन्छन् । सुन्दर बनाउने क्रममा कुरुप बन्दैछन् धेरै सार्वजनिक स्थलहरु । कसरी सम्बन्धित निकायलाई बुझाउने ? अदुवा, लसुन र काउलीको मूर्तिको त कुरा नै छोडिदिउँ ।’

उदयपुरमा बनाइएको सुँगुरको शालिक

कलाकार मिश्र भाइरल बनिरहेका यी शालिकलाई कलाको रुपमा व्याख्या गर्न तयार छैनन् । लिच्छवि र मल्लकालका कला देखेका नेपालीले धेरै उत्कृष्ट सिर्जना देखेको तर यस्तो खालको कार्यले गौरवमय कलात्मक इतिहासलाई क्षय गर्ने उनी बताउँछन् । इन्जिनियर समेत रहेकी अभिनेत्री सुरक्षा पन्तले आक्रोशित हुँदै कवितामार्फत मूर्ति निर्माणको कलाचेतबारे प्रश्न राखिन्, ‘आधा घण्टाको सोच खाने तर पनि फराकिलो हुन नसक्ने अदृश्य हो यो । निधारका रेखाहरु मात्र बढे । फुटेको बेस !’

बाघको शालिक भाइरल बनेपछि अमेरिकाबाट अभिनेता राजबल्लभ कोइरालाले लेखे, ‘सयौं वर्ष पुराना मूर्तीहरूमा जुन कुशलता, आकर्षण र सुन्दरता थियो, जुन आज पनि हेर्दा अचम्म र प्रभावशाली लाग्छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका हिजोआजका मूर्तिहरूमा त्यो स्तरको शिल्प र सुन्दरता कत्ति पनि देखिएन किन होला ?’ राजबल्लभको यो स्टाटसमा एकैसाथ कटाक्ष र मर्मस्पर्शी अभिव्यक्ति लुकेको छ ।

सौरभ ढकालले ट्वीटरमा जुनार शालिकलाई कटाक्ष गर्दै लेखेका छन्, ‘देशकै उत्कृष्ट जुनारको डल्लो बनाएको कमलामाई नगरपालिकाले हो १० लाख खर्च गरेर ? बाघको कुरा उठ्दा यताको विकास र कलामा योगदान बिर्सनुभएन ।’ कमलामाईमा रुखलाई काटेर त्यो ठाउँमा १० लाख खर्च गरेर जुनारको शालिक बनाएको कुराले त्यहाँ तरंग ल्याएको थियो । तत्कालनि नगरप्रमुख खड्गबहादुर खड्काको चर्को विरोध समेत भयो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मूर्तिलाई कुरुप बनाएको भन्दै एमआरआर ग्रुपमा सन्तोष ओझा लेख्छन्, ‘यो सबै जानीजानी गरिएको हो । मौलिकताको मजाक बनाएका हुन् । सयौं वर्षअघि विना आधुनिक प्रविधि कति राम्रा मूर्तिकला बनेका थिए भने अहिले त हरेक आधुनिक प्रविधि उपलब्ध छन्, तै पनि कसरी यस्तो हुनसक्छ ? सबैले मौलिकतालाई मजाक बनाउने प्रयास गरेका छन् ।’

मोरङको कानेपोखरीमा बनाइएको कानको शालिक

सरकार आफैं निम्त्याउँछ विवाद

मस्कट होस् या शालिक, मूर्ति होस् या स्तम्भ, भ्युटावर होस् या अन्य पूर्वाधार । विवाद र आलोचनाले घेरिएको यो पहिलोपटक भने होइन । संघीय, प्रदेश र स्थानीय सरकारले कला क्षेत्रमाथि गर्ने लगानी र त्यसको नतिजालाई लिएर पहिलेदेखि नै विवाद हुँदै आएको छ । नेपालमा सन् २०१९ मा भएको दक्षिण एसियाली खेलकुदको मस्कटलाई लिएर कतिपयले विरोध जनाएका थिए । सरकारले हरिणलाई मस्कटमा उतारेको थियो । नेपाली कर्मचारीतन्त्रले सुरुदेखि नै कसरी कलालाई हेपाहा व्यवहार देखाएको छ भन्ने उक्त मस्कटले दर्शाउँछ ।

सरकारले अंग्रेजी नयाँवर्ष २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन यती अंकित मस्कट सार्वजनिक गरेको थियो । यतीको काल्पनिक स्वरुपसँग नमिली जापानका जुडो खेलाडीसँग मिलेको र विभिन्न सम्प्रदायको संस्कृतिमाथि नै प्रहार भएको भन्दै कतिपय विरोधमा उत्रिए । भ्रमण वर्षको सचिवालयले चारवटा त्यस्ता मस्कट खरिद गरेर विभिन्न स्थानमा राखेको थियो ।

अहिले बाघको कुरुप शालिक भाइरल बनिरहँदा स्थानीय वन उपभोक्ता समितिदेखि नगरपालिका, प्रदेश र संघीय सरकारको काम गराइमा एउटा समानता देखिन्छ । त्यो हो, ठेक्का आह्वान गरेर अघि बढ्दा कलाकृति सौन्दर्यविहीन भएको देखिन्छ । ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ लालकाजी लामा कलालाई जीवन्त तुल्याउने हो भने टेण्डर प्रक्रियालाई तोड्नुपर्ने बताउँछन् । ठेकेदार कम्पनीले सही कलाकार छनोट गर्न नसक्ने र मूर्तिमा हुनुपर्ने सौन्दर्य नहुँदा त्यसले कला, कलाकार र सिर्जनाको उपेक्षा गर्ने उनको कथन छ ।

कपिलवस्तुको तिलौराकोटमा बनाइएको हनुमानको शालिक

स्थानीय सरकारले यस्तो कुरामा विज्ञको समन्वय र सल्लाह चाहेमा आफूहरु तयार भएको बताउँदै प्राज्ञ लामा समन्वयको पहल स्थानीय तहबाटै हुनुपर्ने बताउँछन् । सार्वजनिक स्थानमा राखिने कलाकृतिलाई प्रतियोगितामार्फत छनोट गरेर राखिनुपर्ने उनको भनाइ छ । कतिपय विज्ञ कला मात्र नभएर वातावरणीय कोणबाट पनि यी मूर्ति र शालिकलाई हेर्छन् । रुख नै काटेर शालिक बनाउनेदेखि कंक्रिटको संरचना बनाउने कार्य एकदमै गलत र वातावरणप्रति हेलचेक्र्याइँ भएको वातावरण वैज्ञानिक तथा अनुसन्धानकर्मी डा. मीना बोहरा बताउँछिन् ।

‘कलासँगै संरचनाको दिगोपनबारे पनि सोच्नुपर्छ । कंक्रिटको संरचनालाई प्रयोग नगर्नेतर्फ सोच्नुपर्छ । झनै रुख काटेर यस्तो खाले संरचना बनाउनु हेलचेक्र्याइँ बाहेक केही होइन । यसतर्फ सरकार र सर्वसाधारण सबै गम्भीर हुनु जरुरी छ,’ बोहरा बताउँछिन् । जेहोस्, केन्द्रीय सरकारदेखि पालिकासम्मै जसरी कलाविहीन शालिक र मूर्ति बनाउने होड छ, यसले राज्य कलाप्रति गम्भीर नभएको स्पष्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्